मध्यकालमा ससाना राज्यको उदय र अवसान

प्राचीनकालदेखि विभिन्न समयमा एकीकरण हुँदै टुक्रिदै गरेको विशाल स्वतन्त्र राष्ट्र नेपाल पूर्व मध्यकालमा आइपुग्दा मुख्य तीन राज्यमा विभाजित थियो । ती राज्यमा
पश्चिमको खस मल्ल राज्य, मध्यभागको नेपालमण्डल अन्तर्गतका मल्ल राज्य र दक्षिण पूर्वको तिरहुत वा कर्णाटक राज्य पर्छन् । ती राज्यहरू मध्यकालको पछिल्लो समयमा सानासाना राज्यमा विभाजन भएको पाइन्छ ।

पृथ्वीनारायण शाहले एकीकरण गर्ने समयमा आइपुग्दा नेपाल काठमाडौँ उपत्यकामा तीन टुक्रा भइसहेको थियो। यसबाहेक गण्डकी क्षेत्रमा २४ राज्य, कर्णाली क्षेत्रमा २२ राज्य र मध्य र पूर्वतर्फ तीनओटा राज्य थिए । यो सङ्ख्या घटबढ भइरहन्थ्यो ।यी राज्यहरूअन्तर्गत सयौँ ससाना गाउँले रजौटाहरू पनि थिए । ती राज्यहरू एकआपसमा लडाइँ गरिरहन्थे । जनताको अनाहकमा धनजनको क्षति हुन्थ्यो । यसरी धेरै राज्यहरूमा विभाजनको कारणले यिनको पतन पनि भयो ।

१. कर्णाली प्रदेश
कर्णाली प्रदेशमा खारी प्रदेश (तिब्बत) बाट आएका शक्तिशली राजा नागराजले जुम्लाको सिँजा
उपत्यकालाई राजधानी बनाई खस राज्यको स्थापना गरेको देखिन्छ । योगी नरहरिनाथले खोजी
गरेका दुल्लुको सन् १४१४ को स्तम्भमा “अनि खारी प्रदेशमा बस्ने जुन श्री नागराज जावेश्वर हुनुभयो ।                                                 उहाँले सेन्जा नगरमा स्थिति बसाल्नुभयो ।” भन्ने वाक्यांश परेकाले सिँजा राज्यका संस्थापक
नागराजनै भएको प्रस्ट हुन्छ । उनले आफ्नो राज्यलाई कर्णली नदी क्षेत्रदेखि कुमाउँ गढवालसम्म
विस्तार गरेका थिए । सो राज्यमा नागराजपछि चाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्ल, अशो
कचल्ल, जितारी मल्ल, रिपुमल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल र अभय मल्लले शासन गरे
को देखिन्छ । सन् १३९१ सम्म अभय मल्लको शासन भएको कुरा गुल्मीमा फेला परेको एक ताम्रपत्रले
जनाउँछ । अभयमल्लपछि भने खस मल्ल राज्य टुक्रिन थालेको अनुमान छ । यसरी कर्णाली प्रदेशमा
मध्यकालमा नै विशाल खस राज्य स्थापना भएर करिब २५० वर्ष शासन गरेको देखिन्छ । तिनै राज्यहरू
टुक्रिदै गएर बाइसी रज्यको निर्माण भएको देखिन्छ ।

कर्णाली प्रदेशका बाइसी राज्यहरू

१. जुम्ला – वि.सं. १४५० मा उत्तमराजका छोरा बलिराजाले जुम्ला राज्यको स्थापना गरे । वि.सं. १८४७ मा राजा सूर्यमान शाहको पालामा जुम्ला विशाल नेपालमा विलय भयो ।
२. जाजरकोट– वि.सं. १४६१ मा राजा मेदिनी वर्माले जाजरकोटको स्थापना गरेका थिए । वि.सं. १८४३ मा गजेन्द्र शाहको समयमा नेपालमा गाभियो ।
३. डोट – वि.सं. १४०९ मा निरयपालले डोटी राज्यको स्थापना गरे । १८४६ मा राज दीप शाहीको शासनकालमा डोटी नेपालमा मिसियो ।
४. सल्यान -वि.सं. १४४५मा राजा सुमेरुवर्माले सल्यान राज्यको स्थापना गरेका थिए । वि.सं. १८२५ मा सल्यानका राजा कृष्ण शाहले नेपालको संरक्षकत्व स्वीकार गरेका थिए ।
५. अछाम – वि.सं. १४८५ इन्द्रवर्मा र चन्द्रवर्माले अछाम राज्यको स्थापना गरेका थिए । वि.सं. १८४७ मा अछामका राजा देवचन्द्र शाहको समयमा अछाम नेपालमा गाभियो ।
६. रुकुम – वि.सं. १४७५ मा राजा नरिबमले रुकुम राज्यको स्थापना गरेका थिए । वि.सं. १८४६ मा रुकुम नेपालमा मिलाइयो ।
७. बाँफी- वि.सं. १४७५ मा जगदीश वमले बाँफी राज्यको स्थापना गरेका थिए । वि.सं. १८४६ मा बाँफीलाई नेपालमा गाभिएको थियो ।
८. दुल्लु- वि.सं. १४५३ मा राजा मलैवमले दुल्लु राज्यको स्थापना गरेका थिए । वि.सं. १८४६ मा राजा उतिम शाहको राज्यकालमा दुल्लु नेपालको आश्रित राज्य बन्यो ।
९ फलावाङ- दाङबाट आएका काला सुल्तानबाट स्थापित फलावाङ सल्यान राज्यमा गाभियो ।
१०. दैलेख – वि.सं. १४५३ मा राजा मलैवम्मले दैलेख राज्यको स्थापना गरेका थिए । वि.सं. १८४६ मा राजा कर्णशाहीको शासनकालमा दैलेख नेपालमा मिलाइयो ।
११.छिल्लीकोट- वि.सं. १७०३ मा दान बहादुर शाह छिल्ली कोटका राजा थिए । वि.सं. १८४७ मा राजा वीरभद्र शाहको राज्यकालमा यो नेपालमा गाभियो ।

१२.मुसिकोट – वि.सं. १४७५ मा राजा जयतुम्बले मुसिकोट राज्यको स्थापना गरेका थिए । वि.सं. १८४६ मा राजा मुकुन्द शाहीको राज्यकालमा यो राज्य नेपालमा गाभियो ।
१३. दर्ना वि.सं. १४९४ मा राजा उदयवर्माले दर्ना राज्यको स्थापना गरेका थिए । वि.सं. १८४७ मा रुद्र शाहीका शासनकालमा नेपालमा गाभियो ।
१४.धुलिकोट- वि.सं. १६२५ मा राजा प्रभात रायले धुलिकोट (सुर्खेत) राज्यको स्थापना गरे । वि.सं. १८४६भूपनारायण शाहीको र ाज्यकालमा नेपालमा गाभियो ।
१५. गजुल -वि.सं. १५५० मा राजा जयासिंहले गजुल (रोल्पा) राज्यको स्थापना गरेका थिए । नेपाल एकीकरणको समयमा नेपाल अधिराज्यमा मिलाइयो ।
१६. खुम्री वि.सं. १६२३ मा इन्द्रपालसेनले खुम्री राज्यको स्थापना गरेका थिए । नेपाल एकीकरणको समयमा नेपाल अधिराज्यमा मिलाइयो ।
१७. बाजुरा– वि.सं. १६५० मा राजा डुगरसिंहले बाजुरा राज्यको स्थापना गरेका थिए । वि.सं. १८४७ मा अनन्तपालको समयमा बाजुरा राज्य नेपालमा मिसियो ।
१८. मालनेटा वि.सं. १७९० मा मदनराज शाहले मालनेटा राज्यको स्थापना गरेका थिए । वि.सं. १८६३ मा रूपनारायण शाहको राज्यकालमा मालनेटा नेपालमा गाभियो ।
१९. बझाङ्ग वि.सं. १५०३ मा राजा शक्तिसिंहले बझाङ राज्यको स्थापना गरेका थिए । वि.सं. १८४७ मा राजा समुन्द्र सिंहले नेपालको अगाडि आत्मसमपर्ण गरेका थिए ।
२०. दाङः वि.सं. १५५० मा राजा दलीसिंहले दाङ राज्यको स्थापना गरेका थिए । वि.सं. १८४३ मा राजा नवलसिंहको राज्यकालमा दाङ नेपालमा गाभियो ।
२१. जहारी वि.सं. १४७५ मा राजा माधववमले जहारी (हालको रुकुम र सल्यान) को स्थापना गरेका थिए । यसको राजधानी कोटजहारी र चौरजहारीमा थियो । वि.सं. १८४७ मा यो राज्य नेपालमा गाभियो ।
२२. थलारा १५०३ मा राजा शक्तिसिंहले थलहारा राज्यको स्थापना गरेका थिए । वि.सं. १८४६ मा गजेन्द्रसिंहक राज्यकालमा थलहारा (हालको बझाङ जिल्ला) नेपालमा गाभियो ।

२. गण्डकीक्षेत्र– गण्डकीक्षेत्र, कर्णली क्षेत्र र तिरहुत राज्यमा जस्तो छुट्टै विशाल राज्य भएको प्रभाण भेटिँदैन । पश्चिमतर्फको केही भूभाग खस राज्यले नै समेटेको थियो भने बाँकी भूभाग उपत्यकाकै लिच्छवि र मल्ल कालमा विस्तार भएर नेपाल राज्यअन्तर्गत रहेको थियो । उपत्यकाका राजाहरू कमजोर भएका बेला त्यहाँका सामन्तहरू र प्रशासकहरूले आफूले कब्जा गरेको भूमिलाई स्वतन्त्र राज्य घोषणा गर्दै गएर चौबिसी राज्यहरूको निर्माण भएको पाइन्छ । चौबिसी राज्यहरू ठ्याक्कै चौबिसओटा नभएर सङ्ख्या घटबढ भइरहन्थ्यो ।

गण्डकी प्रदेशका चौबिसी राज्य

पल्लो नुवाकोट,गोरखा, पर्वत,गलकोट,धुरकोट,अर्घाखाँची, गुल्मी, पाल्पा,इस्मा, मुसिकोट, रिसिङ, प्युठान, घिरिङ, तनहुँ,बुटवल,ढोर, भिरकोट, लमजुङ,सतहुँ, ब्लिहाङ,गरहुँ, मुस्ताङ, पैयुँ, कास्की, गरहुँढोर ।

काठमाडौ उपत्यकाका चौबिसी राज्य

कान्तिपुर, ललितपुर र भत्तपुर

पुर्वका सेन

मकवानपुर, चाैदन्डी र विजयपुर

३. तराईको कर्णाटक वा तिरहुत राज्य
हालको बारा जिल्लाको सिमरौन गढलाई राजधानी बनाएर वि.सं. १०५४ मा सिमरौनगढ वा तिरहुत वा डोय राज्यको स्थापना नान्यदेवले गरेका थिए । यस राज्यअन्तर्गत बारा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी र मोरङका केही क्षेत्र पर्थे । त्यसै गरी भारत तर्फका दर्भङ्गा, मुजफरपुर, चम्पारण, मधुवनी र पूर्णिया जिल्लाका केही भूभागहरू समेत यस राज्यअन्तर्गत पर्थे ।

यस रज्यका सस्थापक नान्यदेव भारतको नान्यपुरी राज्यका यस क्षेत्र हेर्ने प्रशासक थिए । पछि उनले आफैँले यो राज्यको स्थापना गरी आफूलाई राजा घोषणा गरेका थिए । उनी कर्णाटवंशी भएकाले यस राज्यलाई कर्णाटक राज्य पनि भनिन्थ्यो । उनले आफ्नो राज्य विस्तार गर्ने सिलसिलामा नेपाल उपत्यकालाई पनि पटक पटक आक्रमण गरेको देखिन्छ । वि.सं. ११६८ मा उनले आक्रमण गरेको कुरा उपत्यकाको अभिलेखमा भेटिएको छ ।

नान्यदेव पछि कोको राजा भए भन्ने प्रस्ट नभएपनि गङ्गादेव, नरसिंहदेव, भुपालसिँग देव र हरिसिंहदेवले शासन गरेको पाइन्छ । हरिंसहदेव निकै शक्तिशाली, शिक्षा तथा कलाका प्रेमी राजा थिए । उनको राज्यमा मुसलमान शासकले आक्रमण गरेपछि उनी भागेर उत्तरी पहाडी क्षेत्रतर्फ लागेका थिए ।

यसै क्रममा उनले काठमाडौँ उपत्यकामा आक्रमण गरेर वितन्डा मच्चाएका थिए । त्यसपछि उनी यहाँ पनि टिक्न नसकेर पहाडतिर लाग्दा दोलखा पुगेपछि हरिसिंहदेवको मृत्यु भयो । त्यसपछि उनकी श्रीमती देवल देवी र छोरा जगत् सिंहलाई उपत्यकाका राजा रुद्रमल्लले शरण दिएका थिए ।

हरिसिंहका छोरा जगत्सिंहको विवाह नेपालकी राजकुमारी नायक देवीसँग भयो । उनीहरूबाट राजल्ल देवीको जन्म भयो । उनै राजल्लदेवीको जयस्थिति मल्लसँग विवाह भएपछि जयस्थिति मल्ल नेपालको राजा भए । यसरी तिरहुत राज्य पनि पतन भयो ।

४. पूर्वका सेन राज्य
पाल्पाका राजा मुकुन्दसेनले पाल्पा राज्यलाई पूर्वतर्फ विस्तार गरी विशाल पाल्पा बनाएका थिए । उनै मुकुन्द सेनले सो राज्यलाई मकवानपुर, बुटवल, तनहुँ र मकवानपुर राज्यमा विभाजन गरी आफ्ना छोराहरूलाई बाँडिदिएका थिए । मकवानपुरका राजा शुभसेनले मकवानपुर लाई मकवानपुर र विजयपुर राज्यमा विभाजन गरी आफ्ना दुई भाइ छोरालाई बाँडेका थिए ।

मकवानपुरका राजा हेमकर्ण सेनले जगत सेनलाई कोसी नदीसम्मको मधेस र पहाडी क्षेत्र माझ किरातमा प्रशासन चलाउन पठाएका थिए । सन् १७३५ तिर माझ किरातका खुम्बु भारदारहरूले जगत्सेनलाईनै राजा बनाई चौदन्डी राज्य स्थापना गरे । यसरी मकवानपुर विभाजित भएर पूर्वका विजयपुर र चौदन्डी राज्य स्थापना भएको देखिन्छ ।

५. ससाना राज्यको उदय हुने कारण
१. भौगोलिक विकटता र दुरीका कारणले गर्दा प्रशासनिक दृष्टिले टाढाका क्षेत्रहरू केन्द्रको नियन्त्रणमा रहन नसक्नु
२. मध्यकालमा केन्द्रबाट नियुक्त सामन्तहरू शक्तिशाली हुँदै जानु र स्वतन्त्र राज्य घोषित गर्नु
३. राज परिवार, भारदारहरू र राजाबिचको द्वन्द्वले गर्दा दरवारमा अविश्वास र षड्यन्त्र हुन थाल्यो जसले गर्दा केन्द्रीय प्रशासन कमजोर हुँदै गयो ।
४. साना राज्यहरूको ठुलो र शक्तिशाली बन्ने महइभ्वाकाङ्क्षाका कारण आपसी भिडन्तले पनि राज्य कमजोर भएका थिए ।

६.साना राज्यका अवसानका कारण
१. साना राज्यहरूएक आपसमा प्राय युद्धमा संलग्न रहन्थे । यसले गर्दा छिमेकसँग वैरभाव हुन्थ्यो ।
२. विभिन्न समयमा भएका एकीकरण अभियानहरू स्थायी हुन सकेन ।
३. साना राज्यका दरबारमा षड्यन्त्र र मनमुटावका कारण एक पक्ष शासन गथ्र्यो भने अर्को पक्ष गोरखालाई एकीकरणका लागि आमन्त्रण गर्थेे ।
४. भारतमा अङ्ग्रेजको साम्राज्यवादी नीतिका कारण नेपालीहरूमा विशाल र स्वतन्त्रराष्ट्र बनाउनेआकाङ्क्षा बढ्यो । त्यसले गर्दा एकीकरण सुरुभयो र साना राज्यको अवशान हुन पुग्यो ।
५. काठमाडौँ उपत्यका (नेपाल मण्डल) विजयपछिको उत्साहले गर्दा पृथ्वी नारायण शाह र गोरखाली सेनामा बाइसीचौबिसी र सेन राज्य पनि जित्ने उत्साह बढेर आयो ।

लेखन तथा संकलन चिनारी नेपाल

श्राेत नेपाल सकार पाठ्यक्रम विकास केन्द्र ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *