नेपालको प्राचिन इतिहास State Ancient History of Nepal

नेपाल गौरवशाली इतिहास बोकेको देश हो । नेपालको इतिहास निकै प्राचीन मानिन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो । पौराणिक कालका विभिन्न ग्रन्थमा नेपाल नाम उल्लेख भएबाट नेपालको इतिहास निकै प्राचीन भएको अनुमान लगाउन सकिन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य पुष्टि हुन्छ ।

नेपाल विभिन्न ऋषिमुनिहरूको तपोभूमिकारूपमा रहेको थियो । कौशिक, बाल्मीकिलगायतका सयौँ ऋषिमुनिले यहाँ आई तपस्या गर्थे । यहाँ बेलाबखतमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभू बुद्ध, मञ्जुश्री बोधिसत्व, व्रकुच्छन्द बुद्धजस्ता तपस्वीहरू आउने गर्थे । नेपालको इतिहासलाई मुख्य गरी प्राचीन काल, मध्य काल र आधुनिक काल गरी तीन खण्डमा विभाजन गरेर अध्ययन गरिन्छ । काल भन्नाले समय अवधि बुझिन्छ ।

पृथ्वीनारायण शाहबाट एकीकरण हुनु अघिसम्म नेपाल भन्नाले काठमाडौँ उपत्यकामा विकास भएको राज्यलाई बुझिन्थ्यो । सो राज्य समय समयमा विस्तार हुने र टुक्रिने गरिरहन्थ्यो गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौँ विजय गरे । त्यसपछि उनले काठमाडौँलाई राजधानी बनाएरआधुनिक नेपाल राज्यको स्थापना गरे । यही गौरवशाली देश नै आजको नेपाल हो ।

नेपालको इतिहासको काल विभाजन

प्राचीन काल वि.सं. ९३६ भन्दा अघि नेपाल संवत् सुरु हुनुअघि
 

मध्य काल

 

वि.सं. ९३६ देखि १८२५ सम्म

नेपाल संवत् सुरु भएदेखि नेपाल एकीकरणका क्रममा

पृथ्वीनारायणशाहबाट कान्तिपुर विजय नभएसम्म

आधुनिक काल वि.सं. १८२५ देखि हालसम्म पृथ्वीनारायणशाहबाट काठमाडौँ विजय भएदेखि हालसम्म

१. नेपाल राज्यको उत्पत्ति
नेपालको राज्यको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा इतिहासकारहरूले विभिन्न प्रमाणहरूको खोजी गरेर तथ्य बाहिर ल्याएका छन् । यसका आधारमा नेपालको उत्पत्ति र नामकरण कसरी भयो होला भनी अनुमान लगाउन सकिन्छ । नेपाल राज्यको उत्पत्ति र नामकरणका विषयमा विभिन्न तथ्य तथा धारणाहरू प्रकाशमा आएका छन् ।

(क) भौगोलिक तथ्य
करिब १३ करोड वर्ष पहिला नेपाल रहेको ठाउँमा टेथिस सागर नामक एक समुद्र थियो । दक्षिणतर्फको जमिन उत्तरतर्फ सर्दै जाने क्रमम टेथिस सागरको पिँध च्यापिँदै गयो र पिँधको जमिनमाथि उठ्दै गयो । वरिपरिका नदीहरूले ल्याएका पदार्थहरू पनि थुप्रिँदै गयो । यसरी हिमालय पर्वत र मोडदार पर्वतहरूको उत्पत्ति भयो । त्यही मोडदार पर्वतको बिचमा हालको नेपाल रहेको छ । नेपालको अधिकांश ठाउँमा चुन ढुङ्गालगायतका पत्रे चट्टानहरू पाइनुले पनि यस तथ्यलाई पुष्टि गर्छ । समुद्रमा करोडौँ वर्षसम्म समुद्री जीवको हड्डी जम्मा भएर चुन ढुङ्गा निर्माण हुन्छ । नेपालको हिमाली क्षेत्रमा पनि समुद्री जीवावशेष पाइन्छ । शालिग्राम त्यस्तै समुद्री जीवको जीवावशेष हो ।

काली गण्डकी नदीले हिमाली क्षेत्रबाट शालिग्राम बगाएर ल्याउँछ । पहाडहरू बन्ने क्रममा हाल काठमाडौँ उपत्यका रहेको स्थानमा एक विशाल ताल बनेको थियो । लाखौँ वर्षसम्म यस वरिपरिका खोलाहरू बागमती, विष्णुमती, हनुमन्ते, मनहरा, गोदावरी, कोड्कु, नक्खु आदिले बगाएर ल्याएका वस्तु थुप्रिएर सो तालको पिँध माथि उठ्दै आयो । चोभरको डाँडा चुनढुङ्गाले बनेको पहाड हो । चुनढुङ्गा पानीसँग प्रतिक्रिया गर्ने हुनाले त्यहाँ चुनढुङ्गा खिइँदै गएर गल्छी बन्यो र तालको पानी सुक्न गयो । त्यसपछि यहाँ वरिपरिका डाँडाबाट मानिसहरू आई गाइवस्तु चराउन थाले । यहीँ खेतीपाती गरेर बस्न थाले । त्यसपछि त्यहाँ नेपाल नामको राज्य स्थापना भयो ।

(ख) पौराणिक तथ्य
महाभारत, पशुपति पुराण, बौद्ध ग्रन्थलगायतका विभिन्न धार्मिक ग्रन्थहरूमा नेपाल राज्य र यहाँका राजाहरूको उल्लेख पाइन्छ । नेपाल नामको पहिलो उल्लेख ५०० देखि ६०० इ.पू.मा रचना गरिएको अथर्वपरिशिष्टमा गरिएको पाइन्छ ।यी तथ्यबाट पौराणिक कालदेखि नै नेपालको अस्तित्व थियो भन्न सकिन्छ । त्यसबेला मध्यक्षेत्रमा नेपाल, पूर्वमा मिथिला राज्य, पश्चिममा शाक्य वंशीय राज्य रहेको पाइन्छ ।

(ग) ऐतिहासिक तथ्य
भारतीय गुप्त सम्राट् समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेक राज्य’ को रूपमा गरेका छन् । त्यसपछिका प्रायः सबै स्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ ।

नेपालको नामाकरण –

नेपाल नाम कसरी रहन गायो भन्ने सम्बन्धमा फरक फरक तर्क पाइन्छ । इतिहासकारले विभिन्न तथ्यका आधारमा नेपाल नाम रहन गएको हो भन्ने तर्क प्रस्तुत गरेका छन् ।
(क) भाषाको आधारमा
‘नेपाल’ पौराणिक किराती शब्द ‘नेपा’ को सांस्कृतिक रूप हो । किराती र नेवारी भाषामा ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’ को अर्थ ‘देश’ अर्थात् ‘मध्यदेश’ हुन्छ । मध्यपहाडी खण्डमा रहेको ‘नेपा’ मा ‘ल’ प्रत्यय लागेर नेपाल नाम रहेको देखिन्छ । तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ उन हुन्छ । त्यसबेला यस क्षेत्रमा भेडापालन बढी
भएकाले नेपलबाट उन र उनी कपडा विदेशमा निर्यात हुन्थ्यो । त्यसैले उनको घर अर्थात्उन हुने ठाउँको रूपमा यो क्षेत्रको नामकरण नेपाल रहन गएको देखिन्छ । लिम्बु भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ ।पहाडी खण्डमा ठुलो मैदानी उपत्यका भएकाले यसको नाम नेपाल रहन गएको देखिन्छ ।

पुरानो लेप्चा भाषामा ‘ने’ को अर्थ पवित्र र ‘पाल’ को अर्थ गुफा हुन्छ । यसरी ‘नेपाल’ ले पुण्यभूमि वा धार्मिक स्थल बुझाउँछ । अतः लेप्चा भाषानुसार यस ठाउँको नाम नेपाल रहन गएको देखिन्छ । नेपालका तामाङहरूले पनि तीर्थलाई ‘ने’ भन्छन् । लामा धर्मग्रन्थमा ‘ने’ को अर्थ पवित्र स्थान हो । नेपालमा प्रशस्त धार्मिक स्थल भएकालेतामाङ भाषाअनुसार पुण्य भूमिकारूपमा नेपाल नाम रहन गएको हुन सक्छ । संस्कृत भाषामा नीपः भनेको पहाडको फेदी हुन्छ सो शब्दमा उपसर्ग आल (स्थान) जोडेर नेपाल भएको अनुमानछ । आलको अर्थ घरहुन्छ ।पहाडी काखमा रहेको उपत्यका भएको हुनाले यसलाई नेपाल भन्न थालियो ।

(ख) पौराणिक आधारमा
नेपाल महात्म्यअनुसार नेपाल उपत्यकाम‘ने’ नाम गरेका ऋषि बस्थे । उनले यस राज्यको स्थापना गर्नुका साथै यहाँका जनताको लालपालन गरेका थिए । त्यसैले ने मुनिद्वारा पालित भएकाले यस देशको नाम नेपाल रहन गएको मानिन्छ ।

(ग) ऐतिहासिक आधार
नेपालका प्राचीन शासक गोपालवंशीहरूलाई “निप” भनिन्थ्यो । आलयको अर्थ घर हो । त्यसैलेनिपहरूको शासन चलेको राज्य भएको हुनाले यस देशलाई नेपाल भनियो ।

३. प्राचीन नेपाल
नेपाली सभ्यताकोप्राचीन इतिहास धेरै हदसम्म किंवदन्तीमा आधारित भए तापनि केही मूलभूत कुराहरू प्रमाणित भएका छन् । किरातकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन् । खास गरी त्यस समयको इतिहासका मुख्य स्रोतहरू गोपाल वंशावली, भाषा वंशावली, कर्कपेट्रिकको वंशावली र राइट वंशावली हुन् । यसका अतिरिक्त हिन्दु तथा बौद्ध धार्मिक ग्रन्थहरू र लिच्छविकालीन अभिलेख र मूर्तिहरूलाई पनि आधार मान्ने गरिन्छ ।

त्यसै गरी कौटिल्यको अर्थशास्त्र र चिनियाँ यात्री हु एन्साङ्को यात्रा विवरणमा पनि नेपालको लिच्छविकालीन इतिहासका तथ्यहरू उल्लेख गरिएको पाइन्छ । यसकालको राजनीतिक, आर्थिक,सामाजिक अवस्था आदिका विषयमा लिच्छविकालीन अभिलेखहरूबाट केही झलक पाइन्छ । ईश्वी संवत्को थालनीसँगै लिच्छविकाल सुरु भए पनि प्रमाणहरूकाआधारमा इस्वीको पाचौँ शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास बढीविश्वासिलो बनेको पाइन्छ ।

(क) गोपाल वंश
नेपालका प्रथम राजाहरू गोपालवंशी थिए । गोपाल भन्नाले गाईपालक समुदायभन्ने बुझिन्छ । काठमाडाँ उपत्यकाको पानी बाहिर निस्किएपछि यो ठाउँ पश्र स्त मलिलो र वनस्पतिले भरिपुर्ण हुनपुग्यो । त्यसैले वरिपरिका डाँडामा बसोबास गर्ने प्राचीन नाग जातिहरू उपत्यकामा आई बसोबास गर्न थाले । यहाँको उर्वर घाँसे भूमि देखेर दक्षिणतर्फका नीप जातिका गोपालहरू यहाँ आर्कषित भए । दक्षिणबाट आएका निपहरू (गोपाल) र यहाँका प्राचीन नाग जातिबिच भीडन्त भयो ।

नागजातिहरू पराजित भई दक्षिण भेगतर्फ लागे भने नेपाल उपत्यकामा गोपालहरूको वर्चस्व कायम भयो । टेकु दोभानमातपस्या गरी बस्ने ‘ने’ नाम गरेका ऋषिले गोपालवंशका भुक्तमान (जसलाई भूमिगुप्त पनि भनिन्छ) लाई राजाबनाए । यिनी गोपालवंशका संस्थापक तथा नेपालका प्रथम राजा हुन् ।गोपा वंशावली अनुसार गोपालवंशी आठजना शासकहरूले करिब ५०५ वर्ष नेपालको शासन गरेको अनुमान छ । जसमा गोपालवंशी शासकहरू भूमि गुप्त, जय गुप्त, धर्म गुप्त, हर्ष गुप्त, भिम गुप्त, मणि गुप्त, विष्णु गुप्त रजीन गुप्तले शासन रहेका थिए ।

(ख) महिषपालवंश
गोपाल राजवंशावलीमा उल्लेख भएअनुसार गोपालवंशका जीन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेका थिए । गाई पाल्नेलाई गोपाल भने झैँ भैसी पाल्नेलाई महिषपाल वा आभीर भनिन्थ्यो । उनीहरू सिम्रौनगढ रजनकपुर बिचको समतल भूमिमा आफूसँग हातहतियार समेत राखी ठुलो सङ्ख्यामा भैँसी पाल्ने गरेका थिए । यस वंशका प्रथम राजा वरसिंह हुन् । भाषा वंशावलीअनुसार यस वंशका तीन शासकहरूवर सिंह, जय सिंह र भुवन सिंहले करिब १६१ वर्ष शासन गरेका थिए ।

(ग) किरातवंश
गोपाल वंशावलीमा किरात राजाहरूको सूचीका साथै उनीहरूको मूलस्थानतामाकोसी र सुनकोसीबिचको भूभाग भनी बताइएको छ ।आभीर वंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किरातवंशी राजायलुङ वा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए । किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झन्डै १५०० वर्ष जति शासन चलाएको मानिन्छ । यलम्बरको नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको मानिन्छ ।

इन्द्रजात्रामा खम्बामा राखिने आकाश भैरवको टाउको यिनै यलम्बर को भएको मानिन्छ । यिनैको पालामा किरातेश्वर महादेवको उत्पत्ति भएको र महाभारत युद्धका एक महारथी अर्जुनसँग किरातेश्वर महादेवको लडाइँ भएको उल्लेख छ ।सातौँ किराती राजा जितेदास्तीका पालामा गौतम बुद्धका चेला भिक्षु आनन्द नेपाल आएका थिए । चौधौँ किराती राजा स्थुङ्कोको पालामा भारतका मौर्य सम्राट् अशोक छोरी चारुमतीलाई साथमा लिएर नेपाल आएका थिए ।

उनले लुम्बिनीमा गौतमबुद्धको जन्मस्थल पत्ता लगाएर राखेको स्तम्भ अझै जस्ताको त्यस्तै छ । ललितपुरमा पनि सम्राट्अशोकले सहरको चार कुनामा चारओटा चार स्तूपहरू बनाउन लगाएका थिए । ती स्तूपहरू ललितपुरको लगनखेल, पुल्चोक र इमाडोलमा अझै देख्न पाइन्छ । उनकी छोरी चारुमतीले चाबहिलमाविहार निर्माण गरेको कुरा उल्लेख छ । बौद्ध भिच्छुहरू बस्न र अध्ययन गर्नका लागि बनाइएको विहारलाई बहिल पनि भनिन्छ ।

चारुमतीकै नामबाट सो विहारको नाम चाबहिल रहेको मानिन्छ ।चारुमतीको विवाह कान्तिपुरका देवपालसँग भएको थियो । उनकै नामबाट त्यहाँ एक बस्तीको निर्माण भयो जसलाई देवपत्तन (देउपाटन) भनेर चिनिन्छ । किरातकालमा नामकरण भएका केही बस्तीहरू अहिले पनि रहेका छन् । भक्तपुरलाई नेवारी भाषामा खोप भनिन्छ । यसलाई किरातकालमा खोप्रिङ भनिन्थ्यो । त्यसै गरी किरातकालीन नाम तेङ्खुबाट टेकु, सङ्गबाट साँगा, चङ्गुबाट चाँगु, खुर्पासीबाट खोपासी जस्ता बस्तीका नामहरूरहेका थिए जो अझै प्रचलनमा रहेका छन् ।

किरात शासनको अन्त्यतिर ललितपुरको च्यासल भन्ने ठाउँमा आठसय किरातीको हत्या गरिएको थियो । च्यासको अर्थ आठसय हुन्छ । त्यसैले त्यस ठाउँको नाम च्यासल रहनगएको हो । किरातकालको ऐतिहासिक र पुराताइिभ्वक प्रमाणहरू नभेटिए पनि पशुपतिमा रहेको चौडाछाती भएको विरूपाक्षको मूर्ति किरातकालकै भएको मानिन्छ । अन्तिम किराती राजा गास्ती थिए । कुनै इतिहासकारहरूले अन्तिम किराती राजा खिगु हुन् भनी लेखेका छन् ।

४. आर्थिक सामाजिक अवस्था
प्राचीन कालको गोपाल, महिषपाल र किराती शासन व्यवस्थाको आर्थिक तथा सामाजिक अवस्था त्यति प्रस्ट छैन । तैपनि त्यसबेलाको तथ्यहरूका आधारमा निम्नानुसार उल्लेख गर्न सकिन्छ । गोपालवंशी शासनकालको मुख्य आर्थिक क्रियाकलाप पशुपालन थियो । काठमाडौँ उपत्यका उब्जाउशील तलैया माटाले बनेको हुनाले यहाँ प्रशस्त घाँस थियो । त्यसैले यहाँका बासिन्दा गाई पाल्ने गर्थे । मलिलो माटाले बनेको भूभाग भएका कारण यहाँ कृषि व्यवसाय पनि गरिन्थ्यो ।

महिषपाल वंशको पालामा भने भैँसी पाल्न थालियो । अन्य कुरा गोपाल वंशकै जस्तो थियो । किरात कालमा मानिसहरू कृषि र पशुपालनका साथमा सिकार गर्ने कार्य पनि गर्थेे । तीनओटै काल खण्डमा घरेलु उद्योगबाट आफूलाई आवश्यक वस्तु तयारी गरिन्थ्यो । समाज हिन्दु धार्मिक परम्परामा आधारित थियो । पशुपतिनाथको उत्पत्ति र मन्दिर निर्माणको कुराले त्यस बेला शैव धर्मको विकास भएको अनुमान लगाउन सकिन्छ । पशुपतिमा किरातेश्वर महादेव रहनुले किरात कालमा पनि शैवधर्म चलेको देखिन्छ । सो समयमा हिन्दु परम्पराअनुसारका विभिन्न चाडपर्वहरू मनाइन्थ्यो ।

लेखन तथा संकलन – चिनारी नेपाल

श्राेतः पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *