विश्वमा नेपाल

विश्वमा नेपाल एक चिनारी

पृथ्वीले सूर्यबाट ताप र प्रकाश प्राप्त गर्दछ । पृथ्वीमा हावा, पानी, ताप र प्रकाशको संयुक्त अवस्था छ । त्यसैले यहाँ जीवन सम्भव भएको हो । अहिलेसम्मको अनुसन्धानमा यो ब्रह्माण्डमा पृथ्वी एक मात्र त्यस्तो ग्रह हो जहाँ जीवन सम्भव छ ।त्यसकारण पृथ्वीलाई निलो ग्रह पनि भनिन्छ ।

पृथ्वीको परिचय क्षेत्रफल ५१ करोड वर्ग किलोमिटर छ । कुल क्षेत्रफलको ७१ प्रतिशत पानीले र २९ प्रतिशत जमिनले ढाकेको छ । जल सतहमा पाँचओटा महासागरहरू र स्थल सतहमा सातओटा महादेशहरू रहेका छन् । अनुमानित तौल ५.९७×२ ह १०२४ के.जी. छ । ध्रुवीय व्यास १२७१४ कि.मि. र भूमध्यरेखीय व्यास १२७५६ कि. मि., (स्रोत : ब्रिटानिका इन्साइक्लोपेडिया  र NASA) फरक ४२ कि.मि. भूमध्यरेखीय परिधि ४००७५ कि.मि र ध्रुवीयपरिधि ४०००८ (National Geographic, Space) कि.मि. छ ।  सूर्यलाई एक फन्को घुम्न पृथ्विीलाई ३६५ दिन ५घण्टा ५७ मिनेट लाग्छ । अक्षमा एक फन्को घुम्न २३ घन्टा ५६ मिनेट ४.०९ सेकन्डलाग्छ ।

यहाँ जलचर, स्थलचर र उभयचर जीव जीवात्मा तथा वनस्पतिहरू एकआपसमा पर्यावरणीय चक्रमा बाँधिएर रहेका छन् । तिनै जीवहरूमध्ये मानव सबैभन्दा उत्कृष्ट प्राणी हो जोसँग चेतना, विवेक तथा बुद्धिलाई प्रयोग गर्ने क्षमता राख्दछ । त्यसैले यस पृथ्वीमा मानवले अनेकन् आविष्कार गरेर आफू पनि बाँचेको छ र अन्य प्राणीलाई नियन्त्रणमा राख्न सफल भएको छ ।

पृथ्वी विविध प्रकारका भौगोलिक अवस्था रहेको ग्रह हो । भौगोलिक अवस्थाअन्तर्गत धरातल, हावापानी, वनस्पति, जीवजन्तु र जनजीवनलगायतका कुराहरू पर्दछन् । पृथ्वीको सबै भागमा एकैनासको भौगोलिक अवस्था नहुनुमा विभिन्न तत्वहरूले भूमिका खेलेको हुन्छ । भौगोलिक विविधताको कारण मानवको जनजीवन, आर्थिक गतिविधि, पेसा, सांस्कृतिक गतिविधि आदिमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्दछ ।

विश्व मानचित्रमा नेपाल
नेपाल विश्वमा नै अलग पहिचान भएको विशिष्ट देश हो । विश्व मानचित्रमा आकारले सानो देखिए पनि नेपाललाई चिनाउने धेरै कुराहरू रहेका छन् । नेपाल ८० डिग्री ४ मिनेट पुर्बी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पुर्बी देशान्तरमा फैलिएको छ ।

त्यसै गरी २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशमा अवस्थित रहेको छ । नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एसियाको क्षेत्रफलको ०.३ प्रतिशत भूभाग ओगटेको छ । नेपाललाई चिनाउने भौगोलिक र सांस्कृतिक पक्षहरू यसप्रकार रहेका छनः

भौगोलिक पक्ष
हिमालय पर्वतको देश भनेर चिनिएको देश हो । नेपाल विश्वकै अग्लो चुचुरो सगरमाथा रहेको देश हो । यसको उचाइ ८,८४८ मिटर रहेको छ । त्यस्तै विश्वकै तेस्रो अग्लो चुचुरो कन्चनजङ्घा हिमाल पनि यहीँ छ ।

८,००० मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये आठओटा नेपालमा नै पर्दछन् । नेपालमा २०० किलोमिटरको दुरीमा समुद्र सतहबाट ५९ मिटर उचाइमा रहेको धनुषाको मुखियापट्टी मुसहरनियादेखि ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरो रहेको छ ।

नेपालमा दक्षिणको तराईदेखि उत्तरको हिमालसम्मको यति छोटो दुरीमा विश्वमा पाइनेमध्ये धेरै प्रकारका हावापानी र वनस्पतिहरू पाइन्छन् । त्यसैले नेपाल जैविक विविधता भएको देश भनेर चिनिन्छ ।

नेपाल जलविद्युत् उत्पादनका दृष्टिले क्षमतावान् देश हो । यहाँका नदीनालहरूबाट व्यावसायिक रूपमा नै ४२,००० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको छ । नेपाल समुद्रले नछोएको भूपरिवेष्ठित देश हो ।

सांस्कृतिक पक्ष

नेपाल वीर गोर्खालीहरूको देश हो जो साहसिक लडाकुका रूपमा विश्व प्रसिद्ध छन् । नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेज सेनालाई हायलकायल पारेका गोर्खाली सेना पहिलो र दोस्रो विश्वयुद्धमा कसैसँग नडराउने बहादुर सेनाका रूपमा चिनिएका थिए ।

नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हो । बुद्धको जम्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । यसका साथै काठमाडौँ उपत्यकामा पनि बौद्धनाथ, स्वयम्भूनाथ लगायतका प्रसिद्ध स्तूपहहरू र बौद्ध अध्ययन केन्द्रका रूपमा चिनिने विहार तथा गुम्बाहरू रहेका छन् ।

विश्वका विभिन्न स्थानबाट मानिसहरू बौद्ध दर्शनको अध्ययन गर्न नेपाल आउने गर्दछन् । हिन्दुहरूको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरसहित नेपाललाई मन्दिरै मन्दिरको देश भनेर चिनिन्छ । । देशैभरि प्रत्येक गाउँ, टोलमा मन्दिर, देवल र धार्मिक स्थलहरू रहेका छन् ।

श्रोत CDC Nepal

संकलन चिनारी नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *