नेपालमा वर्ग र सामाजिक रूपान्तरण

एकभन्दा धेरै मानिसको समुदाय र त्यसअन्तर्गत मानवीय सम्बन्धहरूको सञ्जाल समाज हो । समाज मानवको पारस्परिक लाभको निमित्त सङ्गठित भई बनेको हुन्छ । समाजमा एकै प्रकारका मानिस बस्दैनन् । त्यहाँ आर्थिक, सांस्कृतिक, जातीय, धार्मिक रूपले विविधता कायम भएको हुन्छ । तिनै विविधताका बिच समाजमा वर्गको निर्माण हुन्छ । वर्गलाई अङ्ग्रे्रजीमा Class भनिन्छ । यो शब्द ल्याटिन भाषाको Classics बाट आएको हो ।

यसको अर्थ मानिसहरूको समूह हो । समाजमा विभिन्न समूह रहेका हुन्छन् । ती समूह पेसा, सामाजिक स्थिति, लिङ्ग, जाति, धर्म, संस्कृति, भाषा, पदीय स्थिति, रुचि,आर्थिक अवस्था आदिका आधारमा निर्माण भएका हुन्छन् । मूलतःआर्थिक आधार वा आर्थिक पक्षसँग जोडिएका समूहलाई वर्ग भनिन्छ । वर्गले व्यक्ति तथा समाजको आर्थिक, समाजिक, सांस्कृतिक अवस्थालाई समेत प्रभाव पारेको हुन्छ ।

त्यसैले हिजोआज समाजशास्त्रीहरू वर्गलाई सामाजिक वर्ग पनि भन्न रुचाउँछन् । समाजमा वर्ग हुनु स्वाभाविक हो तर वर्गका कारण समाजमा नकारात्मक प्रभाव उत्पन्न हुनु राम्रो मानिँदैन । यसबाट आर्थिक वितरणमा असमानता पैदा भई विभेद र दमनको अवस्था सिर्जना हुन सक्छ । यसले समाजमा द्वन्द्व निम्त्याउन पनि सक्छ ।

१. वर्ग विभाजन
वर्गको निर्माण सम्बन्धमा विभिन्न समाजशास्त्री एवम् अर्थशास्त्रीहरूको विचार फरक फरक रहेको पाइन्छ । कार्ल माक्र्सका अनुसार समाजमा शक्ति र स्रोतसाधनमा पहुँच हुने र नहुने गरी दुई वर्ग हुन्छ । उनका अनुसार आदिम समाजमा उत्पादनका साधनहरूमाथि सामूहिक मालिकत्व रहेको थियो । त्यसैले त्यहाँ वर्ग थिएन ।

कृषि र उद्योगको विकाससँगै समाज धनी र गरिब, सम्पत्ति भएका र नभएका, शोषक र शोषित वर्गमा विभाजित भयो । दास समाजमा मालिक वर्ग र दास वर्ग, सामन्ती समाजमा सामन्त वर्ग र मोही किसान वा अर्धदास वर्ग तथा पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्ग रहेका थिए । यी वर्गबिचमा वर्गसङ्घर्ष चलिरहन्छ भन्ने धारणा माक्र्सको थियो । समाज शास्त्रीहरूले आधुनिक समाजमा तीन वर्ग रहने उल्लेख गरेका छन् ।

(क) आर्थिक आधार
आर्थिक दृष्टिले हेर्दा वर्ग निर्माणको मुख्य आधार आम्दानी र उत्पादन प्रक्रियामा व्यक्तिको पहुँच नै हो । कारखानामा काम गर्ने सबै मजदुरहरू एउटै वर्गमा पर्छन् भने मालिकहरू अर्को वर्गमा । त्यस्तै मजदुरी गर्ने किसानहरू एउटा वर्गमा पर्छन् भने भूमिपतिहरू अर्को वर्गमा ।

श्रमिक किसान र मजदुर वर्गको आम्दानीको स्रोत आफ्नो श्रमको बिक्री हो किनकि उत्पादनका साधनमा उनीहरूको पहुँच हुँदैन । पुँजीपति र भूमिपति वर्गको आम्दानीको स्रोत पुँजी, भूमि र बुद्धिको लगानी हो किनकि त्यसमा उनीहरूको नियन्त्रण हुन्छ । लगानीको प्रतिफल र नाफाका रूपमा उनीहरूको आम्दानी हुन्छ ।

(ख) सांस्कृतिक आधार
कतिपय वर्गको निर्माणको आधार परम्परा र संस्कृति पनि हो । समाजमा धार्मिक एवम् सांस्कृतिक परम्पराका आधारमा अगाडि वा पछाडि पारिएका वर्ग पनि हुन्छन् । हिन्दु समाजमा व्याप्त वर्ण व्यवस्था यसको उदाहरण हो । सो अनुसार दलित वर्गमाथि अन्य वर्गले गरेको विभेदका कारण उनीहरू भूमिक स्वामित्वबाट वञ्चित हुन पुगे ।

अरूमा आश्रित हुनुपर्ने अवस्था सिर्जना भयो । उनीहरूमाथि अरू वर्गले शोषण गर्नाले आम्दानीको स्रोत सीमित हुन पुग्यो । उनीहरूको बचत गर्ने क्षमता गुम्न गयो र पुँजीमाथिको नियन्त्रणबाट समेत वञ्चित हुन पुगे । फलस्वरूप उनीहरू आर्थिक रूपले पिछडिएको वर्गमा पर्न बाध्य भए ।

(ग) सामाजिक आधार
समान जाति, धर्म, संस्कृति, पद, समाजिक स्तर भएकाहरूको एक वर्ग हुन्छ र फरक स्तर भएकाहरूको अर्को वर्ग निर्माण हुन्छ । समाजमा उच्च वर्ग भनिनेले कमजोर वर्गलाई हेप्ने, शोषण गर्ने, विभेद गर्ने जस्ता व्यवहारहरू गर्छन् ।

तल्लो वर्ग र उच्च वर्ग भनिएकाहरूको बिचमा द्वन्द्व चलिरहन्छ । साथै तल्लो वर्गकाहरू माथिल्लो वर्गमा उक्लनका लागि प्रयासरत पनि हुन्छन् । कुनै जाति वा संस्कृतिको व्यक्ति भएकै कारण आर्थिक रूपमा पछाडि परेका हुन सक्छन् ।

हुनत वर्ग स्थायी हुँदैन तैपनि आर्थिक वर्गभन्दा सामाजिक वर्ग अलिक स्थायी प्रकृतिको हुन्छ । समाजले सहर्ष नस्विकारेसम्म सामाजिक वर्गमा परिवर्तन आउन कठिन हुन्छ ।

(घ) पदीय आधार
कुनै व्यक्ति राजनीतिक वा प्रशासनिक रूपमा उच्च पद वा ओहदामा पुगेमा उसको सामाजिक हैसियतमा वृद्धि हुन्छ । उसको आर्थिक, सामाजिक र पदीय हैसियत उच्च हुनाले मान सम्मान र प्रतिष्ठामा वृद्धि हुन्छ । राजनीतिक र प्रशासनिक पहुँच र शक्तिमा वृद्धि हुन्छ ।

उसले आफू समानका व्यक्तिहरूसँग व्यवहार गर्न सुरु गर्छ र उच्च पदस्थ व्यक्तिहरूको वर्ग निर्माण हुन्छ । मध्यम ओहदामा भएका व्यक्तिहरूको अर्को वर्ग निर्माण हुन्छ भने तल्लो ओहदामा भएकाहरूको अर्को वर्ग निर्माण हुन्छ ।

यी वर्गमध्ये निम्न र मध्यम वर्गका व्यक्तिहरू आफ्नो मिहिनेत, परिश्रम, लगनशीलता, जनमत र अवसरका कारण माथिल्लो वर्गमा पदोन्नति हुन पनि सक्छन् ।

३. सामाजिक रूपान्तरण
सामाजिक रूपान्तरणको प्रकृति यो विश्वव्यापी प्रक्रिया हो । विश्वका सबै समाज परिवर्तनशील हुन्छन् । रूपान्तरणका स्वरूपहरू एकै प्रकारका हुँदैनन् । समाजको प्रकृतिअनुसार फरक हुन सक्छन् । कहीँ सङ्घर्षबाट, कहीँ सहयोगबाट‚ कहीँ समायोजनबाट त कहीँ सुधारात्मक उपायबाट समाज रूपान्तरण हुन सक्छ ।

रूपान्तरणमा निश्चित भविष्यवाणी हुँदैन किनकि रूपान्तरणले ल्याउने परिणामको पूर्वानुमान गर्न सकिए तापनि आकस्मिक कारकहरूबाट रूपान्तरणको स्थिति पैदा नहुन सक्छ ।सामाजिक रूपान्तरण निरन्तर चलिरहने प्रक्रिया हो । यो प्रक्रिया तबसम्म चलिरहन्छ जबसम्म पूरा समाजमा पछाडि परेकाहरूले रूपान्तरणको अनुभूति गर्दैनन् ।

सामाजिक रूपान्तरणको गति एकनास हुँदैन । कहिले तीव्र त कहिले सुस्त हुन्छ । समाजमा विभिन्न वर्गका मानिस बसोबास गरेका हुन्छन् । पिछडिएका, गरिब र निम्न वर्गका मानिस पनि हुन्छन् ।त्यसरी पछाडि परेका वा पारिएका वर्ग वा निम्न वर्गको उत्थान गरी समाजमा अरूसरह ससम्मान सामान्य जीवयापन गर्न सक्ने अवस्थामा पु¥याउनु सामाजिक रूपान्तरण हो ।

हुन त समाजमा वर्गविहीनताको परिकल्पना त्यति सहज छैन तर पनि समाजमा न्यून वर्ग र वञ्चितीकरणमा परेका वर्गको उत्थान नगरेसम्म समाज विकास हुन सक्दैन भन्ने नै सामाजिक रूपान्तरणको अवधारणा हो । यस अवधारणाले समाजमा रहेका गरिब, कमजोर र हेपिएका जाति एवम् वर्गका मानिसलाई विभिन्न प्रकारका सकारात्मक उपायहरूद्वारा उत्थान गरेर मात्र समाजको विकास हुन सक्छ भन्ने मान्यता राख्छ ।

त्यसैले सामाजिक रूपान्तरणलाई सांस्कृतिक रूपान्तरणसँग पनि जोडेर हेर्ने गरिन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो । त्यसैले समाजमा व्याप्त गरिबी, उत्पीडन, पछौटेपन र वञ्चितीकरणका कारक तत्व आर्थिक मात्र नभएर यसका पछाडि परम्परा, संस्कृति, रीतिरिवाज, धर्म र जाति व्यवस्थालगायतका विविध जटिल तत्वहरू पनि उत्तिकै जिम्मेवार छन् ।

त्यसैले यहाँको समाज रूपान्तरणका विषयमा कुरा गर्दा कुनै एक पक्षलाई मात्र हेरेर हुँदैन । आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई एकैसाथ सम्बोधन गरेमा मात्र सामाजिक रूपान्तरण हुन सक्छ । नेपालको सन्दर्भमा सामाजिक रूपान्तरणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट न्यून वर्गका मानिसहरूको पहिचान गरी तिनलाई सकारात्मक विभेदका माध्यमबाट अगाडि ल्याउने उपायहरू अपनाउनुपर्छ ।

देशमा रोजगारीको सिर्जना, शिक्षा र व्यावसायिक सिप प्रदान, पुँजी र अवसरको सहज उपलव्धता जस्ता उपाय अपनाएर उनीहरूको रूपान्तरण गर्न सकिन्छ ।

४. नेपालमा सामाजिक रूपान्तरणका लागि भएका प्रयास
सन् २०२० मा प्रकाशित सामाजिक प्रगति सूचकाङ्क (Social progress index-SPI) मा विश्वका १६३ देशहरूमध्ये नेपाल ११४ औँ स्थानमा रहेको देखिन्छ । सामाजिक प्रगति सूचकाङ्कमा पोषण, आधारभूत चिकित्सा सुविधा, खानेपानी, सरसफाइ, आवास सुविधा र व्यक्तिगत सुरक्षालाई समेटिएको हुन्छ । त्यसै गरी सन् २०२० को मानव विकास सूचकाङ्कमा विश्वका १८९ देशमध्ये नेपाल १४२ औँ स्थानमा रहेको छ ।

मानव विकास सूचकाङ्कमा जनताको आर्थिक अवस्था, शिक्षा र स्वास्थ्यको अवस्थालाई समेटिएको हुन्छ । यसरी हेर्दा नेपाली जनताको आर्थिक सामाजिक अवस्था निकै कमजोर देखिन्छ । यसले हाम्रो समाजमा अझै पनि जातीय भेदभाव, छुवाछुत, लैङ्गिक विभेद र अन्धविश्वास कायमै छन् भन्ने देखाउँछ । पोषण, आधारभूत चिकित्सा सुविधा, खानेपानी, सरसफाइ र आवास सुविधाको अवस्था पनि कमजोर देखिन्छ ।

व्यक्तिगत सुरक्षा, ज्ञान प्राप्ति, सूचना प्राप्ति र अनलाइन शासन प्रणालीमा नागरिकको सहज पहुँच, स्वतन्त्र प्रेस र वातावरणीय गुणस्तर पनि कमजोर रहेको बुझिन्छ । यस्तो परिस्थितिमा नेपालीहरूको अवस्थामा सुधार ल्याउनका लागि अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । त्यसो भन्दैमा नेपालमा सामाजिक रूपान्तरणका लागि प्रयास नै नभएको भने होइन । नेपालमा सामाजिक रूपान्तरणका लागि धेरै प्रयास भएका छन् । तीमध्ये केही उदाहरण यसप्रकार छनः

(क) नेपालको संविधानमा राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने भन्ने उल्लेख छ । यसैअनुरूप कानुन, नीति तथा कार्यक्रमहरू बनेर कार्यान्वयनका आइरहेका छन् ।

(ख) पन्ध्रौँ योजनामा समृद्ध नेपाल र सुखी नेपालीको मूल लक्ष्यसहित गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने भन्ने उल्लेख छ । सोहीअनुरूपका कार्यक्रमहरू कार्यान्वयनमा आइरहेका छन् ।

(ग) समावेशी सिद्धान्तअनुसार राज्यका सबै क्षेत्रमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी, अल्पसङ्ख्यक जाति जनजातिहरूका लागि विशेष सुविधा र आरक्षणको व्यवस्था गरिएको छ ।

(घ) कमैया, छाउपडी, हलिया, छुवाछुत, जातीय विभेदलगायतका विभिन्न प्रकारका कुप्रथाहरूको अन्त्य गर्ने र पीडित वर्गको पुनस्र्थापना गर्ने कार्यक्रमहरू सञ्चालन भएका छन् ।

(ङ) लक्षित वर्ग तोकी तिनको उत्थानका लागि जन चेतनामूलक एवम् आर्थिक उत्थानका कार्यक्रमहरू सञ्चालन भएका छन् ।

(च) राज्यले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जातजातिमा मानिसको सामाजिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू संचालन गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रको सहयोगमा  चिनारी नेपालमा प्रकाशन गरिएको ।

प्रकाशन मिति २०७९ मंसिर १३

-सपना पाण्डे

Leave a Comment

Your email address will not be published. Required fields are marked *