नेपालमा जातप्रथाका विभिन्न अवधारणाहरू

जातप्रथा

वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ । वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त भएदेखि जातप्रथा र छुवाछुतको अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् ।  वि.सं. २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो ।

“उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दर्साउने, जात, जाति वा छुवाछुतका आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।”

– नेपालको संविधान, धारा २४

त्यसपछि बनेका कानुनहरूले पनि यस प्रथालाई निरुत्साहन तथा यसको अन्त्य गर्ने प्रयासहरू गरेका छन् । यस्ता प्रयासहरूका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछुत र भेदभावको अन्त्य हुन भने सकेको छैन । जातप्रथाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न अवधारणाहरू पाइन्छन् । तीमध्ये केही अवधारणाहरूलाई यहाँ प्रस्तुत गरिएको छ:

(क) जातको दैवी अवधारणा
आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ । जात मानवको वर्गसँग सम्बन्धित छ । यसर्थ धर्मसँग मात्र जोडेर जातको पूर्ण परिभाषा हुन सक्दैन । मानव शरीरका सबै अङ्गका आआफ्नै भूमिका हुन्छन्, ती एकअर्कामा अन्तरनिर्भर हुन्छन् र सबैको संयुक्त सहकार्यबाट चल्दछन् ।

त्यसै गरी समाज पनि एक शरीर जस्तै हो । त्यसमा प्रत्येक सदस्यको आआफ्नो रुचि, क्षमता र योग्यताअनुसारको भूमिका हुन्छ । उनीहरूको आपसी सहकार्य र समन्वयबाट समाज चल्दछ । पौराणिक कालमा हिन्दु परम्पराअनुसार प्रत्येक गाउँ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन थियो ।

त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसरण गरिन्थ्यो । यसका लागि चार प्रकारका पदहरूको सिर्जना गरिएको थिए: ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । समाजमा श्रम र सिपमा आधारित कामहरूमा रुचि राख्ने व्यक्तिहरू शूद्र भनिन्थे ।

उत्पादनमूलक कृषि, व्यापार जस्ता कार्यमा रुचि राख्नेहरू वैश्य भनिन्थे, सुरक्षा सेवा र शासन गर्नेहरू क्षत्रिय भनिन्थे । बौद्धिक काम गर्ने, सल्लाह परामर्श दिने, शिक्षा दिने जस्ता काममा लाग्नेहरू ब्राह्मण भनिन्थे । ब्राह्मण, शूद्र, वैश्य र क्षत्रियहरू आफैँ वा तिनका छोराछोरीहरू आफ्नो रुचि परिवर्तन गरी वा आफ्नो पेसा परिवर्तन गरी शूद्र, वैश्य, क्षत्रिय र ब्राह्मण हुन सक्दथे ।

(ख) शास्त्रीय अवधारणा
आदिम समाजका मानिस जात र कुलमा सबै समान थिए । मानिस मानिसबिच असमानता र भेदभाव थिएन । यो मानवले आफैँ बनाएको सामाजिक व्यवस्था हो । इसापूर्व ३०० देखि २०० सम्मलाई मनुस्मृतिकाल भनिन्छ । वर्तमान हिन्दु समाजमा जरा गाडेर बसेको छुवाछुत र जातीय भेदभावको जड सोही समयलाई मान्न सकिन्छ ।

काममा व्यस्त हुने शूद्रहरू सिधासाधा हुने हुनाले उचित अर्थोपार्जनमा उनीहरू पछि परे । समाजका टाठाबाठाहरूले पनि कर्मयोगीहरूको श्रम शोषण गरे । उनीहरूलाई माथिल्ला जात भनिनेहरूको सेवामा लाग्न बाध्य बनाइयो । विश्वभरिका मानव समाजमा यसरी नै बलियाले निर्धोलाई, धनीले गरिबलाई, बाठाले सिधासाधालाई हेप्ने र थिचोमिचो गर्ने प्रवृत्ति देखिन्छ । परिणामस्वरूप तिनै टाठाबाठाले जातिगत समूह बनाए ।

उक्त समूहका सीमित र व्यक्तिहरूले छुवाछुतलाई धार्मिक कानुनका रूपमा समावेश गरे । काम वा श्रमका आधारमा बनाइएको जात विभाजनलाई जन्मका आधारमा हुने बनाइयो । समाजमा जातीय विभेदमा आधारित कानुनहरू बनाएर प्रयोग गर्न थालियो । जातका आधारमा समाज विभाजन भएपछि अन्य विभिन्न कारणले हेपाइमा परेकाहरूलाई पनि शूद्र वर्गमा समावेश गर्न थालियो ।

युद्धमा हारेकाहरूलाई दास बनाएर शूद्र वर्गमा समावेश गरी अमानवीय व्यवहार तथा दमन गर्ने कार्य गरियो । इतिहासको विभिन्न कालखण्डमा पाप वा दुष्कर्म तथा घिनलाग्दा काम गर्ने व्यक्तिलाई समाजबाट बहिष्कृत गरेर शूद्र वर्गमा समावेश गरेको पाइन्छ । पछि सत्ताधारी र कुलीन वर्गलाई मन नपरेका व्यक्तिहरूलाई पनि शूद्र र वर्गमा राखेर बहिष्करणलाई बढावा दिने प्रचलन बसेको देखिन्छ ।

यसले शूद्रहरूप्रतिको समाजको दृष्टिकोण अझ नकारात्मक बन्दै गयो । यस अवस्थामा सबै शूद्रहरू एक भई प्रतिरोध गर्नुको साटो शूद्रहरूबिचमा पनि छुवाछुतको व्यवहारको सिर्जना हुन पुग्यो । यसरी जातीय भेदभावलाई धर्म र संस्कृतिसँग जोडेर व्यवहार गर्न थालेको कारण आजको दिनसम्म हिन्दु समाजबाट पूर्णतः छुवाछुत हट्न नसकेको देखिन्छ ।

(ग) व्यवहारजन्य अवधारणा
आफ्नो रुचि, प्रतिभा र आवश्यकताअनुसारका काममा विशिष्टीकरण हुँदै गएपछि बनेको जातप्रथा जन्मका आधारमा विभाजन हुने गरी विकृत बनाउँदै लगियो । धर्मको आडमा जन्मअनुसार जात विभाजनको प्रचलन सुरु भएसँगै सिपगत वर्गीकरण पुर्खौली र पुस्तौनी पेसा बन्न पुग्यो । यसले गर्दा शूद्रहरूको राजनीतिक, प्रशासनिक र आर्थिक अधिकार गुम्दै गए ।

शूद्र र वैश्यहरूको राजनीतिक तथा प्रशासनिक अधिकारहरू पनि कुण्ठित हुँदै गए । परिणामस्वरूप उनीहरूमाथिको विभेद मौलाउने मौका मिल्यो । नेपालमा समाजमा प्रचलित छुवाछुत प्रथालाई जङ्गबहादुरले वि. सं. १९१० मा मुलुकी ऐन जारी गरी कानुनी मान्यता दिएपछि यो अझ कडा हुन पुगेको देखिन्छ । हाम्रो समाजमा विद्यमान जातप्रथा न त जैविक हो, न धार्मिक हो । यो सामाजिक तथा आर्थिक वर्ग विभाजनका क्रममा विकास भएको कुप्रथा मात्र हो जसले पछि छुवाछुतसम्मको व्यवहारलाई स्थापित गरेको थियो ।

बिसौँ शताब्दीको मध्यदेखि नै विश्वमा मानव अधिकारको अवधारणा बालियो रूपमा स्थापित भएको छ । त्यसैले एक मानवले अर्को मानवलाई सम्मान गर्नुपर्छ, कुनै प्रकारको हेपाइपूर्ण र विभेदयुक्त व्यवहार गर्नु हुँदैन भन्ने मान्यता स्थापित भइसकेको छ । छुवाछुत पूर्णरूपमा अमानवीय कार्य हो र यसलाई पूर्णरूपमा हटाउनुपर्छ भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा दस्तावेजहरूमा व्यवस्था भइसकेको छ ।

त्यसको कार्यान्वयनका क्रममा समाजबाट धेरै हदसम्म यो सोचमा परिवर्तन पनि आइसकेको छ । तैपनि समाजमा अझै यो मान्यता पूर्णरूपमा हट्न सकेको छैन । यसका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र जनचेतनाको स्तरमा वृद्धि गर्नुपर्दछ ।

सि.डि.सि. नेपालको सहयोगमा चिनारी नेपालले प्रकाशन गरेको ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *