नेपालको भौगोलिक चिनारी
दक्षिण एसियामा अवस्थित नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुन्द्री सतह देखि करिब ११२७ की.मी. टाढा पर्दछ भने एसियाका दुई विशाल मुलुकहरु भारत र चीनको बीचमा नेपाल रहेको छ ।
नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग की.मी. अर्थात ५६,८२७ वर्गमाईल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ की.मी.र उत्तर दक्षिण चौडाई १९३ की.मी सरदर रहेको छ ।
नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी आक्षांश र ८० डिग्री ४ मिनेट देखी ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।
विश्वको कुल भु– भागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र दक्षीण एशियाको ३ प्रतिशत भाग नेपालले ओगटेको छ ।
नेपालको दक्षीणमा भारतको विहार र उत्तर प्रदेश राज्य, पश्चिममा भारतको उत्तारखण्ड राज्य, पूर्वमा पश्चिम बंगाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्बत पर्दछ ।
नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरिशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधारमानि निर्धारण गरिएको छ । नेपालको समय ग्रीनवीच मानक समय भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.स. २०४२ साल बैशाख १ गतेदेखि लागु गरिएको हो ।
विश्वका ८,००० मिटर भन्दा अग्ला १४ चुचुराहरुमध्ये नेपालमा ८ ओटा पर्दछन । ६००० मिटर र सोभन्दा अग्ला चुचुराहरु १,३०० भन्दा बढि छन् ।
मुस्ताङ जिल्लामा मात्रै यस्ता लगभग ३०१ चुचुराहरु रहेका छन् । नेपालमा हिमालयका साथसाथै काशी, गण्डकी, कर्णालीजस्ता ठुलानदीहरु र राराताल, फेवाताल, गोसाइकुण्डजस्ता सुन्दर तालहरु छन् ।
भू– स्वरुपको विविधताका साथै जलवायु र मौसमको अत्याधिक विभिन्नताले गर्दा उष्ण, अर्धोष्ण, सुक्ष्म तापीय, टाइग्रा र टुन्द्रा प्रकारका जलवायु नेपालमा पाईन्छन् ।
नेपालको भौतिक स्वरुपमा उचाईगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गोतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो धुर्वको देश तथा विशिष्ट झण्डाको देशको रुपमा समेत परिचित छ ।