परिचय
लुम्विनी प्रदेश अन्तर्गत पर्ने १२ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम मिति २०७४।०७।१९ गते देखि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नामबाट कार्यालय संचालन भै आएको छ । करिब ६३४.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा नवलपुर , पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् ।

समुन्द्री सतहबाट करिब ९१ मि. देखि १९३६ मि. सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण सुस्ता गाउँपालिका , पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी क्षेत्र , भित्री मधेश र तराई क्षेत्र रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहा पाइन्छ ।
यहाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस सम्म रहेको पाइन्छ । कालीगण्डकी करिडोर अन्र्तगत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिको सम्श्रिण पाइन्छ । यहा जनगणना २०७८ अनुसार ३८६८६८ जनसंख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ । भौगोलिक रुपमा यस जिल्लाको सम्पूर्ण भू—भागलाई दाउन्नेडाडाले करिब बीचबाट चिरी पूर्व तर्फ नवलपुर क्षेत्र र पश्चिम तर्फ परासी क्षेत्रको रुपमा जिल्लालाई दुई खण्डमा विभाजन गरेकोे छ ।

ऐतिहासिक एवं सांस्कृतिक पहिचान
ऐतिहासिक एवं सांस्कृति रुपमा भिन्नै पहिचान बोकेको यस स्थानमा महामानव भगवानबुद्धको परिनिर्वाण पश्चात प्राप्त आठवटा अस्थिधातु मध्ये एक अस्थि धातु राखिएको विश्व प्रसिद्ध रामग्राम स्तुप रहेको छ । प्राचिन समयमा सम्राट अशोकले अन्य स्थलका अस्ति धातुहरु निकाली आफ्नो राज्यमा विभाजन गरी कैयौं बौद्ध स्तुपहरु निर्माण गरेका भएता पनि यस स्थलमा रहेको अस्थिधातु निकाल्न आउँदा नाग र हात्तिहरुले संरक्षण गरी निकाल्न नदिएको भन्ने जनश्रुति रहेको छ । यसै पवित्र स्थलको नामबाट नगरपालिका र यस शाखाको नामाकरण गरिएको हो । यो रामग्राम महामानव गौतमबुद्धको मावली गाउ“, उनको बाल्यकालको क्रिडास्थल र प्राचिन कोलिय गणराज्यको राजधानी रहेको विश्वास गरिन्छ । यसका अलावा यहा“ पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु पूर्व पाल्पाका सेन वशी राजाहरुका इष्टदेवी पाल्ही भगवतिको प्रसिद्ध मान्दिर समेत रहेको छ ।यस जिल्लामा सोना–तमसा र सप्तगण्डकी नदीहरुको समिश्रणबाट बनेको प्रसिद्ध त्रिवेणी धाम (जुन स्थल भारतको प्रयाग जतिकै श्रदा र आस्थाको केन्द्रको रुपमा रहेको छ), अद्यापी रहेको पाउन सकिन्छ) |

यसका अतिरिक्त यहाँ मदारथान, बाबा बर्दगोरिया कुटी, अनुमा घाट, पण्डितपुर, अकलादेवी, घुमारिघाट जस्ता पर्यटकिय एवं धार्मिक स्थलहरु रहेका छन् भने थुप्रै मठमन्दिरहरु समेत रहेका छन् । यस जिल्लाका व्यापारिक महत्वका केन्द्रहरुमा परासी, महेशपुर, सुनवल, बर्दघाट, जमुनिया, भूमही, महत्वपूर्ण रहेका छन् । जिल्लाको सदरमुकाम परासीबाट १२ कि.मी.को दूरीमा भारतीय सिमावर्ती बजार ठूठीबारी अवस्थित रहेको छ जहाबाट गोरखपुर, लखनउ जस्ता ठूला भारतीय बजारहरुमा जान सकिन्छ भने माहामानव गौतम बुद्धले परिनिर्वाण प्राप्त गर्नुभएको प्रसिद स्थल कुशिनगर समेत सजिलै जान सकिन्छ । नवलपरासी जिल्लामा बसोबासका दृष्टिले हिन्दु, मुस्लिम, बौद्धिष्ट, क्रिश्चियन धर्म सम्प्रदाय एवं पहाडी, मधेशीहरुको मिश्रीत बसोबास भएको पाइन्छ
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको भाैगोलीक अवस्थिती
- क्षेत्रफल:६३४.८८वर्ग कि.मी.
- औसत लम्बाई (उत्तर-दक्षिण): ३४ कि.मी.
- औसत चौडाई (पूर्व-पश्चिम): ३२ कि.मी.
- भारतसँग जोडिएको सीमाको लम्बाई: २७.५ कि.मी.
- सीमा स्तम्भहरु: १६ (विभिन्न प्रकार र अवस्थाका)
- सबैभन्दा अग्लो भू-भाग: समुन्द्री सतहबाट १९३६मिटर
- कृषियोग्य जमिन: ७०१४३ हेक्टर
- वनजंगलले ढाकेको क्षेत्र: ३६४० हेक्टर (३०%)
- शहरी क्षेत्र: ४७.५ वर्ग कि.मी. (६५%)
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका पर्यटकिय स्थलहरू
मुख्य नदीनालाहरू: नारायणी नदि ।
प्रमुख खोलानाला : तुरिया, झरही, धनेवा ।
प्रमुख ताल : नन्दन ताल, बुद्धमंगल ताल, धर्मपोखरी ताल, तेलना पोखरी, गैडाताल ।
मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु: पाल्हीभगवती मन्दिर, पण्डितपुर र रामग्राम स्तुप।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
१ | बर्दघाट नगरपालिका | बर्दघाट नगरपालिका, धुरकोट (७,८), जहदा, जमुनिया (१,८), दाउन्नेदेवी र रूपौलिया (१,२) गा.वि.स. | १६ |
२ | रामग्राम नगरपालिका | रामग्राम नगरपालिका, अमरौट, सुक्रौली, बन्जरीया, हकुइ, सनइ(४-५) र देवगाव गा.वि.स | १८ |
३ | सुनवल नगरपालिका | सुनवल नगरपालिका, धुरकोट (६) र रामनगर गा.वि.स | १३ |
४ | सुस्ता गाउँपालिका | त्रिवेणीसुस्ता (४), रूपौलिया (३-९), कुडिया, नरसही र पकलिहवा गा.वि.स | ५ |
५ | पाल्हीनन्दन गाउँपालिका | रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनर्इ (१-३,६-९) गा.वि.स | ६ |
६ | प्रतापपुर गाउँपालिका | जमुनिया (२-७,९), सोमानी, ठूलोखैरतवा, वैदोली, गुठीप्रसौनी, गुठीसुयर्पुरा र प्रतापपुर | ९ |
७ | सरावल गाउँपालिका | तिलकपुर, मनरी, सरावल, वडहरादुवैलिया, रामपुरखडौना र भुजहवा गा.वि.स | ७ |
जम्मा | ७४ |
श्रोतःस्थानियतह
१ बर्दघाट नगरपालिका – स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम साबिक माकर र पञ्चनगर गा.वि.स लाई एकीकरण गरी नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयबाट यस बर्दघाट नगरपालिकाको गठन गरिएको थियो । राज्यको पुनर्संरचना सँगै साबिकका विभिन्न स्थानीय निकायहरूलाई पुनर्संरचना गरी स्थानीय सरकारको रूपमा रूपान्तरण गर्ने क्रममा छिमेकमा रहेका साबिकका दाउन्नेदेवी र जहदा गा.वि.सका साथै धुरकोट र जमुनिया गा.वि.स का दुई दुई ओटा वडाहरूलाई समावेश गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन विधायिका, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्यका साथ अधिकार सम्पन्न स्थानीय सरकारको रूपमा यस बर्दघाट नगरपालिकाको पुनर्संरचना गरिएका थियो । यस नगरपालिकाको भौगोलिक अवस्थिति विवरण तल उल्लेख गरिएको छ ।
बर्दघाट शब्दको व्युत्पत्तिबारे विभिन्न मतहरू देखिन्छन् । कसैले यस क्षेत्रमा बयरघारी भएकाले बयरघाट भन्दाभन्दै बर्दघाट भएको तर्क राखेको पाइन्छ भने कसैले यस क्षेत्रमा बहरको व्यापार हुने भएकोले बहरघाटबाट बर्दघाट भएको हो भन्ने तर्क पनि पेस गरेको पाइन्छ । कसै कसैले बरको रूख भएकोले ‘बरघाट’ भन्दाभन्दै कालान्तरमा बर्दघाट भनिएको हो भन्ने तर्क पेस गरेको पनि पाइन्छ । वास्तवमा यी माथिका सबै तर्कहरू भाषाविज्ञानका आधारमा त्यति सान्दर्भिक देखिँदैनन् ।यो क्षेत्र विशेषतः थारू आदिवासी जनजातिहरूको मुख्य थलो हो ।
यहाँ परापूर्वकालदेखि नै थारूहरूको वसोवास रहेको तथ्यलाई स्वीकार गर्नै पर्दछ । थारु भाषामा गोरुलाई बर्दा भनिन्छ । बर्दा अर्थात् गोरुको हाट लाग्ने प्रमुखस्थल रहेकाले यसको नाम बर्दाघाट हुन पुगेको र कालान्तरमा बर्दाको आकार अकारमा परिवर्तन भई बर्दघाट भएको हो भन्ने कुरालाई भाषा वैज्ञानिक दृष्टिले प्रमाणित गर्न सकिन्छ । यसैगरी यसको उत्तरतिर पहाडी क्षेत्र रहेको र यस क्षेत्रमा आदिवासी मगरजातिको बसोबास रहेको प्रमाण पाइन्छ । मगर भाषामा गोरुलाई बार्दा (बार्डा उच्चारणमा) भनिन्छ । उनीहरूले यहाँ गोरुको हाट लाग्ने भएकोले यस क्षेत्रलाई बार्डा हाट भन्न थाले । हाट शब्द घाटमा बदलियो र बार्डाघाट भयो । यही बार्डाघाट कालान्तरमा बर्दघाट शब्दमा रूपान्तरण भएको हो भन्न पनि सकिन्छ । यसरी बर्दघाट शब्दको व्युत्पत्ति थारू भाषाको बर्दा हाट र मगर भाषाको बार्डा हाटबाट भएको बलियो प्रमाण पाइन्छ ।
केन्द्रः साविक बर्दघाट नगरपालिका कार्यालय
क्षेत्रफलः १७८.४९
वडा संख्याः १६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बर्दघाट(१) | २७०९ | ७.६६ |
२ | २ | बर्दघाट (२) धुर्कोट (७,८) | ६६३१ | ५६.५४ |
३ | ३ | बर्दघाट(३) | १२३४ | १.५३ |
४ | ४ | बर्दघाट(४) | १५९७३ | ८.०७ |
५ | ५ | बर्दघाट(५) | ३९३५ | २१.२३ |
६ | ६ | बर्दघाट(६) | १४७० | २.३८ |
७ | ७ | बर्दघाट(७) | २५२५ | २.६४ |
८ | ८ | बर्दघाट(८) | १६९८ | २.०२ |
९ | ९ | बर्दघाट(९) | ३०६८ | ०.६४ |
१० | १० | बर्दघाट(१०) | ४४६८ | ३.६८ |
११ | ११ | बर्दघाट(११) | २८९६ | ६.९८ |
१२ | १२ | जहदा (४,५,८,९) जमुनिया (८) | ५४५५ | ६.१७ |
१३ | १३ | जहदा (१-३,६,७) जमुनिया (१) | ६५२० | १०.९९ |
१४ | १४ | दाउन्नेदेवी(३-५,८,९) | ७६८६ | ८.६९ |
१५ | १५ | दाउन्नेदेवी (७) रूपौलिया (१,२) | ५२८६ | ६.५३ |
१६ | १६ | दाउन्नेदेवी(१,२,६) | ५१४९ | ३२.७४ |
जम्मा | ७६७०३ | १७८.४९ |
बर्दघाट नगरपालिकाको नक्सा
२ रामग्राम नगरपालिका – नेपालको लुम्बिनी नम्बर प्रदेशमा रहेका १२ जिल्लाहरु मध्ये नवलपरासी बर्दघाट सुस्ता पश्चिम पनि एउटा हो । यस जिल्लाका ७ स्थानीय तह मध्यको रामग्राम नगरपालिका एक हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव) मिलाई कुल १२८.३२ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ |
केन्द्रः साविक रामग्राम नगरपालिका कार्यालय
क्षेत्रफलः ९३.९१
वडा संख्याः १८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रामग्राम(१) | २७८६ | ३.२७ |
२ | २ | रामग्राम(२) | २२७२ | ०.६९ |
३ | ३ | रामग्राम(३) | २७४६ | ०.३२ |
४ | ४ | रामग्राम(४) | २६६७ | ३.३७ |
५ | ५ | रामग्राम(५) | १८८८ | १.३७ |
६ | ६ | रामग्राम(६) | २०९७ | २.१७ |
७ | ७ | रामग्राम(७) | २९७१ | ३.७६ |
८ | ८ | रामग्राम(८) | २४६२ | ३.६४ |
९ | ९ | रामग्राम (९) सनई (४,५) | २७१९ | ७.०४ |
१० | १० | रामग्राम (१०) सुक्रौली (७-९) हकुइ (६) | ४६९७ | १०.४४ |
११ | ११ | रामग्राम(११) | १८७९ | ४.७७ |
१२ | १२ | रामग्राम(१२) | २५०८ | ४.२ |
१३ | १३ | रामग्राम(१३) | १६६५ | १.७३ |
१४ | १४ | अमरौट(१-९) | ५३३९ | १०.७९ |
१५ | १५ | सुक्रौली (१-५) बन्जरीया (३,४) | ५३६० | ६.७४ |
१६ | १६ | हकुइ (१-५,७-९) शुक्रौली (६) | ७६५७ | ११.२१ |
१७ | १७ | देवगाव(१-९) | ६१४० | ९.२ |
१८ | १८ | बन्जरीया(१,२,५-९) | ६१६४ | ९.२ |
जम्मा | ६४०१७ | ९३.९१ |
रामग्राम नगरपालिकाको नक्सा
३ सुनवल नगरपालिका – नेपालको प्रथम बाल मैत्रीपूर्ण नगरपालिका सुनवल तराईमा अवस्थित छ, जसमा नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो भाग, उत्तरमा पाल्पा जिल्ला , दक्षिणमा रामग्राम नगर पालिका, पूर्वमा सरावल गाउपालिका , पूर्वोत्तरमा बर्दघाट नगरपालिका तथा गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका र पश्चिममा रुपन्देही जिल्ला रहेको छ । यो नगरपालिका विक्रम सम्बत २०७१ साल ज्येष्ठ ४ गते नेपाल सरकारको स्थानीय प्रशासन अधिनियम अनुसार साबिकका दुई गाविसहरु, स्वाठी र सुनवललाई मिसाएर बनाइएको हो। नेपालको राष्ट्रिय राजनीतिक परिवर्तन पछि, विक्रम सम्बत २०७३ साल फाल्गुन २७ मा नवलपरासी जिल्लाको रामनगर क्षेत्र र साबिक धुर्कोट गा.वि.स. को ६ नम्बर वडा समेत सामेल गरि नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ। यस सुधार पछि नगरपालिका समुद्र सतह बाट १३८ देखि १०२३ मीटर माथि र १३९.१० वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिका भित्र ७२०८५ जनसंख्या (राष्ट्रीय जनगणना २०७८) रहेकाे छ |
सुनवलमा अधिकांश बासिन्दाहरु हिन्दू धर्म मान्ने र अरू बौद्ध, मुस्लिम र क्रिश्चियन छन् । नगरपालिकाका बासिन्दाहरू तिनीहरूको जाति र जातीय समूहद्वारा विभाजित छन्। त्यस्तै, ९९.५% नागरिकहरु साक्षर छन् र सबै बालबालिका विद्यालय जान्छन् र स्थानीय प्रशासनमा बालबालिकाहरूको सार्थक योगदान पनि छ। स्थानीय तहको चुनावमा नयाँ निर्वाचित निकायले विक्रम सम्बत २०७४ असार २५ गते देखि नगरपालीकामा काम गरिरहेको छ।सुनवल तराई र नेपालको पहाडी क्षेत्रसँग सीमामा छ। यद्यपि यो नगरपालिका तराईमा अवस्थित भए पनि , यसको पहाडी क्षेत्रमा पनि केही परिवार बसोबास गर्दछन्। मध्यम जनसंख्या भएको यो नगरपालिकाको पचास प्रतिशत भन्दा बढी क्षेत्रमा जंगल रहेको छ, जहाँ धातु ,ढुङ्गा जस्ता खनिजहरू छन्,। विविध भौगोलिक सुविधाको कारण, सुनवल पर्यटन, आधुनिक र स्वदेशी व्यापार, कृषि, जस्ता सम्भावना बोकेको शहरको रुपमा परिणत हुँदै गएको छ। स्थानीय सरकारको वर्तमान नियन्त्रणले पूर्वाधारको छिटो विकासको सम्भावना बढाएको छ।
यस नगरपालिकाको नाम सुनवल नै किन रह्यो भन्नेबारे ऐतिहासिक लेख नभएतापनि अग्रजहरुको जनश्रुति अनुसार बर्दगोरीया भन्ने ठाउँमा बाबा अमरनाथ बस्नुहुन्थ्यो र त्यहाँ उहाँले एउटा अमर पोखरीपनि खन्नु भएको रहेछ। बाबा अमरनाथले एउटा साँढेपनि पाल्नुभएको थियो जसलाई उहाँले शिवजीको बाहनको रुपमा पुजेर राख्नु भएको थियो। उक्त साँढेको गलामा एउटा सुनको हार थियो। बाबाले भक्तहरुलाई चोटपटक लागेमा अमरपोखरीमा आएर नुहाउनाले सबै ठिक हुन्छ भन्ने बरदान दिनुभएको थियो। एकदिन साँढे रुपन्देहीको भलुहिमा चरि रहंदा शत्रुहरुले बन्चरोले उसको घांटी काटीदिएछन्। साँढे चाहिँ बर्दगोरियाको पोखरीमा आउने प्रयास गरिरह्यो। घांटी काटिएको ठाउँमा टाउको खस्यो र ऐले सुनवल नगरपालिका भएको ठाउँमा उक्त साँढेले लगाएको हार खस्यो र यस ठाउँलाई सुनहार भन्न थालियो। समय बित्दै जाँदा त्यहि सुनहार भन्ने नाम सुनहल भइ अहिले अपभ्रंस भइ सुनवल भएको छ। यसरि नै सुनवल नगरपालिकाको नाम कृषिसंग पनि सम्बन्धित रहेको छ। सुनवलमा सुनजस्तै धानकोबाला फल्ने भएकोले सुनको बाला भन्दाभन्दै सुनवाला भन्न थालियो र त्यहि नाम अपभ्रंस भइ सुनवल भएको आम किम्बदन्ती रहेको छ ।
यस नगरपालिकाको हावापानी समष्टिमा सम शितोष्ण प्रकारको रहेको छ । यहाँको धरातलीय स्वरूपले पनि हावापानीको प्रभाव दक्षिण पूर्वी मनसूनबाट प्रभावित देखिन्छ। यस शहरको औसत तापक्रम गर्मीमा २८ डिग्री देखि ४३ डिग्री सेल्सियस, र जाडोमा ५ डिग्री सेल्सियस देखि 28 डिग्री सेल्सियससम्म हुने गर्दछ । पहाडी बेल्ट र तराई बेल्टमा वातावरणको विविधता पनि यस क्षेत्रको अर्को प्राकृतिक पहिचान हो। यस नगरपालिकामा जति उत्तर गइन्छ उति नै हावापानीमा केहि अन्तर पाइन्छ भने बार्षिक वर्षा औसतमा २७५ मि.मि. हुन्छ। कृषि उत्पादनको दृष्टिकोणले हेर्ने हो भने यहाँको जमिनको अधिकांश भूभाग समथर हुनाले सो जमिन कृषियोग्य छ । यस नगरपालिकामा खोलानाला तथा पानीको श्रोतहरु रहेकोले सिंचाइको अवस्था पनि सन्तोषजनक रहेको छ । धान, गहुँ, मकै जस्ता खाध्य बालि तथा तोरी, तरकारी र उखु जस्ता नगदे बालीहरु यहाँको प्रमुख खेतीहरु हुन्।
बाबा बर्दगोरिया, महल पोखरी, सोमनाथ बाबा, बिहार, मामी सति सावरिया , उत्तरायन मन्दिर , ओमेश्वर मन्दिर , ऐतिहासिक देवदह ताल , खड्कट्टी क्षेत्र, डाकापानी पिकनिक स्थान, स्वाठी पोखरी , बनकट्टी बुद्धको मूर्ति, बैरागनाथ मन्दिर, कृष्णको दामोदर स्वरुपको प्रतिमा , सहिद बिष्णु पाण्डे प्रतिष्ठान आदि ऐतिहासिक, धार्मिक र पर्यटक क्षेत्रहरू हुन ।
केन्द्रः साविक सुनवल नगरपालिका कार्यालय
क्षेत्रफलः १७३.५४
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सुनवल(१) | ६७९९ | ३.८६ |
२ | २ | सुनवल(२) | ३९९० | ५.६१ |
३ | ३ | सुनवल(३) | ५१५७ | १.२७ |
४ | ४ | सुनवल(४) | ७७६० | ४२.५७ |
५ | ५ | सुनवल(५) | ३९२४ | १.१५ |
६ | ६ | सुनवल(६) | ४१३७ | १९.६२ |
७ | ७ | सुनवल(७) | ६२१५ | १२.९२ |
८ | ८ | सुनवल(८) | ४६२४ | १०.५५ |
९ | ९ | सुनवल(९) | ४६८६ | ९.३८ |
१० | १० | सुनवल(१०) | ३०३२ | ५.४६ |
११ | ११ | धुरकोट (६) रामनगर (५-७) | ६७०० | ४१.४९ |
१२ | १२ | रामनगर(१,८,९) | ८१९४ | ६.४५ |
१३ | १३ | रामनगर(२-४) | ६८६७ | १३.२१ |
जम्मा | ७२०८५ | १७३.५४ |
सुनवल नगरपालिकाको नक्सा
४ सुस्ता गाउँपालिका – सुस्ता गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाका ७ स्थानीय तहहरूमध्ये एक पर्दछ । सुस्ता गाउँपालिका भौगोलिक हिसाबले ८३.८१२ देखि ८३.४८’४३.३०” देखी ८३.५४’१८.९५” सम्म पूर्वी देशान्तर र २७.०’४९.२०” देखि २७.३१’३.७४” सम्म उत्तरी अक्षांशसम्म फैलिएर प्राकृतिक मनोरम संरचना सहित होचो भू–भागदेखि चुरे पहाडी श्रृंखलामा अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ८८ मिटर देखि ८१५ मिटरको उचाइमा रहेको छ । ९६.५१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस सुस्ता गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको विहार राज्य, पश्चिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा विनयी त्रिवेणी गाउँपालिका तथा दक्षिणमा भारतसँग सिमाना जोडिएको छ ।
गाउँपालिकाको अधिकांश भूभाग समथर रहेको छ । जल, जंगल, जमिन, जनावर र जडिबुटीको कमि नभएको यस गाउँपालिका सप्तगण्डकी अर्थात नारायणी नदी तथा यसमा मिसिन आउने चुरेबाट बग्ने ससाना खोलाहरूले गाउँपालिकालाई जल सतह कायम गर्न अग्रणी भूमिका खेलेका छन्। २.२ प्रशासनिक विभाजन तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहायबमोजिम साविकका गा.वि.स.हरू कुडिया, त्रिवेणी सुस्ता, रुपौलीया, नर्सही र पक्लीहवा समेटेर ५ वटा वडाहरू कायम गरी यो गाउँपालिकाको निर्माण गरिएको हो । हाल सुस्ता गाउँपालिकाको संरचना यस प्रकार रहेको छ । राष्ट्रीय जनगणना २०७८ अनुसार कुल जनसंख्या ४०६५५ रहेकाे छ |
केन्द्रः साविक कुडिया गा.वि.स.को कार्यालय
क्षेत्रफलः ९१.२३
वडा संख्याः ५
सुस्ता गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रूपौलिया(३-७) | ६८३४ | १३.०२ |
२ | २ | रूपौलिया (८,९) कुडिया (१,५-८) | ७१४३ | १२.९२ |
३ | ३ | कुडिया(२-४,९) | ६३०२ | १२.१ |
४ | ४ | नरसही(१-९) | ६७९७ | १६.९९ |
५ | ५ | पकलिहवा (१-९) त्रिवेणीसुस्ता (४) | १३५७९ | ३६.२ |
जम्मा | ४०६५५ | ९१.२३ |
सुस्ता गाउँपालिकाको नक्सा
५ पाल्हीनन्दन गाउँपालिका – पाल्हीनन्दन गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ | ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ विघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा संगम हो । ४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसंख्या ३८१८६ रहेको छ । यस गाउँपालिकामा बसोवास गर्ने कूल जनसंख्या मध्ये ९९ प्रतिशत अवधि र भोजप्री भाषा बोल्दछन भने करिव १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् ।
पुर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत संग ,सिमाना जोडिएको गाउँपालिकामा महेशपुर भन्सार यस गाउँपालिकाको अर्को चिनारी हो । गुप्ता, हरजिन, यादव, मुस्लिम र हरजिन जातिको मुख्य बासोबास रहेको यस गाउपालिकाको मुख्य पेशा कृषी रहेको छ । सिमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य शहरहरु तथा राजधानीमा जानु पर्ने वाध्यत्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासकि पर्यटकिय स्थल हुन ।
केन्द्रः साविक कुश्मा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ३८१८६
क्षेत्रफलः ४४.६७
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रमपुरवा(१-९) | ३७४६ | ६.३४ |
२ | २ | हरपुर(१-९) | ६९२४ | ८.१४ |
३ | ३ | कुश्मा(१-९) | ७५९८ | ९.२५ |
४ | ४ | पाल्ही(१-९) | ६२९४ | ६.३९ |
५ | ५ | गेरमी(१-९) | ६९७६ | ५.०८ |
६ | ६ | सनइ(१-३,६-९) | ६६४८ | ९.४७ |
जम्मा | ३८१८६ | ४४.६७ |
पाल्हीनन्दन गाउँपालिकाको नक्सा
६ प्रतापपुर गाउँपालिका – लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चीम ) पनि एक जिल्ला हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको दक्षिण भेगमा प्रतापपुर गाउँपालिका अवस्थित रहेको छ । चुरे पहाडको पश्चिम—दक्षिण क्षेत्र परासी खण्डको समथर भु—भगमा यो प्रतापपुर गाउँपालिका पर्दछ भने यहाँको माटो चिम्टाइलो भएकोले यहाँ उखु, धान, गहुँ, दलहन, तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ र ये क्षेत्र समन्द्र सतहबाट करिब ३०० मी. सम्मको उचाइमा रहेको छ । राष्ट्रीय जनगणना २०७८ अनुसार कुल जनसंख्या ४९८९७ रहेकाे छ |
केन्द्रः साविक प्रतापपुर गा.वि.स.को कार्यालय
क्षेत्रफलः ६९.४९
वडा संख्याः ९
प्रतापपुर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जमुनिया(३,५-७,९) | ४८०४ | ७.१५ |
२ | २ | जमुनिया (२,४) सोमानी (१,३) | ५१२९ | ८.०६ |
३ | ३ | सोमानी(२,४-९) | ५६६२ | ६.५३ |
४ | ४ | ठूलोखैरतवा(१-९) | ५४९७ | ८.१६ |
५ | ५ | वैदोली(१-९) | ६५०८ | ८.३१ |
६ | ६ | गुठीप्रसौनी(१-५,८) | ५०८५ | ७.०२ |
७ | ७ | गुठीसुर्यपुरा(१-९) | ५७७० | ११.८७ |
८ | ८ | प्रतापपुर (५,६) गुठिप्रसौनी (६,७,९) | ५३३७ | २.०६ |
९ | ९ | प्रतापपुर(१-४,७-९) | ६१०५ | १०.३३ |
जम्मा | ४९८९७ | ६९.४९ |
प्रतापपुर गाउँपालिकाको नक्सा
७ सरावल गाउँपालिका – नेपालमा पहिलोपटक भएको संविधान सभा बाट संविधान निर्माण भइ सदियौ देखि रहेको एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्था बाट संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रुपमा रुपान्तरण गर्ने क्रममा नयाँ व्यवस्था गरिएका ७५३ स्थानीय तह मध्ये नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम ) जिल्लामा ७ स्थानीय तहको व्यवस्था भएको छ | जस मध्ये सरावल गाउपालिका चुरे पहाड देखि भारतको सिमाना सम्मको भूभाग ओगटेको अत्यन्तै सम्भावन बोकेको सुन्दर , उर्वर भूमि , औधोगिक , कृषि , पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको क्षेत्र हो |
साविक तिलकपुर , मनरी , सरावल , बडहरादुबौलिया , रामपुर खडौना र भुजहवा गा.वि.स . मिलाएर सरावल गाऊपालिका गठन भएको हो | यसको केन्द्र साविक सरावल गा.वि.स. को कार्यालयमा रहेको छ |२०७८ को जनगणना अनुसार ४२२०७ जनसंख्या रहेको यस गाऊँपालिकाको क्षेत्रफल ७३.१९ वर्ग कि. मि. रहेका छ | यस गाऊँपालिकको पूर्वमा प्रतापपुर र बर्दघाट नगरपालिका , पश्चिममा पाल्हिनन्दन गाऊँपलिका र रामग्राम नगरपालिका उत्तरमा बर्दघाट र सुनवल नगरपालिका , दक्षिणमा भारत पर्दछन् | जातीय , भाषिक र सांस्कृतिक विविधता भित्रको एकता विशेषताको रुपमा रहेको यस गाऊँपलिकाको मुख्य पेशा कृषि भएपनि व्यापार सरकारी अर्धसरकारी र वैदेशिक रोजगारी आर्थिक श्रोतको रुपमा रहेको छ |
केन्द्रः साविक प्रतापपुर गा.वि.स.को कार्यालय
क्षेत्रफलः ७३.२
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तिलकपुर(१-६,९) | ६७२७ | १६.७९ |
२ | २ | तिलकपुर (७,८) मनरी (१,५-८) | ६४४४ | १०.९९ |
३ | ३ | मनरी (२-४,९) सरावल (१-६) | ६१०२ | ११.९१ |
४ | ४ | सरावल (७-९) बडहरादुबौलिया (१,३,४) | ५८९६ | ९.७७ |
५ | ५ | बडहरादुबौलिया(५-९) | ४४४४ | ५.६१ |
६ | ६ | रामपुरखडौना (१-९) वडहरा दुवौलिया (२) भुजहवा (२) | ६६७७ | ११.३५ |
७ | ७ | भुजहवा(१,३-९) | ५९१७ | ६.७८ |
जम्मा | ४२२०७ | ७३.२ |
सरावल गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र जिल्ला कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
पश्चिम नवलपरासी जिल्लाको परिचयमा उल्लेख भएका बिषयमध्ये जिल्लाको क्षेत्रफल र जिल्लाको सबैभन्दा अग्लो स्थानको उचाईमा २ स्थानमा फरक फरक उल्लेख गरिएको छ । वास्तविकता के हो छानविन गरेर अपडेट गर्नु भएमा कामकाज गर्न सहज हुने थियो ।
जिल्ला तथा स्थानीय पालिकाहरुको परिचयमा साक्षरता दर लगायत धार्मिक जनसंख्याको आधारमा प्रतिशत छुट्याईएको पाईएमा अध्ययनका लागि सहज हुने थियो