दैलेख जिल्लाको परिचय
दैलेख जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत भेरी अञ्चलमा पर्ने र हाल आएर कर्णाली प्रदेश अन्तरगत पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम “दैलेख” कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन् । पौराणिक कालमा दधिचि नाम गरेका एक जना ऋषिले यस क्षेत्रमा तपस्या गरी बसेकाले उनै महर्षिको नामबाट दधिचि लेक भन्न थालिएको र कालान्तरमा त्यहि नाम अपभ्रंश हुदै दैलेख रहन गएको भन्ने एक कथन छ । अर्काे जनश्रुती अनुसार पौराणिक कालमा यो क्षेत्र देवताहरुको बासस्थान भएकोले देवलोकबाट दैलेख हुन पुगेको हो भन्ने भनाई छ । यसैगरी अर्काे एक पौराणिक कथन अनुसार प्राचिन समयमा ठूलो बनक्षेत्र भएको र यहाँका लेकहरुमा ठूलो संख्यामा गाई भैंसी पाल्ने गरेकाले प्रसस्त मात्रामा दूध दही पाइने हुनाले यसको नाम “दहिलेक” भएको र समय अन्तरालमा यस नामको अपभ्रंश हुदै दैलेख रहन गएको हो भन्ने पनि गरिन्छ ।

दैलेख जिल्लाको ऐतिहासिक चिनारी
प्राचीन र मध्यकालिन समयमा हालको दैलेख जिल्ला दुल्लु र बेलासपुर गरी दुई राज्यमा विभाजित थियो र ई.स. १७८९ मा नेपाल एकिकरण अभियानको शिलसिलामा बहादुर शाहबाट यी दुई राज्यहरुको एकिकरण गरेको तथ्य ऐतिहासिक बर्णनहरुमा पाइन्छ । दैलेख जिल्ला सदरमुकामस्थित पुरानो बजारमा रहेका ठूल्ठूला कुंदिएका पत्थरहरुले बनेको प्रसिद्ध कोतगढी युद्ध किल्लाको रुपमा निर्माण गरिएको विश्वास गरिन्छ भने विभिन्न स्थानमा रहेका मन्दिर, देवल, कीर्तिखम्बा, शिलालेख आदिले यहांको ऐतिहासिक जानकारी आफैं दिइरहेका छन् ।
दैलेख जिल्लाको भौगोलिक अवस्थिति
प्राचिन कालदेखि नै पवित्र भूमिका रुपमा चिनिएको दैलेख जिल्लाको क्षेत्रिय सदरमुकाम–वीरेन्द्रनगर, सुर्खेतबाट ६८ कि.मि. र राजधानी–काठमाडौंबाट करबि ६५० कि.मि. टाढा रहेको छ । यस जिल्लाको पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला पर्दछन् । आर्थिक दृष्टिकोणबाट सम्पन्न नभए तापनि प्राकृतिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले यो जिल्ला समृद्ध नै मानिन्छ । यस जिल्लाको सदरमुकाम दैलेख बजार हो । नेपाल अधिराज्यको मानचित्रमा यस जिल्लाको भौगोलीक अवस्थिती निम्नानुसार रहेको छ ।
क) अक्षांश— २८०३५ देखि २९०८ उत्तर
ख) देशान्तर— ८१०२५ देखि ८१०५३ पूर्व
ग) समुद्र सतहदेखि उंचाई
न्युनतम– ५४४ मि. (तल्लो डुगेंश्वर–कर्णाली नदी किनार)
अधिकतम– ४१६८ मि. (महाबुलेक, उत्तरी सिमाना)
सदरमुकाम– १४४८ मि. (देवकोटा चौक, दैलेख बजार)
घ) धरातल –पहाडक्षेत्र -८०%, उच्च पहाडी क्षेत्र – २०%
ङ. कुल क्षेत्रफल – १५०५ वर्ग कि.मि. (१,५०,०५१ हेक्टर)

दैलेख जिल्लाको हावापानी
दैलेख जिल्ला विविध भौगोलिक भू–बनावट संगै हावापानीमा पनि विविधता बोकेको जिल्ला हो, जहाँ सांगुरो उपत्यका देखि पर्वतश्रृंखलाको भिरालो पहाडहरुमा उष्ण–उपोष्ण देखि लिएर समशितोष्ण र शितोष्ण जलवायु पाइए तापनि खासगरी समशितोष्ण जलवायुको प्रधानता रहेको पाइन्छ । यो जिल्ला पहाडै पहाडले भरिएकाले हिउंदमा लेकहरुमा हिंउ पर्ने र ठण्डा हावाको प्रभावले गर्दा चिसो रहन्छ भने गृष्म ऋतुमा केही गर्मी भएको अनुभव हुन्छ ।यसैगरी चैत्र–बैशाख महिनामा हुरी चल्ने, वर्षा ऋुतुमा मनसुनी वर्षा हुने तथा हिउंदमा ढिलो र कम वर्षा हुने, आदि यस जिल्लाका हावापानी सम्बन्धी विशेषताहरु हुन् । जिल्लाको औसत मौसमी विवरण निम्नानुसार रहेको छ ।
क) औसत तापक्रम
अधिकतम – ३४.०० से.
नयूनतम – ५.०० से.
ख) औसत वार्षिक वर्षाः १७०० मि.मि.
जलवायु
उपोष्णः ५४४ – १२०० मिटर
समशितोष्ण ¬ १२०० – १८०० मिटर
शितोष्ण – १८०० – २३०० मिटर
ठण्डा लेकाली – २३०० माथिका भू–भाग

दैलेख जिल्लामा वसोवास गर्ने प्रमुख जातजाती, भाषा र धर्म
जातजाती – क्षेत्री (३४.८%), कामी (१५.३३%), ठकुरी (१४%), व्राम्हण (१२%), मगर (९.८७ %), दमाई (४.४५ %),सार्की (२.७५%), सन्यासी (१.६१ %), सुनार(१.५८ % ), गुरु¨ (१.४३ % )आदि ।
भाषा – नेपाली –९८.९८ %), गुरु¨ ÷मगर (०.४६ %),अन्य (०.५६ %)
धर्म – हिन्दु –९८.३२ %), वौद्ध (१.४५ %), इस्लाम(०.०८ %), अन्य (०.१५ %)
दैलेख जिल्लामा रहेका धार्मिक स्थलहरु
प्राचीन कालदेखि नै देवभूमी र पवित्र भूमीका रुपमा प्रसिद्ध दैलेख जिल्लामा करीब ९९.५% हिन्दू धर्मावलम्बीहरु छन् र यिनीहरुको राष्ट्रिय भाषा नेपाली हो । जिल्लाका प्रमुख धार्मिक स्थलहरुमा श्रीस्थान, नाभीस्थान, पादुकास्थान, तल्लोडुेश्वर कोटिला र धुलेश्वर पर्दछन्, जसलाई पञ्चकोशि पनि भनिन्छ । यिनीहरु मध्ये श्रीस्थान, नाभिस्थान र पादुकास्थानमा परापूर्वकालदेखि ज्वाला प्रज्वल्लित छन् । नारायण, बेलासपुर भैरव, बज्रभैरव, गणेश, चामुण्डा देवी, कालिकादेवी, भवानी, डुगेश्वर, विन्द्रासैनी, छडदेवी, मालिकादेवी, बुकिमाई, भैरवी, आदि दैलेख जिल्लामा भएका मूख्य मन्दिरहरु हुन् ।
दैलेख जिल्लामा रहेका ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु
महावुगाथ, कोतगढी, पञ्चदेवल, कीर्तिखम्बा, पाथरनाउली, दुल्लु, धाउखानी गुफा, लालीकांडाको गुफा, धौलापडा गुफा, दुल्लुको पौवा, सातखम्ब, भैरवकुण्ड, द्वारीको झरना, तोलिजैसीको ठूली छहारी, घोडाताल, विसल्ला मदान ताल, कुइकाना देवल, लकान्द्र, भिमको पाइला, बागढुगा, नेपाली भाषाको पुरानो र पहिलो शिला शिलालेख (दुल्लु), जाहरकोट, राइली, त्रिपानी, बडाभैरवको शिखर, आदि दैलेख जिल्लाका प्रमुख ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु हुन् ।
दैलेख जिल्लामा रहेका प्राकृतिक सम्पदा–खनिज पदार्थ र जडिबुटिहरु
दैलेख जिल्ला आफैमा प्राकृतिक सम्पदाको धनी जिल्ला हो । विविध भू–बनावट र हावापनीका कारण विभिन्न जातका बनस्पति तथा जडिबुटिहरु, पशुपंक्षी, झरना–नदिनाला, तालतलैया, गुफा, खनिज पदार्थ आदि यहाँका मूख्य प्राकृतिक सम्पदाहरु हुन् । यस जिल्लाले आफ्नो गर्भमा अनेकौं खनिज पदार्थहरुलाई बोक्ने सौभाग्य पाएको छ । भु–गर्भविदहरुका अनुसार यस जिल्लाको पादुका, बडलम्जी र गमौडी गाविसहरु (पादुकास्थान, श्रीस्थान र नाभिस्थान) मा मट्टितेल, पेट्रोल र प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको छ । यसैगरी यहाँ पाइने घरको छाना छाउने स्लेट ढुंगा यस क्षेत्रमै प्रख्यात छ भने तामा, फलाम, अभ्रख, काइनाइट, गोमेद, माइका, गन्धक, खरीढुंगा, चुनढुंगा, आदि यस जिल्लामा पाइने प्रशस्त सम्भावना भएका तर हाल सम्म उपयोगमा ल्याइनसकिएका खनिज पदार्थहरु हुन् । जडिबुटिको हकमा पदमचाल, झ्याउ, बाक्रो, सुनकाउली, कुटकुव, सतुवा, मुङरिलो, घोडा, भारतो, बाबिरो, बासक, रायेरोइनी (सिंदुरे) लाह, लालगेडी, रिट्ठा, भकिम्लो, बोझो, टिमुर, दालचिनी, लोकता, चिराइतो, सुगन्धकोकिला (मलायागिरी), जटामसी, समायो, आदि यहाँका जंगलमा पाइन्छन् ।
दैलेख जिल्लामा रहेका साना ठूला नदीनालाहरू
दैलेख जिल्लामा साना ठूला गरी प्रसस्त नदी र खोलानालाहरु भएतापनि नेपालको दोश्रो ठूलो नदीको रुपमा चिनिने कर्णाली नै यहांको मूख्य नदी हो । यस नदिले लंकारी दह (राक्षस ताल) बाट निस्की कर्णाली प्रदेश हुंदै यस जिल्लाका सिंगासैन र पिपलकोट गाविस बाट प्रवेश गर्दछ र करीब ६० कि.मि. सम्म यस जिल्लाको पश्चिमक्षेत्र र अछाम जिल्लाको सिमाना छुट्याउने काम गर्दछ । यस जिल्लाको लेकहरुबाट उत्पन्न छामगाड, रामगाड, लोहरे, ताराघाट, तामेद्वारी, पादुका, कट्टि, पराजुलखोला, सानाखोला, रतिखोला, आदि यहांका मूख्य खोलाहरु हुन् । प्रायः जसो यी सबै खोलाहरु कर्णाली नदीमा मिसिन्छन् । यी खोलाहरुबाट दैलेख जिल्लामा केही हदसम्म सिंचाई सुविधा प्राप्त भइरहेको छ भने जल विद्युत विकासका प्रशस्त संभावना रहको देखिन्छ ।

दैलेख जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
दैलेख जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार दैलेख जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | नारायण नगरपालिका | नारायण नगरपालिका, भवानी, बिन्ध्यवासिनी र खरिगैरा गा.वि.स. वडा नं. ८,९ | ११ |
२ | दुल्लु नगरपालिका | दुल्लु नगरपालिका वडा नं. १-९, मालिका, गौरी, कालभैरव र गमौडी गा.वि.स. | १३ |
३ | चामुण्डा विन्द्रासैनी नगरपालिका | लयाँटी बिन्द्रासैनी, चामुण्डा र जम्बुकाँध गा.वि.स. | ९ |
४ | आठबीस नगरपालिका | सात्तला, सिंगौडी, राकमकर्णाली, पिपलकोट, सिंहासैन र तिलेपाटा गा.वि.स. | ९ |
५ | भगवतीमाई गाउँपालिका | पगनाथ, रूम, मेहेलतोली, जगनाथ, कट्टी र वडाभैरव गा.वि.स. | ७ |
६ | गुराँस गाउँपालिका | खड्कवाडा, बराह, सेरी, गोगनपानी, पिलाडी र लालिकाँडा गा.वि.स. | ८ |
७ | डुंगेश्वर गाउँपालिका | बेल्पाटा, लाँकुरी, अवलपराजुल र डाँडापराजुल गा.वि.स. | ६ |
८ | नौमुले गाउँपालिका | तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी र चौराठा गा.वि.स. | ८ |
९ | महावु गाउँपालिका | खरिगैरा गा.वि.स.वडा नं १-७, बडाखोला, बाँसी, रानीवन र काँशीकाँध गा.वि.स. वडा नं १,२,३,४,५,६,७,९ | ६ |
१० | भैरवी गाउँपालिका | भैरीकालिकाथुम, कुसापानी, रावतकोट, काँशीकाँध गा.वि.स. वडा नं. ८ र दुल्लु नगरपालिका वडा नं. १० | ७ |
११ | ठाँटीकाँध गाउँपालिका | लकान्द्र, विशाला र तोलीजैसी गा.वि.स. | ६ |
जम्मा | ९० |
१. नामः नारायण नगरपालिका
नारायण नगरपालिका नेपालको कर्णाली प्रदेशको मुटु नजिकै अवस्थित सुन्दर पहाडी नगरपालिका हो । नेपाल सरकारको घना बस्ती भएको क्षेत्रहरुलाई जनसख्ंयाको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न बनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.सं. २०५३ सालमा भौतिक पुर्वाधार विना नै स्थापना भएको हो । दैलेख एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला हो भने यो जिल्लामा हालको संघीय संरचना अनुसार ४ वटा नगरपालिका र ७ वटा गाँऊ पालिका रहे अनुसार नारायण नगरपालिकामा जिल्लाको प्रशासनिक केन्द्र र सदरमुकाम रहेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत भन्दा ६७ किलोमिटर उत्तरतर्फ रहेको यस नगरपालिका समुन्द्र सतहदेखि कम्तीमा न्यूनतम(चुप्रा)८२० र अधिकतम(ओखरबास)१६८०मी उचाई र न्यूनतम तापक्रम ५ डिग्री र अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस तथा औषत १८०० मिमि वर्षा रहने यस न.पा को क्षेत्रफल ११०.६३ वर्ग किलोमिटरमा अवस्थित छ । समशितोष्ण हावापानी पाइने र र ११ वटा वडा रहेका छन ।
पूर्वमा भगवतीमाई गाउँपालिका,पश्चिममा दुल्लु नगरपालिका, दक्षिणमा डुंगेश्वर गाउँपालिका र उत्तरमा महावु र नौमुले गाउँपालिकाले घेरेको यस नपाका बहुसंख्यक मानिसहरु कृषि क्षेत्रमा नै निर्भररहेका छन ।दैलेख जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालिकामा कोटिला,कोतगढी,वेलासपुर मन्दिर,पञ्चदेवल कृतिदेवल ,वागमानी,राइली त्रिपानी जस्ता पर्यटकीय स्थलहरुसमेत रहेका छन भने सावँरको छालाको लागि नेपालकै प्रसिद्ध ठाँउको रुपमा दैलेख जिल्ला चिनिने भएकोले सावँरको छाला उत्पादन पनि यसै नारायण नगरपालिका अन्तर्गत पर्ने गर्दछ । ब्राम्हण, क्षेत्री, ठकुरी,गुरुङ्ग,मगर नेवार ,दमाई,सार्की,विश्वकर्मा आदिजस्ता जातजातीहरुको बसाई रहेको यस नपामा बहुसंख्यक मानिसहरु नेपाली भाषा नै प्रयोग गर्दछन ।
केन्द्रः साविक नारायण नगरपालि
जनसङ्ख्याः २६१११ (२०७८ अनुसार)
क्षेत्रफलः ११०.६३ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नारायण(१) | ३७२५ | ६.९८ |
२ | २ | नारायण(२) | २१७९ | ८.७९ |
३ | ३ | नारायण(३) | १८६६ | ६.५४ |
४ | ४ | नारायण (४) र खरिगैरा (८,९) | २४०१ | १८.६९ |
५ | ५ | नारायण(५) | १८७२ | ७.५१ |
६ | ६ | नारायण(६) | ३३३१ | ३.६३ |
७ | ७ | नारायण(७) | २३०२ | ७.६३ |
८ | ८ | नारायण(८) | १६४७ | ४.५ |
९ | ९ | नारायण(९) | २१७८ | ८.७५ |
१० | १० | भवानी(१ – ९) | २०१८ | १३.२७ |
११ | ११ | बिन्ध्यवासिनी(१ – ९) | २५९२ | २४.३४ |
जम्मा | २६१११ | ११०.६३ |
नारायण नगरपालिकाको नक्सा
२. नामः दुल्लु नगरपालिका
बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुल्लू रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।
नेपाल एकिकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएतापनि वि.सं. २०१८ सम्म यो छुट्टै राज्यको रुपमा रहेकै थियो । ततपश्चत दुल्लू राज्य विघठन भएर दैलेख जिल्लामा गाभिएको थियो । पछि दुल्लू राज्यका सबै दराहरुलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइएका थिए ।
पछिल्लो समय सम्म एक सानो गाउँ विकास समितिको रुपमा रहेको दुल्लूमा आसपासका ६ वटा गा.वि.स हरु (दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट) लाई समायोजन गरी वि.सं. २०७१ बैसाख २५ गत्ते दुल्लू नगरपालिका घोषणा भई २०७१ जेष्ठ ५ गते विधिवत रुपमा स्थापना गरिएको हो राज्य पुनरसंरचनाको क्रममा २०७३ साल फागुन २७ गते साविकका गमौडी, कालभैरव, गौरी र मालिका गाउँ विकास समितिहरु समेत समायोजन भइ दुल्लू नगरपालिकाको क्षेत्र विस्तार भएको हो ।
केन्द्रः साविक दुल्लु नगरपालि
जनसङ्ख्याः ३९१४३ (२०७८ अनुसार)
क्षेत्रफलः १५६.७७ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | दुल्लु(१) | २३६० | १३.१५ |
२ | २ | दुल्लु(२) | २८१२ | १०.६३ |
३ | ३ | दुल्लु(३) | ३२९१ | १५.९१ |
४ | ४ | दुल्लु(४) | २६२६ | ७.१७ |
५ | ५ | दुल्लु(५) | ३४६३ | ११.९५ |
६ | ६ | दुल्लु (६) र मालिका (७,८) | ३७६४ | १६.७५ |
७ | ७ | दुल्लु(७) | १६९० | ३.७८ |
८ | ८ | दुल्लु(८) | ३६७७ | १०.७७ |
९ | ९ | दुल्लु(९) | ३२९४ | १३.५६ |
१० | १० | गमौडी(१ – ९) | २७४१ | १३.०६ |
११ | ११ | कालभैरव(१ – ९) | ३२७३ | १३.५१ |
१२ | १२ | गौरी(१ – ९) | २६१७ | १०.४६ |
१३ | १३ | मालिका(१,२,३,४,५,६,९) | ३५३५ | १६.०७ |
जम्मा | ३९१४३ | १५६.७७ |
दुल्लु नगरपालिकाको नक्सा
३. नामः चामुण्डा बिन्द्रासै
चामुण्डाबिन्द्रासैनी नगरपालिका २८0५२’०२.८०” डिग्री उत्तरी अक्षांश देखि २९0००’९६.८७” उत्तरी अक्षांश सम्म र २८0३१’२५.३७” देखि ८१0३६’१६.८०” पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको क्षेत्रफल ९०.६० वर्ग कि.मि. छ । समुन्द्री सतह देखि न्यूनतम ६०० मिटर र अधिकतम ३००० मिटर सम्मको उचाइमा रहेको यो नगरपालिकाको सदरमुकाम १३५० मिटरको उचाइमा जम्बुकाँधमा रहेको छ । यस नगरपालिकाको कूल भू-भाग मध्ये १२०५८ हेक्टर वनजंगल र ३७४५ हेक्टर क्षेत्रफल खेति योग्य जमिनले ओगटेको छ । यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकको चामुण्डा गा.वि.स. र ल्याँटीविन्द्रासैनी गा.वि.स. को नामबाट गरिएको छ ।
यस नगरपालिकाको पूर्वमा भैरवी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् । स्थानीय तहको पुनर्सरंचना गरिँदा यो नगरपालिका साविकका चामुण्डा गा.वि.स., जम्बुकाँध गा.वि.स. र लयाँटीबिन्द्रासैनी गा.वि.स. लाई एकीकरण गरी चामुण्डाबिन्द्रासैनी नगरपालिका नामाकरण गरी पुनर्संरचना गरिएको छ । भौगोलिक स्वरुप अनुसार यो नगरपालिका उत्तर दक्षिण भएर फैलिएको छ । पूर्वमा पर्ने देउगाड खोला, पश्चिममा पर्ने रामगाड खोला र दक्षिणमा अविरल वगिरहेको कर्णाली नदी यस नगरपालिकाका ठूला जल सम्पदाहरू हुन् । यसको सदरमुकाम साविकको जम्बुकाँध गा.वि.स. को जम्बुकाँधमा रहेको छ ।
यस नगरपालिकाको नामाकरण गरिँदा नै चामुण्डा र बिन्द्रासैनी देवीको नामबाट गरिएकोले यो नगरपालिका धार्मिक तथा सांस्कृतिक रुपले पनि भरिपूर्ण रहेको छ । बिन्द्रासैनी देवीको मन्दिर, चामुण्डा देवीको मन्दिर, दक्षिण भेगमा अवस्थित स्वामिकार्तिकको मन्दिर, पूर्वी भेगमा अवस्थित पवित्र पञ्चकोशी तीर्थस्थल अन्तर्गतको पादुकास्थान र भैरवी, वडा नं. ३ मा रहेको भैरव मन्दिर वडा नं. ७ को मन्दिर, वडा नं. ५ को खापरथान मन्दिर, वडा नं. ७ मा रहेको देवती र पूर्णामाला मन्दिर यहाँका महत्वपूर्ण धार्मिक स्थलहरू हुन ।
दैलेख जिल्ला विभिन्न जातजातिहरूको उद्गम स्थलको रुपमा रहेको कुरा इतिहासकारहरुले व्याख्या गरेका छन् । यो नगरपालिका पनि दैलेख जिल्लाका एघार वटा स्थानीय तह मध्येको एक जातीय विविधता युक्त नगरपालिका हो । यस नगरपालिकामा वाहुन (उपाध्याय, न्यौपाने, रेग्मी, चौलागाइ, ढकाल, खनाल, सापकोटा, अधिकारी, कंडेल, सुवेदी, भट्टराई, रिजाल, देवकोटा), ठकुरी (रास्कोटी, सोबन्सी, चन्द, सिंह, हमाल, कल्याल, रखाल), क्षेत्री (भण्डारी, थापा, विष्ट, खड्का, खत्री, घर्ती, बुढा, बोहोरा, रावत, सावद, कार्की, रोकाया क्षेत्री), जनजाती (गुरुङ, मगर, लामा, तामाङ्ग), दलित (दमाई, कामी, सावन, सार्की, रोकाया, वादी), दशनामी (गिरी, योगी) आदि जातजातीहरूको मुख्य बसोबास रहेको छ ।
केन्द्रः साविक जम्बुकाँध गा.वि
जनसङ्ख्याः २६५५९ (२०७८ अनुसार)
क्षेत्रफलः ९०.५९ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चामुण्डा(१,९) | २६८० | ११.०१ |
२ | २ | चामुण्डा(२,३,८) | २९६५ | १२.९ |
३ | ३ | चामुण्डा(६,७) | २६४६ | ९.२८ |
४ | ४ | चामुण्डा(४,५) | ३३७० | १०.८२ |
५ | ५ | जम्बुकाँध(५,६,७,८,९) | ३४४३ | ८.४५ |
६ | ६ | जम्बुकाँध(१,२,३,४) | ३५९३ | ११.६८ |
७ | ७ | लयाँटी बिन्द्रासैनी(१,३,७) | ३१०८ | १४.६२ |
८ | ८ | लयाँटी बिन्द्रासैनी(२,४,८) | २८९४ | ५.९९ |
९ | ९ | लयाँटी बिन्द्रासैनी(५,६,९) | १८६० | ५.८४ |
जम्मा | २६५५९ | ९०.५९ |
चामुण्डा विन्द्रासैनी नगरपालिकाको नक्सा
४. नामः आठबीस नगरपालिका
दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि २२ कोष पश्चिम क्षेत्रमा चामुण्डा विन्द्रासैनी नगरपालीका र ठाटिकांध गाउपालीकासंगै सिमाना जोडिएको आठवीस नगरपालिका साविकका ६ वटा गाविसहरु (साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटा ) एकआपसमा गाभिएर संघीय पुनसंरचना आयोगको प्रतिवेदन बमोजिम मिति २०७३ फाल्गुण २७ गतेदेखि आठवीस नगरपालिका बनेको हो । यस क्षेत्रमा उद्योग व्यापार पर्यटन, कृषि ,पशुपालनको उच्च सम्भावना रहेको छ ।
जातीय रुपमा मिश्रित बसोबास रहेको यस नगरपालिकामा क्षेत्री जातिको बाहुलयता रहेको छ । विशेष गरी क्षेत्री, ब्राहमण, ठकुरी , दलित तथा मगरहरुको उच्च बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका साथै केही भु–भाग भिरालो जमिनले बनेको हुदाँ यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिका अतिरिक्त ज्याला मजदुरीमा काम गर्नका लागि भारत लगायत अन्य देशहरुमा जाने गरेको पाइन्छ ।
नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठवीस नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।
दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणीय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो नगरपालिका रहेको छ ।
केन्द्रः साविक राकमकर्णाली गा.
जनसङ्ख्याः ३१०९२ (२०७८ अनुसार)
क्षेत्रफलः १६८ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सात्तला(१ – ८) | ४४६६ | ३२.३८ |
२ | २ | सात्तला (९) र सिंगौडी (१ – ५) | २९७९ | १८.६९ |
३ | ३ | सिंगौडी(६,७,८,९) | ३२८९ | २३.६१ |
४ | ४ | राकमकर्णाली(१ – ९) | ३६३१ | १२.०६ |
५ | ५ | पिपलकोट(१ – ९) | ३५८६ | ३३.८९ |
६ | ६ | सिंहासैन(५ – ९) | ४१९९ | २१.०८ |
७ | ७ | तिलेपाटा (१,२,३,६) र सिंहासैन (३) | ३२४४ | ६.७१ |
८ | ८ | तिलेपाटा(४,५,७,८,९) | ३२३६ | ११.३८ |
९ | ९ | सिंहासैन(१,२,४) | २४६२ | ८.२ |
जम्मा | ३१०९२ | १६८ |
आठबीस नगरपालिकाको नक्सा
५. नामः भगवतीमाइ गाउँपालिका
दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस मध्येको एक गाउँपालिकाको नाम हो भगवतिमाई गाउँपालिका ।पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ ।यस गाउँपालिकामा ७वटा वडाहरु(क्रमश पगनाथ,रुम,मेहेलतोलि,जथनाथ,कट्टिर वडाभैरव रहेका छन् ।मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ ।
केन्द्रः बेस्तडाबजार
जनसङ्ख्याः १८२०६ (२०७८ अनुसार)
क्षेत्रफलः १५१.५२ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पगनाथ(१ – ९) | २५१५ | १६.२२ |
२ | २ | रूम(१ – ९) | २३१५ | ११.९५ |
३ | ३ | मेहेलतोली(१ – ९) | ३०१८ | ३१.८४ |
४ | ४ | जगनाथ(१ – ९) | २५४२ | २९.०७ |
५ | ५ | कट्टी(१,५,६,९) | २१४२ | १४.४८ |
६ | ६ | कट्टी(२,३,४,७,८) | ३१४९ | २७.८३ |
७ | ७ | बडाभैरव(१ – ९) | २५२५ | २०.१३ |
जम्मा | १८२०६ | १५१.५२ |
भगवतीमाई गाउँपालिकाको नक्सा
६. नामः गुँरास गाउँपालिका
दैलेख जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको गुराँस गाउँपालिका, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ कि.मि.को दुरीमा रहेको छ । तत्कालिन वराह,सेरी,खड्कवाड,गोगनपानी,पिलाडि,लालिकाँडा गा.वि.स.हरुलाई जोडेर हालको गुराँस गाउँपालिकाको निर्माण गरिएको हो ।झट्ट हेर्दा नेपालको नक्शा जस्तो देखिने गुराँस गाउँपालिका समुन्द्री सतहबाट सवै भन्दा कम ५४४ मिटरमा रहेको वडा नं. २ स्थित तल्लो डुङ्गेश्वर प्रसिद्ध कर्णाली नदीको किनारमा कर्णाली राजमार्गमा अवस्थित छ । भने सवैभन्दा वढी उचाई रहेको वडा नं.७ स्थित मालिका कोप्ची जाजरकोट जिल्लाको सिमानामा रहेको छ ।
करिब १६४.७९ वर्ग किलोमिटर क्षेत्रफल रहेको गुराँस गाउँपालिका व्यवसायीक आलु तथा तरकारी उत्पादन र पर्यटनको कारणले प्रख्यात रहेको छ । यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उदेश्यले वर्षेनी हजारौ आन्तरिक र बाहेक पर्यटनहरु आउने गर्दछन् । गुराँस गाउँपालिकामा संचालित सवैजसो होटेलहरु लोकल कुखुरा कर्णाली तथा लोहोरे खोलाको माछा र स्थानीय खानेकुराको कारणले भरिभराउ हुने गरेको पाईन्छ । यहाँको बार्षिक औषत तापक्रम २५ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयस सम्म रहेको छ । सम्भतः कर्णाली प्रदेशको राजधानीबाट प्रदेशका अन्य पहाडी र हिमाली जिल्लाहरुमा जानको लागि मुलद्धारको रुपमा रहेको गुराँस गाउँपालिका कृषि,पशुपंक्षि,वन,जडीबुटी,पर्यटन तथा साना अन्य उद्योगहरुको लागि उपयुक्त स्थान रहेको छ ।
केन्द्रः साविक बराह गा.वि.स.को
जनसङ्ख्याः २११८९ (२०७८ अनुसार)
क्षेत्रफलः १६४.७९ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खड्कवाडा(४,७,८,९) | २१३१ | १७.७५ |
२ | २ | खड्कवाडा (१,२,३) र बराह (८,९) | २७३३ | १०.३५ |
३ | ३ | खड्कवाडा (५,६),बराह (६,७) र सेरी (१-५) | २६२२ | १३.९७ |
४ | ४ | बराह (१-५) र सेरी (६-९) | ३३२७ | २२.६७ |
५ | ५ | गोगनपानी(१ – ९) | ३४२१ | ३०.३७ |
६ | ६ | पिलाडी(१ – ९) | २७९३ | २२.५५ |
७ | ७ | लालिकाँडा(५ – ९) | १९०१ | ३२.७८ |
८ | ८ | लालिकाँडा(१ – ४) | २२६१ | १४.३४ |
जम्मा | २११८९ | १६४.७८ |
गुराँस गाउँपालिकाको नक्सा
७. नामः डुङ्गेश्वर गाउँपा
नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णायानुसार साविकका ४ वटा गाविसहरु बेलपाटा, लाँकुरी, अवलपराजुल, डाँडापराजुल लाई एक आपसमा गाभेर मिलाइ ६ वटा वडामा विभाजन गरी यो डुङ्गेश्वर गाउँपालिकाको संरचना तयार पारिएको हो । कुल १०५.२० बर्ग कि.मी. क्षेत्रफमा फैलिएको यो गाउँपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलकाे हिसाबले तेस्रोे सानोे स्थानीय तह हो ।
दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर गाउँपालिकामा थोरै साधन र स्रोतको लगानीवाट गाउँपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो गाउँपालिका रहेको छ ।
मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ठकुरी, गुरुङ्ग , मगर, कामी, दमाईको बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक जाति गाइने र वादी जातिको पनि बसोबास रहेको छ । हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन । धार्मिक तथा सांस्कृतिक रुपमा डुंगेल मन्दिर, भैरव मन्दिर, नारायण मन्दिर रहेका छन् । प्राकृतिक स्रोत साधनको रुपमा पराजुलीखोला, कुईंया ताल, स्लेट खानी, बनजंगल रहेको छ ।
केन्द्रः साविक डाँडापराजुल गा.
जनसङ्ख्याः १४५३३ (२०७८ अनुसार)
क्षेत्रफलः १०५.१९ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बेल्पाटा(१ – ९) | २७७९ | १०.०८ |
२ | २ | लाँकुरी(१ – ९) | २९६९ | २४.४७ |
३ | ३ | अवलपराजुल(१ – ४) | १८०७ | २८.१२ |
४ | ४ | अवलपराजुल(५ – ९) | २२१६ | ८.७३ |
५ | ५ | डाँडापाराजुल(१,२,३,५,६,) | २०१६ | १५.२४ |
६ | ६ | डाँडापराजुल(४,७,८,९) | २७४६ | १८.५६ |
जम्मा | १४५३३ | १०५.२ |
डुंगेश्वर गाउँपालिकाको नक्सा
८. नामः नौमुले गाउँपालिका
नेपालको संविधान अनुसार कर्णाली प्रदेशका जिल्लाहरु मध्येको दैलेख प्राकृतिक तथा सांस्कृतिक रुपमा सुन्दर र हराभरा भएको जिल्ला हो | दैलेखलाइ स्थानीय रुपमा ४ नगरपालिकाहरु नारायण, दुल्लु, चामुन्डाविन्द्रासैनी र आठविस नगरपालिका तथा ७ गाउँपालिकाहरु गुँरास, डुङ्गेश्वर, भगवतिमाई, नौमूले, भैरवी, महाबु र ठाँटीकाँध गाउँपालिकामा बिभाजन गरिएको छ | यस मध्येको नौमूले गाउँपालिका साबिकको तोली, बालुवाटार, द्धारि, कालिका, नौमूले, सल्लेरी र चौराठा गाविसहरु समेटेर निर्माण गरिएको हो |
हाल गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् l गाउँपालिकाको केन्द्र नौमूले बजारमा रहेको छ | यस गाउँपालिकाको भूभागले नारायण नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाइ गाउँपालिकालाइ छोएको छ | मूल रुपमा जनजातिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य गरी हिन्दू र बौद्ध धर्म मान्नेहरूको बाहुल्यता छ | पर्यटकीय क्षेत्रका रुपमा द्धारिखोला झरना, नौमूल क्षेत्र लगायतका क्षेत्रहरु रहेका छन | गाउँपालिकामा जडिवुटी तथा जलविद्दुत तको प्रचुर सम्भावना रहेको छ ।
केन्द्रः साविक नौमुले गा.वि.स.
जनसङ्ख्याः १९६८७ (२०७८ अनुसार)
क्षेत्रफलः २२८.५९ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तोली(१ – ९) | ३४४६ | २०.२३ |
२ | २ | बालुवाटार(१ – ९) | ३३१० | ६०.०४ |
३ | ३ | द्वारी(१ – ९) | २६८१ | ३६.०१ |
४ | ४ | कालिका(१ – ९) | २२९९ | ५९.६८ |
५ | ५ | नौमुले(१ – ९) | १६१९ | ११.५१ |
६ | ६ | सल्लेरी(१ – ५) | २१९४ | १३.८ |
७ | ७ | सल्लेरी(६ – ९) | १७०२ | ११.२६ |
८ | ८ | चौराठा(१ – ९) | २४३६ | १६.०६ |
जम्मा | १९६८७ | २२८.५९ |
नौमुले गाउँपालिकाको नक्सा
९. नामः महावु गाउँपालिका
महाबु गाउँपालिका कर्णाली प्रदेश दैलेख जिल्लाको उत्तरमा कालीकोट जिल्लासंग जोडिएको पहाडी गाउँपालिका हो । यो गाउँपालिकाको नाम महाबु रहनाको कारण यस ठाउँमा सवैभन्दा ठुलो देवता शिवको अवतारका रुपमा श्री महावै देवताको उत्पति महाबु गाउँपालिका वार्ड नं. ५ वडावनमा भएको र त्यसको अवतार महाबु गाउँपालिकाका वडा नं. ६ स्थीत दैलेखको सवैभन्दा अग्लो ४१६८ मिटर महाबु लेकमा भएको हुँदा यस गाउँपालिकाका जनताहरुको साझा सहमतिले महावु गाउँपालिका नामाकरण गरिएको हो ।
महाबु गाउँपालिका कर्णाली प्रदेश, दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये महाभारत पर्वत श्रृंखलाको उत्तरमा अवस्थित एक दुर्गम पहाडी गाउँपालिका हो । यो गाउँपालिकाका कर्णाली प्रदेशको राजधानीे विरेन्द्रनगर सुर्खेत देखि ९० कि.मि. र दैलेख सदरमुकाम देखि २२ कि.मि. उत्तरमा अवस्थित छ । यस महावु गाउँपालिकाको पूर्वमा नारायण नगरपलिका, पश्चिममा छामघाट खोला उत्तरमा कालिकोट जिल्लाको सिमाना, दक्षिणमा भैरवी गाउँपालिका र नारायण नगरपालिका पर्दछ । दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरु मध्ये आर्थिक दृष्टिकोणले विपन्न प्राकृतिक धार्मिक, ऐतिहासिक दृष्टिकोणले सम्बृद्ध छ । राजनीतिक रुपमा दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस गाउँपालिकाको केन्द्र वडा नं ४ गैडाबाजमा रहेको छ । यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ ।
केन्द्रः वडा नं. ४ गौडावाज
जनसङ्ख्याः १८०५९ (२०७८ अनुसार)
क्षेत्रफलः ११०.८ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खरिगैरा(१ – ७) | २८७५ | १३.३६ |
२ | २ | बडाखोला(१ – ९) | २५९३ | ११.५९ |
३ | ३ | बाँसी(१ – ९) | ३८७० | १३.८ |
४ | ४ | रानीवन(५ – ९) | २७३९ | १२.८८ |
५ | ५ | काँशीकाँध(२,४,६,७,९) | २६१८ | २२.५९ |
६ | ६ | काशीकाँध (१,३,५) र रानीवन (१-४) | ३३६४ | ३६.५८ |
जम्मा | १८०५९ | ११०.८ |
महावु गाउँपालिकाको नक्सा
१०. नामः भैरवी गाउँ
दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती (पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ ।
केन्द्रः साविक भैरीकालिकाथुम गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १८७६७ (२०७८ अनुसार)
क्षेत्रफलः ११०.४६ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रावतकोट(५,६,७,८,९) | २९५५ | १३.७५ |
२ | २ | रावतकोट(१,२,३,४) | २०२० | ७.३७ |
३ | ३ | दुल्लु(१०) | ३९७१ | १४.११ |
४ | ४ | भैरीकालिकाथुम(१,२,४,५,६) | २७२५ | ८.९५ |
५ | ५ | भैरीकालिकाथुम(३,७,८,९) | २७२४ | ११.४८ |
६ | ६ | कुशापानी (१-४) र काँशीकाँध (८) | २०३५ | ९.०५ |
७ | ७ | कुशापानी(५,६,७,८,९) | २३३७ | ४५.७५ |
जम्मा | १८७६७ | ११०.४६ |
भैरवी गाउँपालिकाको नक्सा
११. नामः ठाँटीकाँध गा
नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिका मध्ये ठाँटीकाँध गाउँपालिका दैलख जिल्ला निवाचन क्षेत्र नं. २ मा पर्दछ । पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालिकोट जिल्लाको कालिका गाउँपालिका पश्चिममा दैलेखको आठवीस नगरपालिका र दक्षिणमा चामुण्डा विन्द्रासैनी न.पा. र आठवीस न.पा. को भूभागको वीचमा अवस्थित ठाटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन श्रोतमा सम्पन्न भएर पनि आर्थिक रुपले कमजोर रहेको छ । हाम्रो यस ठाटीकाँध गाउँपालिकामा साविक विशाला गा.वि.स., साविक तोलिजैसी गाविस र साविक लकान्द्र गा.वि.स. मिलेर सिङ्गो गाउँपालिका वनेको छ ।
यस गाउँपालिकाको जम्मा क्षेत्रफल ८८.२२ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा जनसंख्या १८,३०१ रहेको छ । बसोवासका हिसावले यस गाउँपालिकामा विभिन्न जात जातिहरु रहेको छन् । जसमा व्राहमण, क्षेत्री, दमाई, कामी, बादि, आदिवासी जनजाति आदिको वसोवास गरि आएका छन् । जसका आफ्नै भाषा भाषि छन् । जल, जमिन, जंगल, जडिवुटी, जंगली जनावर, एवम उर्वरभूमि रहेको यो गाउाँपालिका पूर्व पश्चिम उत्तर दक्षिण गोलाकार भू–धरातल भएको अनेकतामा एकता रहेको गाउँपालिका हो । यो गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वनजंगलका कारण पानीका प्रशस्त श्रोतहरु, जडिवुटी, जंगली जनावर, तथा निलम पाइनुका साथै स्याउ खेती र अलैची, खेतीको संभावना समेत रहेको छ । साथै पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ । यस गाउँपालिकाको मध्ये भागमा विभिन्न खाद्यवाली जस्तै धान, गहुँ, मकै, कोदो एवम तरकारी खेतीको प्रशस्त संभावना रहेको छ ।
पूर्वमा रामगाड, उत्तरमा भूतगाड भएर वग्ने सिङ्गो रामगाड खोला, पश्चिम तर्फ वग्ने चिनेखोला निरन्तर वगिरहने खोलाहरु हुन । यी ३ वटै खोलाहरु ढुङगा, गिट्टी, वालुवा, जस्ता निर्माण सामाग्रीहरु उपलब्ध गर्न गराउन सकिने अवस्था छ । साथै जलविधुतको प्रशस्त सम्भावनाहरु रहेका छन् । लेकाली क्षेत्रमा पाईने निलम ढुङगा र जौचौरमा भएको तामाखानी एवम तिरुवा टोलको फलाम खानी को उत्खनन गर्न सकेमा ठाटीकाँध गाउँपालिका लगायत सिङगो दैलेख जिल्ला, प्रदेश र राष्टकै आर्थीक समृद्धिमा टेवा पुग्ने सम्भावना रहेको छ ।
केन्द्रः साविक लकान्द्र गा.वि.
जनसङ्ख्याः १८३०१ (२०७८ अनुसार)
क्षेत्रफलः ८८.२२ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लकान्द्र(६,७,८,९) | ३३८९ | ११.१४ |
२ | २ | लकान्द्र(१,२,३,४,५) | २८१० | ९.७३ |
३ | ३ | विशाला(१,२,३,४,५) | ३४४३ | २५ |
४ | ४ | विशाला(६,७,८,९) | २८७७ | २२.३६ |
५ | ५ | तोलीजैसी(१,२,३,४,५,६) | २७२२ | ११.१२ |
६ | ६ | तोलीजैसी(७,८,९) | ३०६० | ८.८७ |
जम्मा | १८३०१ | ८८.२२ |
ठाँटीकाँध गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दैलेख र जिल्ला प्रशासन कार्यालय दैलेख। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । दैलेख जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
भगवतीमाई गाँउपालिककाे केन्द्र कल्ण गाँबीस रहेकाे छ याे नभई बेस्तडाबजार हुनु पर्ने हाे ।
तपाइको सुझाव अनुसार हामिले हाम्राे लेखमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
चिनारी नेपाल ।।