परिचय
कोशी प्रदेशका १४ वटा जिल्लाहरु मध्य तेह्रथुम जिल्ला नेपालको एक पुर्वि जिल्ला हो । तेह्रथुम जिल्लाको नामाकरण सम्वन्धमा लिम्बुवान राज्य मित्र थुम रहेका र यी सबै पल्लो किरांत अन्तर्गत रहेका थिए । त्यतिवेला थुमको तिरो भरो धनकुटा गौंडामा बुझाउने व्यवस्था भएको थियो । वि.स.१९५२ सालमा आएर सत्र थुम मध्येका मित्लुङ् पहाड‚झलहरु वेलहरा र पाँचथर थुमको तिरो भरो धनकुटामा बुझाउने र अन्य तेह्र थुमको तिरो उठाउने गरी माल अड्डाको स्थापना यसै जिल्लामा भएकोले यस जिल्ला लाई तेह्रथुम भनिएको जनविश्वास रहि आएको छ। ति तेह्रवटा थुमहरु आठराई‚ फेदाप‚ याङ्गरुप‚ पाँचथर‚ ताप्लेजुङ्‚ मेवाखोला‚ मैयाखोला‚ तमोरखोला‚ पाँचखप‚ दशमझिया‚ चैनपुर‚ सभा-उत्तर‚संखुवा उत्तर पर्दछन् ।

ऐतिहासिक चिनारी
पृथ्वी नारायण शाहबाट नेपाल एकीकरण हुनु अगाडी यस जिल्लाको भुभाग पल्लो किराँत राज्य अन्तर्गत पर्दथ्यो । पृथ्वीनारायण शाहको एकीकरण अभियान अन्तर्गत खम्वुवान क्षेत्रको विजय पश्चात वि.स.१८३१ मा गोर्खाली सेनाको तर्फबाट रामकृष्ण कुवंर र लिम्बुहरुले चैनपुरमा उनीहरु नेपाल सरकार अन्तर्गत रहने र गोर्खालीले लिम्बुहरुको रितितिथी तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने गरी मेलमिलाप गरेका थिए । पृथ्वी नारायण शाहबाट यहाका सुब्बाहरुलाई पञ्चखत वाहेक अन्य मुद्धा हेर्ने र “ढिङगे मुङगे” गरि जरीवाना समेत गर्न पाउने अधिकार दिइ लालमोहर दिइएको थियो ।

भाैगोलीक अवस्थीति
कुल क्षेत्रफल ६७९ वर्गकिलोमिटर रहेको यो जिल्ला पूर्वी देशान्तर ८७.१५ ‘ देखि ८७.४५’ सम्म र उत्तरी आक्षाश २६.६६-२७.३०’ सम्म रहेको छ । जिल्लाको उचाई समुद्र सतहबाट ३४५ देखि २९६२ फिट सम्म रहेको छ । त्यस्तै सदरमुकामम म्यालुङ्ग १६६५ मिटर उचाइमा रहेको छ । मूख्यतया यस जिल्लामा लिम्बु (३५%)‚क्षेत्री (१९%)‚ब्राम्हण (१६%)‚ अन्य जातजाती (३०%) बसोबास रहेको छ भने नेपाली भाषी ५२.९%‚लिम्बु भाषी ३२.७७% र अन्य १४.३३% भाषाभाषीको बसोबास रहेको छन् ।यस जिल्लाको पूर्वमा ताप्लेजुङ्ग र पाँचथर पश्चिममा धनकुटा र संखुवासभा उत्तरमा ताप्लेजुङ्ग र संखुवासभा तथा दक्षिणमा धनकुटा र पाँचथर जिल्ला रहेका छन् । वि.स.२०७८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ८८,७३१ रहेको छ ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार तेह्रथुम जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा ६ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा २ नगरपालिका र ४ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | म्याङलुङ नगरपालिका | म्याङलुङ नगरपालिका | १० |
२ | लालीगुराँस नगरपालिका | लालिगुँरास नगरपालिका | ९ |
३ | आठराई गाउँपालिका | ह्रवाकु, इवा, छातेढुङ्गा, चुहानडाडा, थोक्लुङ, सक्रान्ति वजार र खाम्लालुङ गा.वि.स. | ७ |
४ | छथर गाउँपालिका | सुदाप, ओख्रे, फाक्चामारा, पंचकन्या, हमरजुङ र आङदिम गा.वि.स. | ६ |
५ | फेदाप गाउँपालिका | ओयाक्जुङ, जलजले, सिम्ले, इसिवु र सम्दु गा.वि.स. | ५ |
६ | मेन्छयायेम गाउँपालिका | मोराहाङ, श्रीजुङ र पौठाक गा.वि.स. | ६ |
जम्मा | ४३ |
१. नामः म्याङलुङ नगरपालि
२०७१ साल बैषाख २५ को मन्त्रीपरिषदको निर्णयबाट ७२ वटा नगरपालिका कार्यन्वयन गर्ने निर्णय संगै यस म्याङलुङ्ग नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ्ग गाविस सहित ६ वटा गाविसहरु समायोजन भई २०७१ जेष्ठ ०५ गतेबाट विधिवत रुपमा उद्घाटन भई कार्यान्यनमा आएको हो । यस नगरपालिकाले पुर्वमा खोरुंगाखोला , पश्चिमा पिगुवा खोला, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा तमोर नदी (पाँचथर जिल्ला) लाई छोई तेह्रथुम जिल्लालाई दुई भागमा बिभाजन गरेको छ । नेपालको संबिधान, २०७२ को मा भएको ब्यवस्था अनुसार देश संघियतामा गै सकेको अवस्थामा नेपाल सरकारले यस नगरपालिका लागी पुनः संरचनाको क्रममा यस नगरपालिकालाई नगरपालिकाकै रुममा कायम राख्दै हाल १० वटा वडामा विभाजन गरेको छ ।
केन्द्रः साविक म्याङलुङ नगरपा
जनसङ्ख्याः १८७५०
क्षेत्रफलः १००.२१(वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | म्याङलुङ(१) | ३६६२ | १४.८६ |
२ | २ | म्याङलुङ(२) | २३३६ | १२.५ |
३ | ३ | म्याङलुङ(३) | ९५८ | ३.७५ |
४ | ४ | म्याङलुङ(४,५) | १३९५ | ५.५ |
५ | ५ | म्याङलुङ(६) | ८३७ | ३.७५ |
६ | ६ | म्याङलुङ(७) | २१८४ | १४.१५ |
७ | ७ | म्याङलुङ(८) | १९०३ | ५.८५ |
८ | ८ | म्याङलुङ(९) | १५३४ | १३.९९ |
९ | ९ | म्याङलुङ(१०,११) | २१६९ | ९.२५ |
१० | १० | म्याङलुङ(१२,१३) | १७७२ | १६.६१ |
जम्मा | १८७५० | १००.२१ |
२. नामः लालीगुँरास नगरपा
कोशी प्रदेश, तेह्रथुम जिल्लाको पश्चिममा अवस्थित संखुवासभा र धनकुटा जिल्लाको संगम स्थलमा रहेको प्राकृतिक तथा भौगोलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दांगपा गा.वि.स. मिलाई नेपाल सरकारबाट मिति २०७२ असोज १ गते घोषणा भए अनुसार यस लालीगुराँस नगरपालिकाको सञ्चालन र व्यवस्थित गरिएको छ । यो नगरपालिका मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल हुनुका साथै नेपाल सरकारबाट घोषित मध्य पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक शहर हो तथा संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाको तराई संगको प्रवेशद्धार हो ।
लालीगुराँस नगरपालिका नेपालको पूर्व क्षेत्र तथा कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लाको पश्चिम क्षेत्रमा पर्दछ । यस नगरपालिका २७००४’३३” देखि २७०११’०२” उत्तरी अक्षांश र ८७०२३’४१” देखि ८७०३०’५९” पूर्वी देशान्तर सम्म फैलिएको छ ।क्षेत्रफलको हिसावले यस नगरपालिका ९०.२७ वर्ग किलोमिटर ओगटेको छ । यो नगरपालिका लगभग पूर्व पश्चिम १२.०४ किलोमिटर र उत्तर दक्षिण १२.०६ किलोमिटर रहेको देखिन्छ । यो नगरपालिका समुन्द्र सतह देखि ५६०–३०६५ मिटर सम्मको उचाईमा रहेको छ ।
यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ । यसरी यस नगरपालिकाको पूर्व तर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् । यस नगरपालिका ९ वटा वडामा विभाजित छन् । यस क्षेत्रको हावापानीमा विविधता पाईएको छ । जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।
केन्द्रः साविक लालीगुँरास नगरपा
जनसङ्ख्याः १५३२९
क्षेत्रफलः ९०.२७ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लालीगुराँस(१) | १२३३ | ९ |
२ | २ | लालीगुराँस(२) | १९५८ | २.५९ |
३ | ३ | लालीगुराँस(३) | १५३६ | ६.८३ |
४ | ४ | लालीगुराँस(४,५) | १५५८ | ८.६६ |
५ | ५ | लालीगुराँस(६,७) | २२२१ | १४.७९ |
६ | ६ | लालीगुराँस(८) | १५२१ | १२.७९ |
७ | ७ | लालीगुराँस(९) | १७५० | १२.८८ |
८ | ८ | लालीगुराँस(१०) | १६१४ | ९.८६ |
९ | ९ | लालीगुराँस(११) | १९३८ | १२.८७ |
जम्मा | १५३२९ | ९०.२७ |
३. नामः आठराई गाउँपालिका
नेपालका ७ वटा प्रदेश अन्तर्गत पर्ने १ नम्वर प्रदेशको पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्ला अन्तर्गत आठराई क्षेत्रको छुट्टै महत्व रहेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिहरूको वासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैची यस क्षेत्रको आर्कषकको केन्द्रविन्दु रहेको छ । नेपालमै प्रसिद्धि पाएको ढाका टोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्वूहरूको धान नाच, तामाङहरूको तामाङ् सेलो, बालुन नाच, व्राह्मणले वजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विषेशताहरू हुन् ।
झन्डै अस्ट्रेलियाको पूर्वी आकार परेको आठराईको बीचमा फुकेको र उत्तर, दक्षिण साँघुरिएको अवस्थामा रहेको छ । पूर्वमा तमोर नदी, पश्चिममा कोयाखोला ,उत्तरमा ताप्लेजुङ, दक्षिणमा तमोर नदीले घेरिएको उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको नामकरणका सम्बन्धमा भने विभिन्न किंंवदन्तीहरू पाइन्छन्् । यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ ।
आठ जना रायहरूले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाँउ संक्रान्तिडाँडामा रहेछ र बास बसेको ठाँउमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बुहरूको राज्य गर्ने मानिस नभएको हुनाले अव हामीले यस ठाउको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्रलाई हाल अपभ्रंश हुदै आठराई नाम रहन गएको हो भन्ने किंम्वदन्ती पाइन्छ । यसरी यस क्षेत्रको नामाङ्कन लिम्वूहरूबाटनै भएको हो भन्ने आधारको रूपमा यस क्षेत्रका अधिकाँश टोलहरूका नाम पनि लिम्वू भाषाबाट नै नामाङ्कन भएबाट स्पस्ट हुन्छ जस्तै फुङसेङ, नासिवुङ, खाम्लालुङ, फाक्चुवा, लिसेवुङ, साम्थाङ, लिङदेन, पाक्तेन, थोक्लुङ्ग,फुङनाम आदि उल्लेख्य रहेका छन् ।
त्यस्तै आठराईमा लिम्वूहरूको बसोबास बढी भएको क्षेत्र हुनाले यस क्षेत्रमा अधिकांश ठाउँका नाम लिम्बू भाषामा नै राखिएजस्तै लिम्बू वंशावलीमा पनि तेह्रथुम जिल्लाको नामकरणको सम्बन्धमा किंवदन्ती पाइन्छ । “वंशावलीअनुसार मोरङ राज्यको साङलाइङ राजाका भाइ सिदिइङ फेदाप पहाडमा बसेको अनुमान गरिएको छ । उनले दरबारका हिन्दू पुरोहितको भनाइमा लागेर आफ्नो नामसमेत “अमर राय” राखे । त्यसैको अनुशरण उनका सन्तानहरूले गरेका थिए । त्यसबेला फेदापमा छ रायहरू भए र यसका साथै उत्तरी फेदापमा सात रायहरू भए ।
नेपालको पूर्वाञ्चलको धनकुटा गौडामा त्यसबेला सत्र थुमको तिरो बुझाउने कार्य हुन्थ्यो जसलाइ दस लिम्बूवान र सत्र थुम भनेर अहिले पनि भनिन्छ । पछि फेदाप र उत्तरी फेदापका छ राय र सात रायलाई मिलाई छुट्टयाएर तेह्रथुम बनाइयो । यी माथिका किंवदन्तीबाट के स्पष्ट हुन्छ भने तेह्रथुम जिल्लाको नामकरण तिरो उठाउने सम्बन्धबाट भएको बुझिन्छ । “वि.सं.१९५२ सालमा सर्बे नापी हुँदा १३ वटा थुमहरू मिलाएर हालको सदरमुकाम रहेको म्याङ्लुङमा मालपोत उठाउन माल अड्डा स्थापना गरेपछि यसको नामकरण तेह्रथुम रहेको हो ।
वि.सं. २०२२ सालमा ७५ जिल्लामा माल अड्डा खडा भएपछि यस जिल्लाका १३ वटा थुम मध्ये पाँचथर जिल्लामा पाँचथर थुम नुभो उत्तर र नुभो दक्षिण,ताप्लेजुङ जिल्लामा तमोरखोला, मैवाखोला, मेवाखोला र याङ्रूप थुमहरू र सङ्खुवासभा जिल्लामा पाँचखपन, चैनपुर, सभाउत्तर, सङ्खुवाउत्तर र दसमझिया थुमहरू गाभिएको हुनाले अनि बाँकी रहेका फेदाप, आठराई र छथर गरी यस जिल्लामा हाल तिनवटा थुमहरू मात्र कायम रहेका छन्् ।” वि.सं २०१९ साल अघि यस जिल्लाको प्रशासन धनकुटाबाट चलाउने गरिएको थियो । वि.सं २०१९ सालमा म्याङ्लुङमा जिल्लाको प्रशासन स्थापना भएपछि तेह्रथुम जिल्ला कायम भई आफ्नै अस्तित्वमा रहन गएको हो । हाल यस गाउँपालिकामा ईलाका प्रशासन कार्यालय, मालपोत कार्यलय र नापी कार्यलयको स्थापना भई सेवा संचालन भई रहेको व्यहोरा सवैमा अवगत नै छ ।
केन्द्रः साविक सक्रान्तिबजार गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १८१५६
क्षेत्रफलः १६७.०७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सक्रान्तिबजार(१-९) | २७४१ | १८.८३ |
२ | २ | खाम्लालुङ(१-९) | २४८७ | २६.२९ |
३ | ३ | हवाकु(१-९) | २५१६ | २२.०३ |
४ | ४ | ईवा(१-९) | ३२२६ | १९.६३ |
५ | ५ | छातेढुङ्गा(१-९) | २३९४ | २२.८९ |
६ | ६ | चुहानडाँडा(१-९) | ३०३० | २९.०६ |
७ | ७ | थोक्लुङ(१-९) | १७६२ | २८.३५ |
जम्मा | १८१५६ | १६७.०८ |
४. नामः छथर गाउँपालिका
काेशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित छ । यो गाउँपालिका मध्य–पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।छथर गाउँपालिका नेपालको १ नं. प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित छ । यो गाउँपालिका मध्य–पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।
पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङ्गहरु लिम्बुवानका महत्वपुर्ण शक्तिको रुपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आफनो छुट्टै अस्तित्व खडा गरि थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामाकरण गरि कायम गराएको पाइन्छ ।
भौगोलिक स्वरुप
यो गाउँपालिकाको उचाइ समुद्री सतहबाट ३२२ मी. देखि २५५० मी. उचाई सम्म छ । यो गाउँपालिकाको केन्द्रको भौगोलिक अवस्थिति समुद्र सतहबाट १९२० मि. उचाईमा रहेको छ भने गाउँ पालिकाको केन्द्र २७००३’३१” उत्तरी अक्षांश र ८७०२७’०१” पूर्वीदेशान्तरमा रहेको छ । साविकका ६ वटा गा.बि.स.हरु (आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे तथा सुदाप) गाभेर मिति २०७३ फागुन २७ गतेको नेपाल सरकारको निर्णय अनुसार यो गाउँपालिका गठन गरिएको छ ।
केन्द्रः साविक हमरजुङ गा.वि.स.
जनसङ्ख्याः १४१९७
क्षेत्रफलः १३३.९३ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | आङदिम(१-९) | १७२१ | १०.२२ |
२ | २ | हमरजुङग(१-९) | ३१०७ | १६.३४ |
३ | ३ | पञ्चकन्या(१-९) | १४५२ | ४१ |
४ | ४ | फाक्चामारा(१-९) | १८५० | ३४.३९ |
५ | ५ | ओख्रे(१-९) | ३११४ | २०.३८ |
६ | ६ | सुदाप(१-९) | २९५३ | ११.५९ |
जम्मा | १४१९७ | १३३.९२ |
५. नामः फेदाप गाउँपालिका
फेदाप गाउँपालिका १ नम्बर प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो। नेपाल संघिय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकमा रहेका तेह्रथुम जिल्लाको ५ वटा गाविसहरु (सिम्ले,ओयाक्जुङ,जलजले,सम्दु र इसिवु) सामावेश गराई यो फेदाप गाउँपालिकाको स्थापना भएको हो । यो गाउँपालिकामा लिम्बु, राई, तामाङ, क्षेत्री, दमाई, कामी, सार्की, भुजेल, जोगी, सन्यासी, पुरी, माझि, मगर आदि जातिको वसोवास रहेको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ११०.८३ गर्व किमी रहेको छ ।
केन्द्रः साविक सिम्ले गा.वि.स.
जनसङ्ख्याः १५१६९
क्षेत्रफलः ११०.८३ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सिम्ले(१-९) | ३६२३ | १८.६३ |
२ | २ | ओयाकजुङ(१-९) | ४३५१ | १७.८१ |
३ | ३ | जलजले(१-९) | २८५० | २१.८४ |
४ | ४ | सम्दु(१-९) | १९३९ | १८.०५ |
५ | ५ | ईसिवु(१-९) | २४०६ | ३४.४९ |
जम्मा | १५१६९ | ११०.८२ |
६. नामः मेन्छयायेम गाउँपा
मेन्छयायेम गाउँपालिका, कोशी प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।
राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्तीको भनाइ छ । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो ।
नेपालको मानचित्रमा मेन्छयायेम गाउँपालिकाको फैलाबट २७.२२ उत्तरी अक्षांश र ८७.५१ पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा फेदाप गाउँपालिका, पश्चिममा म्याङलुङ, उत्तरमा ताप्लेजुङको मैवाखोला गाउँपालिका र संखुवासभाको मादी र चैनपुर नगरपालिका तथा दक्षिणमा फेदाप गाउँपालिकासँग सिमाना जोडिएको छ । पहाडी र उच्च पहाडी भू–भागमा फैलिएको यो गाउँपालिका समुन्द्र सतहबाट १,६५२ मिटर (मोराहाङ्ग बजार) देखि २,९०० मिटर (मेन्छयायेम डाँडा) सम्म फैलिएर रहेको छ । यस गाउँपालिकाको कूल क्षेत्रफल ७,००९ हे. (७०.०९ वर्ग किलोमिटर) मध्ये भू–उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल ५०,००८ रोपनी, वनजंगलले ढाकेको भू–भाग १,७४९.५९ हेक्टर, सामुदायिक वनले ढाकेको क्षेत्रफल १०.९६ हे., कवुलियती वनले ढाकेको क्षेत्रफल २५ हे., राष्ट्रिय वन क्षेत्र ११.४१ हेक्टर, चरन क्षेत्र २३० हेक्टर, सामूदायिक गौचरण चौरको क्षेत्रफल २३.६ रोपनी, घाँसे मैदान २.५ हे., सिंचित क्षेत्रफल २२३८ हे., असिंचित हुने १६२ हे., आंशिक सिंचाई हुने ५२ हे. रहेको छ ।
केन्द्रः साविक मोराहाङ गा.वि.स
जनसङ्ख्याः ६६७८
क्षेत्रफलः ७०.०९(वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पौठाक(१-४) | ७१७ | १०.९७ |
२ | २ | पौठाक(५-९) | ९३२ | ८.८९ |
३ | ३ | श्रीजुङ(७-९) | ८८३ | ६.२७ |
४ | ४ | श्रीजुङ(१-६) | १०३५ | १५.१२ |
५ | ५ | मोराहाङ(१-३,७,८) | १६४३ | १०.३५ |
६ | ६ | मोराहाङ(४-६,९) | १४६८ | १८.४९ |
जम्मा | ६६७८ | ७०.०९ |

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय तेह्रथुम र जिल्ला समन्वय समिति तेह्रथुम । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले तेह्रथुम जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।
Nice