मध्यकालमा नेपाल एक चिनारी

वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरु भएपछि नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको करिब ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ ।

वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा ‘मल्लकाल’ को रूपमा अध्ययन गर्ने प्रचलन छ । यस कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्यजत्रै विशाल रहेको तर पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् ।

बीच–बीचमा एकीकरणको पुनः प्रयास र विस्तार पनि भएको थियो । तसर्थ मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत, कहिले विखण्डित, कहिले विस्तारित र कहिले सङ्कुचित भएको पाइन्छ ।

मल्ल वंशको परिचय : तेह्रौँ शताब्दीको आरम्भदेखि नेपाल उपत्यकामा मल्लहरूको शासन व्यवस्था कायम भएको मानिन्छ । साथै, यस वंशका पहिलो शासक भनेर अरिमल्लको नाम लिने चलन छ । तथापि अरि मल्लभन्दा धेरै अगाडिदेखि शासनमा मल्लहरूको सक्रियता थियो ।

अरि मल्लभन्दा एक शताब्दीअघिदेखि नै मल्लहरू कुनै न कुनै रूपमा शासनमा सक्रिय भएको कुरा गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा समेत पाइन्छ । मल्लहरू प्राचीन जाति मानिन्छन् । प्राचीन संस्कृत वाङ्मयहरूमा मल्लहरूको
उल्लेख विशिष्ट वर्गका क्षेत्रीयको रूपमा गरिएको छ ।

महाभारत, विभिन्न बौद्ध साहित्यहरू, मनुस्मृति तथा अन्य विभिन्न पुराणमा मल्लहरूको सन्दर्भ पाउन सकिन्छ । महाभारतमा कोसलहरूको साथमा मल्लहरूको पनि समान चर्चा गरिएको पाइन्छ । मार्कण्डेय पुराणमा मिथिलाका विदेहहरूसँग मल्लहरू दाँजिएका छन् ।

पाँचाै छैठाैँ   शताब्दी इशा. पूर्व .का सङग्ठित गणराज्यको सञ्चालन गररे बसेका धरै राजवंशहरू पछि क्रमशः राजतन्त्रात्मक शासनअन्तर्गत चलेका राज्यहरूको साम्राज्य विस्तारको चपेटामा परेर नेपालको भू–भागमा पसेका उदाहरणहरू विभिन्न प्राचीन श्रोतहरूले दिएका छन् ।

लिच्छवि, कोलीय, शाक्य, मल्ल आदि सबै नै नेपालमा शरणार्थी रूपमा पसेका थिए । शाक्यहरू ललितपुर क्षेत्रमा बसेका थिए भने कोलियहरू कान्तिपुर (आजको केलटोल) मा बसोबास गर्दथे । त्यस्तै, मल्लहरूले सुरुमा गण्डकी क्षेत्रमा र पछि उपत्यकामा कतै न कतै बसोबास गरेको पाइन्छ ।

मल्लहरूको नेपाल आगमन : उत्तर भारतमा मगधका गुप्त सम्राटको दिग्विजयले वैशालीका लिच्छविहरू त्यहाँ टिक्न नसकी काठमाडौँ उपत्यकामा आएजस्तै भारतको कुशीनगर र त्यसको छेउछाउ मूल भएका मल्लहरू पनि शरणार्थीहरूका रूपमा नेपालको गण्डकी क्षेत्रमा आएका थिए ।

राजल्लदेव र कठय मल्लले ललितपुरको दक्षिणमा अवस्थित चम्पागिरी (चापागाँउ) बस्ती बसाएकाले मल्लहरूले काठमाडौँमा आफ्नो राजनैतिक प्रभाव बढाउने प्रयास गरेको देखिन्छ । मानदेवद्वारा मल्ल प्रदेशमा आक्रमणको मुख्य उद्देश्य मल्लहरूको महइभ्वकाङ्क्षालाई दबाउनु नै थियो ।

केन्द्रमा लिच्छवि शासन कमजोर हुन थालेपछि मल्लहरूको केन्द्रमा शासन गर्ने आकाङ्क्षा बढ्यो । यसमा अरिदेव (अरि) मल्ल सफल भए । वि.स. १२१० मा जन्मेका अरिदेव वि.सं.१२५८ मा राजा भई १५ वर्ष जति राज्य गरेर वि.स. १२७४ मा देह त्याग गरे । अरि मल्लपछि अभय मल्ल वि.सं. १२७४ मा राजा भए । उनले ३८ वर्षसम्म शासन चलाए ।

मल्ल राज्यको विभाजन :  मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी भक्तपुर थियो र राजाहरू ‘युथनिम्हम’ र ‘त्रिपुर’ दरबारमा रही शासन चलाउँथे । अन्य मुलुकको आक्रमणबाट बच्न सकिने गरी चारपाटे किल्लाका रूपमा दरबार बनाएको हुन्थ्यो जसलाई स्थानीय भाषामा चौक्वाँठ भनिन्छ ।

नेपाल उपत्यकाको सङ्गठित मल्ल राज्यका अन्तिम मल्ल राजा यक्ष मल्ल थिए । यक्ष मल्लको शासनकालपछि नेपाल उपत्यका कान्तिपुर, पाटन र भादगाउँका रूपमा विभाजित भए । कान्तिपुरमा हनुमान ढोका दरबारको निमार्ण इस्वीको बाह्रौँ शताब्दीमा राजा गुणकामदेवका पालामा भएको कुरा वशांवलीमा उल्लेख छ ।

प्रताप मल्लले कान्तिपुरको यस दरबारमा धेरै खण्ड र चोकहरू थपेर विशाल रूप दिएका थिए ।  पृथ्वीनारायण शाह कान्तिपुरको राजगद्दीमा आरुढ भएपछि केही पुरानो खण्ड र चोक हटाउने, नयाँ चोकहरू र खण्डहरू थप्ने काम भएको थियो ।

उपत्यकाका (कान्तिपुर) मल्ल राजाहरू
१) रत्न मल्ल

२) सूर्य मल्ल

३) अमर मल्ल

४) महेन्द्र मल्ल

५) शिवसिंह मल्ल

६) लक्ष्मीनरसिंह मल्ल

७) प्रताप मल्ल

८) नृपेन्द्र मल्ल

९) पार्थिवेन्द्र मल्ल

१०) भूपालेन्द्र मल्ल

११) भाष्कर मल्ल

१२) जयज्जय मल्ल

१३) जयप्रकाश मल्ल

पाटनका मल्ल राजाहरू

१) रत्न मल्ल

२) विष्णु मल्ल

३) नरसिंह मल्ल, पुरन्दरसिंह मल्ल, उद्धवसिंह मल्ल

४) हरिहरसिंह मल्ल

५) सिद्धिनरसिंह मल्ल

६) श्रीनिवास मल्ल

७) योगनरेन्द्र मल्ल

८) लोकप्रकाश मल्ल

९) इन्द्र मल्ल

१०) महीन्द्र मल्ल

११) वीरनरसिंह मल्ल

१२) ऋद्धिनरसिंह मल्ल

१३) भाष्कर मल्ल

१४) योगप्रकाश मल्ल

१५) विष्णु मल्ल

१६) राज्यप्रकाश मल्ल

१७) विश्वजित मल्ल

१८) जयप्रकाश मल्ल

१९) रणजित मल्ल

२०) तेजनरसिंह मल्ल

भादगाउँका मल्ल राजाहरू

१) राय मल्ल

२) सुवर्ण मल्ल

३) प्राण मल्ल

४) विश्व मल्ल

५) जगज्योर्ति मल्ल

६) नरेन्द्र मल्ल

७) जगतप्रकाश मल्ल

८) जितामित्र मल्ल

९) भूपतीन्द्र मल्ल

१०) रणजित मल्ल

नोट :प्रस्तुत लेख नेपाल सरकारले प्रकाशन गरेको नेपाल परिचय नामक कितावबाट साभार गरिएको हो । पाठक वर्गलाइ सहज ढंगवाट पढ्नको लागी  चिनारी नेपालले यसलाइ ब्लगमा प्रकाशन गरेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *