janagadana 2078

विश्वमा संवैधानिक विकासको इतिहास

राज्यको उत्पत्तिसँगै स्वभावतः यसको सञ्चालन विधिको पनि विकास भएको हो । तर राज्यको उत्पत्तिसँगै कानुन वा संविधानको निर्माण भने भएको होइन । लामो समयसम्मको अभ्यासबाट विकसित प्रथा, परम्पराहरू कालान्तरमा कानुन वा संविधानका स्रोत बन्नआइपुगेका हुन् । यस सन्दर्भमा प्राचीन रोमन साम्राज्यका प्रथा, परम्परा र अभ्यास उल्लेख्य छन् । रोमन साम्राज्यमा देशको सर्वोच्च विधि निर्माण गर्ने अधिकार वा शक्ति जनतामा निहित थियो । जनताले नै राजालाई शासन सञ्चालनको शक्ति दिन्थे । कहिलेकाहीँ जनता र राजाका बिच शक्ति सङ्घर्ष चल्थ्यो । राजाहरू पराजित हुँदा जनताका अधिकार सुदृढ हुन्थे भने जनताहरू पराजित हुँदा अधिकारहरू खोसिन्थे, कुण्ठित हुन्थे र उनीहरू क्रमशः निरङ्कुश हुँदै जान्थे ।

निरन्तर चल्दै आएको यस खालका गतिविधिकै कारण अहिलेको आधुनिक लोकतन्त्रको विकास युगमा आइपुगिएको हो । संसारका सबैजसो मूलुकले शासन व्यवस्थाको सञ्चालनका लागि संवैधानिक व्यवस्था गरेका छन् । संविधान लिखित वा अलिखित दुवै हुन सक्छन् । जस्तै बेलायत, न्यूजिलैण्ड, इजरायलमा लिखित संविधान छैन । अलिखित संविधान भन्नुको तात्पर्य यहाँ संविधानको रूपमा संहिताबद्ध गरिएको एउटै लिखत मात्र नभएको हो । लिखित कानुनी व्यवस्था नै नभएको होइन । बेलायतको संविधानको समग्र संरचनामा विभिन्न चार्टर, संसदबाट जारी कानुन, अदालतका फैसला र प्रथा एवम् परम्परामा आधारित विभिन्न विषय छन् । चार्टर, संसदबाट जारी कानुन, अदालतका फैसलाहरू लिखित कानुनी व्यवस्था हुन् । तर संविधान भनेर एउटै लिखित सामग्री नरहेको कारण यहाँको संधिानलाई अलिखित संविधान भनिएको हो ।

इजरायल, न्यूजिलैण्डका संविधान पनि यही ढाँचाका हुन् । संसारमा संविधान निर्माणका विभिन्न विधि वा अभ्यास प्रचलनमा छन् । राज्य प्रमुखको घोषणाबाट गठन हुने विज्ञहरूको समिति वा आयोग बनाएर, राजनीतिक दलहरू बिच सम्मेलन गरेर, मसौदा तयार गरी जनमत सङ्ग्रह मार्फत अनुमोदन गरेर, संवैधानिक सम्मेलन गरेर, व्यवस्थापिकाबाट निर्माण गरेर, संविधान सभाबाट निर्माण गरेर आदि ।विश्वकै पहिलो लिखित संविधान मानिने सन् १७८९ देखि प्रयोगमा आएको अमेरिकाको संविधान संवैधानिक सम्मेलनबाट जारी भएको हो । संविधान सभाका लागि निर्वाचन गरी गठन भएको संविधान सभाबाट नभई संविधान निर्माण प्रक्रियामा संलग्न राज्यका प्रतिनिधिहरूको सम्मेलनबाट बनाइएको भए पनि संविधान निर्माणमा संविधान सभाकै विधिको अवलम्बन गरिएको थियो ।

अमेरिकाको संविधान संसारकै सबैभन्दा छोटो संविधान पनि हो । यसमा जम्मा ७ वटा धारा छन् । यसबाहेक अष्ट्रेलिया, इटाली, इथियोपिया, केन्या, कोलम्बिया, दक्षिण अफ्रिका, फ्रान्स, भारत लगायत विश्वका ४० भन्दा बढी राष्ट्रले संविधान सभाको पद्धतिलाई अवलम्बन गरी संविधान निर्माण गरेका छन् । कतिपय देशले संविधान सभाको विधि अवलम्बन गरे पनि संविधान सभाबाट संविधान जारी गर्न सकेनन् । पाकिस्तान, रुस, इजरायल आदि देश यसका उदाहरण हुन् । जुनसुकै विधि वा प्रक्रियाबाट निर्माण भएको भए पनि एउटा असल संविधान संविधानवादमा आधारित हुनुपर्छ । संविधानवाद भनेको विधिको शासन हो । संविधानमा नागरिकका मौलिक हक अधिकारको सुनिश्चितता गरिएको हुनुपर्छ ।

राज्यका अङ्ग बिच शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था गरिएको हुनुपर्छ । सीमित सरकारको अवधारणालाई आत्मसात् गरिएको हुनुपर्छ । संविधान अपरिवर्तनीय वा असंशोधनीय हुनु हुँदैन । आवश्यकता अनुसार अर्थात् जनचाहना अनुरूप संशोधन गर्न सकिने भयो भने मात्र त्यस्तो संविधानको आयु निकै लामो हुन्छ । अतः संविधान कुन विधिबाट बन्यो भन्नु भन्दा पनि त्यसले कस्तो गुण ग्रहण गरेको छ ? त्यसमा के के विशेषता छन् ? नागरिक हक अधिकारको सुनिश्चितता गरिएको छ कि छैन ? राज्यको शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था कस्तो छ ? आवधिक निर्वाचन र बालिग मताधिकारको सुनिश्चितता गरिएको छ कि छैन ? जस्ता विषय ज्यादै महत्वपूर्ण हुन्छन ।

पछिल्लो अध्यावधिक २०८१ माघ ११  गते ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *