रुकुम पूर्व East Rukum

परिचय

जिल्ला प्रशासन कार्यालय रूकुम पुर्वका अनुसार रूकुम पुर्व जिल्ला नेपालकाे कान्छाे जिल्ला तथा लुम्विनी प्रदेशकाे एकमात्र हिमाली जिल्ला हाे । यस जिल्लामा विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधता रहेकाे छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविक इलाका प्रशासन कार्यालय रुकुमकाेट, वि.स‌. २०७४ साल देखि नेपाल सरकारकाे राज्य पुन:स‌रचनाकाे क्रममा स्तराेन्निति भइ जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व बनेकाे हाे । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका छन् । यस जिल्लाको पूर्वमा बाग्लुङ र म्याग्दी पश्चिममा  रुकुम(पश्चिम) उत्तरमा डोल्पा र दक्षिणमा रोल्पा जिल्ला रहेका छन् ।

 

sisne himal
सिस्ने हिमाल
ऐतिहासिक चिनारी

महाभारतका प्रमुख पात्र राधा कृष्ण र रुक्मिणीको प्रेम कथाबाट रुकुमको इतिहास जोडिएको पाइन्छ । बिधर्भ  देशको राजा भिस्मकको छोरी रुक्मिणीलाई  राक्षसि पुतनाले आकासमा लगेर एउटा सुन्दर कमलको फुल भएको सरोवरमा खसाली दिएकी थिइन । उनै रुक्मिणीलाई वृषभानु र उनकी पत्नीले संरक्षण गरे र उनको नाम राधा राखे । पछि यो घटना थाहा भएपछि राधा पुन रुक्मिणी नै भनेर चिनिन थालिन । त्यसैले प्रेम र विवाहको अनुपम इतिहास बोकेको यो रुकुममा उक्त कमल दह र उनै प्रेमकी प्रतिमूर्ति राधा वा रुक्मिणीको मन्दिर पनि रहेको ले यो जिल्ला रुकुम भनेर भनिन थालियो । कमलदह प्रेम र त्यागकि प्रतिमूर्ति देवी राधारानीको प्रकटस्थान हो । हाम्रो  रुकुमकोटमा उनै रुक्मीणी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने किम्बदन्तिहरू पाइन्छ।

सिर्जना सिजु
मैकाेट गाउँ पुर्वि रूकुम तस्विरः सिर्जना सिजु

ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए । केही राज्यहरू स–साना नाम मात्रका थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए ।

उनको मृत्यु पछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे । उनको अल्पआयुमै मृत्यु भए पछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङ माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भइ काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे ।

पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनैतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे । सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे । तर काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङ माथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ ।

काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगि जाजरकोट संग सिढि सन्धि पत्र गरे । यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.स. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम (पूर्व) जिल्ला लुम्विनी प्रदेशकाे दूर्गम र एक मात्र हिमाली जिल्लाको रुपमा चिनिन्छ ।

कोल गाँउ
रूकुम पुर्व जिल्लाको भौगोलिक अवस्थिती
देशान्तरः   ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि.  पुर्वी देशान्तरसम्म
अक्षांसः    २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म
समुन्द्र सतहदेखि उचाईः   ७२४६ मि.
जिल्लाको क्षेत्रफलः  १६६३ वर्ग कि.मि.
सदरमुकामको उचाईः  १६५० मि.
हावापानीः   समशितोष्ण/शितोष्ण
औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म
तापक्रमः  ०.२ देख ३४ सेल्सियस सम्म ।
कुल क्षेत्रफलः ११३५२३ हेक्टर
खेतियोग्य क्षेत्रफलः २०२६५ हेक्टर
पानीले ओगटेको क्षेत्रफलः ३४३ हेक्टर
चरन क्षेत्रः ५६५५ हेक्टर
वनजङ्गल क्षेत्रफलः ५९७४८ हेक्टर
हिउले ओगटेको क्षेत्रफलः  २४७६ हेक्टर
गुप्ता दह
तस्विरः गुप्ता दह, अनलाइन खबर
रूकुम पुर्व जिल्लामा रहेका प्रमुख नदी धार्मिक स्थलहरु र पर्यटकीय स्थलहरु
सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि प्रमुख नदि र खोलाहरू हुन ।वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट,  आदि प्रमुख धार्मिक स्थलहरू हुन भने पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि पर्यटकीय स्थलहरु हुन ।
Lukum gaun
तस्विरमा लुकुम गाँउ, रासस
रूकुम पुर्व जिल्लामा उत्पादन हुने तरकारी तथा फलफुलहरु 
रूकुम पुर्व जिल्लामा उत्पादनहुने प्रमुख तरकारी तथा फलफुलहरुमा   मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी,  केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि ।
rangshi gaun purbi rukum
राङ्सी गाँउ
रूकुम पुर्व जिल्लामा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरु
कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।
रूकुम पुर्व जिल्लामा पाइने जडीबुटीहरू
यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईटो, जटामसि, भलायो आदि ।
rukum purba
तस्विरमा रूकुम पुर्व
रूकुम पुर्व जिल्लामा उत्पादनहुने अन्नबालीहरु
धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि ।
रूकुम पुर्व जिल्लामा पाइने खनिज पदार्थहरु
तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि ।
रूकुम पुर्व जिल्लामा रहेका हिम श्रृंखलाहरू
हिम श्रृंखलाको नाम   उचाई मी. अक्षांस  देशान्तर
पूथा हिमाल १ ७२४६  मी. उचाई २८ ४४ ५२ अक्षांस ८३ ०८ ५३ देशान्तर
पुथा हिमाल २ ५५९८  मी. उचाई ४४ ०५ अक्षांस ८३ ०८ ३४ देशान्तर
सिस्ने हिमाल १ ५९११  मी. उचाई २८ ४९ ४० अक्षांस ८२ २७ ०७ देशान्तर
सिस्ने हिमाल २ ५८४४ मी. उचाई २८ ५० २३ अक्षांस ८२ ३७  ३५ देशान्तर
दोगारी हिमाल ६५३६  मी. उचाई २८ ४६ ०० अक्षांस ८३ ०६ ०१ देशान्तर
सामजाङ्ग हिमाल ५९२४ मी. उचाई २८ ४६ ०२ अक्षांस ८३ ०५ ५७ देशान्तर
निम्कु हिमाल ५८४० मी. उचाई २८ ४६ ४७ अक्षांस ८३ ०४ ०५ देशान्तर
श्रोतः जिल्ला प्रशासन कार्यालय रूकुम पुर्व
रूकुम पुर्व जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

रूकुम पुर्व जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार रूकुम पुर्व जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर  ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

रुकुम (पूर्वी भाग) जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
पुथा उत्तरगंगा गाउँपालिका रन्मामैकोट, हुकाम, जाङ, तकसेरा, कोल र राङ्सी गा.बि.स. १४
भूमे गाउँपालिका काँक्री, मोरावाङ, महत, काँडा, चुनवाङ र रुकुमकोट (शोभा) गा.वि.स. वडा नं. ४
सिस्ने गाउँपालिका सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट (शोभा) गा.वि.स. वडा नं. १,२,३,५,६,७,८,९ र स्यालापाखा गा.वि.स. वडा नं. १,२,५,६,७,८,९
जम्मा ३१
रूकुम पुर्व जिल्लाको नक्सा 

District map of Rukum paschim

१.    नामः पुथा उत्तरगंगा गाउँपालिका

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मिक्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको जनसङ्ख्या १८३०८ रहेको छ। यस गाउँपालिकाको पूर्वमा ढोरपाटन शिकार आरक्ष , पश्चिममा भूमे गाउँपालिका, उत्तरमा बाग्लुङ जिल्ला तथा दक्षिणमा सिस्ने हिमाल रहेका छन्।

१४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ। स्थानीय तहको निर्वाचन-२०७९ वैशाख ३० गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ । १४ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।

केन्द्रः तकसेरा

जनसङ्ख्याः १८३०८

क्षेत्रफलः ५६०.३४ (वर्ग कि.मि.)

वडा संख्याः १४

पुथा उत्तरगंगा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
रन्मामैकोट(१-३) ७७३ ३४.०९
रन्मामैकोट(४,५) १७५२ ३०.६१
रन्मामैकोट(६,७) ७७८ १०.२२
रन्मामैकोट(८,९) ९११ १३.९९
हुकाम(१-७) १७३० ७४.२४
हुकाम(८,९) ७६२ १३.६२
जाङ(१,२) ८०८ २२.९९
जाङ(३-७) १३७८ ८१.८८
जाङ(८,९) १०१८ ३७.६८
१० १० तकसेरा(१-६,९) २००४ ७५.०५
११ ११ तकसेरा(७,८) १२९५ ५५.७५
१२ १२ कोल(१-५,८,९) २०४६ ३५.९१
१३ १३ कोल(६,७) ११७१ २६.३७
१४ १४ राङ्सी(१-९) १८८२ ४७.९४
जम्मा १८३०८ ५६०.३४

पुथा उत्तरगंगा गाउँपालिकाको नक्सा

 २.    नामः  भूमे गाउँपालिका

भूमे गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। २७३.६७ वर्ग कि.मि. क्षेत्रफल रहेको यस भूमे गाउँपालिकाको जनसंख्या १९८२९ रहेको छ।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ । स्थानीय तहको निर्वाचन – २०७३ दोस्रो चरणमा २०७४ असार १४ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ९ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।

केन्द्रः वडा नं. २ खाबाङ बगर

जनसङ्ख्याः १९८२९ (२०७८)

क्षेत्रफलः २७३.६७ (वर्ग कि.मि.)

वडा संख्याः

भूमे गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
काँक्री(४-७,९) २७१३ ७९.९५
काँक्री(१-३,८) २२८८ ३०.४५
मोरावाङ(१-९) २३२५ २०.८५
काँडा(१-३,८,९) १४३४ १६.९
काँडा(४-७) १४३२ १९.१९
महत(१,२,९) १८०८ २०.२६
महत(३-६) १५३९ २६.८
महत (७,८) र रुकुमकोट (शोभा) (४) २६३३ २०.५९
चुनवाङ(१-९) ३६५७ ३८.६८
जम्मा १९८२९ २७३.६७

भूमे गाउँपालिकाको नक्सा

 ३.    नामः सिस्ने गाउँपालिका

नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म तत् तत् स्थानीय तहबाट सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने हुँदा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७३ फागुन ९ गतेको निर्णयअनुसार स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना कायम भएको मिति (२०७३/११/२७) देखि लागु हुनेगरी २०७३/११/२४ मा जारी भएको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३’ बमोजिम स्थापित देशका ७५३ स्थानीय तहमध्ये एक हो सिस्ने गाउँपालिका।रुकुम जिल्लाका साविकका सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट र स्यालापाखा गरी ५ गाविस समावेश भई यो गाउँपालिका बनेको छ।

८ वडा रहेको यो गाउँपालिका ३२७.१२ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ। १८५३४ जनसंख्या रहेको यस गाउँपालिकाको पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, उत्तरमा डोल्पा जिल्ला, पश्चिममा आठबीसकोट, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिका पर्छ भने दक्षिणमा भूमे गाउँपालिका पर्दछ।हाल गाउँपालिकाको केन्द्रको रुपमा साविकको रुकुमकोट गाविस कार्यालय रहेको ठाउँमा गाउँसभाहल लिएर आफ्ना कार्यालयसम्बन्धी कामहरु सञ्चालन भइरहेको छ।

केन्द्रः साविक रकुमकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८५३४

क्षेत्रफलः ३२७.१२ (वर्ग कि.मि.)

वडा संख्याः

सिस्ने गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सिस्ने(१-९) २२२३ १७५.९२
प्वाङ(१-९) १७२२ ६०.१
पोखरा(१-४) १८७५ ९.३८
पोखरा(५-९) २८८३ १९.३६
रुकुमकोट (शोभा)(१,३,७,९) ३४३६ २८.७२
रुकुमकोट (शोभा)(२,५,६,८) २६३१ ६.८४
स्यालापाखा(७-९) १४७८ १०.२८
स्यालापाखा(१,२,५,६) २२८६ १६.५२
जम्मा १८५३४ ३२७.१२

सिस्ने गाउँपालिकाको नक्सा

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र जिल्ला प्रशासन कार्यालय  रूकुम पुर्व। तस्विरः सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रूकुम पुर्व जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *