नेपाल नामकरणको आधार

नेपाल देशकाे नाम  नेपाल रहनुमा मुख्यत दुइ वटा आधारहरू रहेका छन जसलाइ यहाँ प्रस्तुत गरिएकाे छ ।

मल्लकालमा नेपाल काठमाडौँ उपत्यका र वरिपरिमात्र सीमित रह्यो । एकीकरणपश्चात् काठमाडौँ राजधानी भयो र ‘नेपाल’ शब्दले आजको नेपाल राष्ट्रलाई नै बुझाउन थाल्यो । नेपाल नामको बारेमा व्युत्पत्ति, विभिन्न भाषा, जाति, वंशावली र प्राचीन ग्रन्थहरूका आधारमा वर्णन गरिएको पाइन्छ ।

१ भाषागत आधार

किराँती भाषा : ‘नेपाल’ पौराणिक किराँती शब्द ‘नेपा’ को सांस्कृतिक रूप हो । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’ को अर्थ ‘देश’ अर्थात् ‘मध्यदेश’ हुन्छ । मध्यपर्वतीय खण्डमा रहेको ‘नेपा’ मा पछि ‘ल’ प्रत्यय लागि नेपाल नाम रहेको हो ।

तिब्बती भाषा : तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ ऊन अर्थात ऊन हुने ठाउँको रूपमा यो क्षेत्रलाई लिइएको पाइन्छ । यस क्षेत्रमा भेडापालन बढी भएकाले पाल अर्थात् पशम, पश्मीना (ऊन) प्रशस्त प्राप्त हुनु स्वाभाविक हो तिब्बतीहरू नेपाललाई ‘वल्वो’ र मङ्गोलहरू ‘वल्पो’ भन्छन् । भोटनिवासीहरू हिमालपारीको यस भू–भागलाई ‘पालदेश’ वा ‘वाल्पो’ पनि भन्दछन् ।

नेवारी भाषा : नेवारहरूले नेपाललाई ‘नेपा’ मात्र भन्ने गर्दथे जो पछि नेपाल हुन गयो । ‘ने’ भनेको ‘मध्य’ र ‘पा’ भनेको ‘देश’ हो । हिमाली भागमा रहेकाले यो नाम सार्थक मानिन्छ । ‘नेपा’ शब्दमा ‘ल’ प्रत्यय लागि झ्याको झ्याल, पसःको पसल भएझै नेपाको नेपाल भएको अनुमान गरिएको छ ।

लिम्बू भाषा : लिम्बू भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ । पहाडी खण्डमा अत्यन्त ठूलोमैदानी उपत्यका भएकाले यसको नाम नेपाल रहन गएको हो ।

लेप्चा भाषा : पुरानो लेप्चा भाषामा ‘ने’ को अर्थ पवित्र र ‘पाल’ माने गुफा हुन्छ । यसरी ‘नेपा’ ले पुण्यभूमि वा धार्मिक स्थल बुझाउँछ । नेपालका तामाङहरूले पनि तीर्थलाई ‘ने’ भन्दछन् । लामा धर्मग्रन्थमा ‘ने’ को अर्थ पवित्र स्थानको रूपमा लगाइन्छ । खोटाङमा ‘नेपा’ गाउँ छ ।

संस्कृत भाषा : नीपः (पर्वतपाद) शब्दमा उपसर्ग आल (स्थान) जोडेर नेपाल भएको अनुमान छ । हिमाल र पञ्चाल जस्तै नीपः (फेदी) र आलयः (निवास) बाट पर्वत फेदीको निवासका रूपमा नेपाल नाम रहेको भाषिक व्याख्या पनि गरिएको छ ।  यजुर्वेदमा प्रयुक्त वैदिक शब्दमा ‘नीपः’ को अर्थ उपत्यका निवासी हुन्छ ।

नेपाल शब्दको मूल ‘नीप’ भनिन्छ । ‘नीपः’ भनेको अशोक (कदंब) वृक्ष पनि हो । संस्कृतमा शिवको शैव भएझैँ नेपालको नैपाल शब्द प्रयोग भएको भेटिन्छ । पारस्परिक आख्यानमा भाषागत शाब्दिक सानिध्य र ध्वन्यात्मक सङ्गति देखिए तापनि उपर्युक्त सन्धि शब्दार्थ ठोस र प्रमाणित चाहिँ भएका छैनन् ।

तामाङ भाषा : यस जातिका एक महापुरुष तिब्बतसँग व्यापार गर्दथे । यी तामाङ लामाकै नाइके बने । तामाङ लामा बोलीमा ‘ने’ भनेको स्तन हो । पृथ्वीको स्तनस्वरूप पर्वतबाट पालित नेपालबाट व्यापार गर्ने महापुरुष पर्वतकै नाममा चिनिए र पर्वतको नामबाट नै नेपाल भनियो ।

२ जातिगत आधार

– नेपाल महात्म्यअनुसार ‘ने’ नामको ऋषिले यहाँका जनताको लालन पालन गरेकोले यस देशको नाम नेपाल रहन गएको मानिन्छ ।

– दक्षिण भारतको केरला क्षेत्रमा बस्ने मालबार जाति नेवार, सिम्रौरनगढका संस्थापक नान्यदेवको साथ यहाँ आएका थिए । यिनीहरूको आगमनपश्चात् यहाँको नाम नेपाल रहन गयो ।  नेपालका प्राचीन शासक गोपालवंशीहरूलाई “निप” भनिन्थ्यो उनीहरूको आलय (घर) लाई नेपाल भनियो । ‘नीप’ शब्दको उल्लेख वैदिक ग्रन्थमा र पाणिनीको अष्टाध्यायिमा समेत भएको पाइन्छ ।

– भोटमा नेपाललाई “Balyal” अथवा वाप्लो भनिन्थ्यो भने चिनिया यात्रीले नि–पो–लो भन्ने गर्थे । किराँतहरूको प्रमुख बस्ती भएकाले बौद्ध धर्मग्रन्थहरूमा यहाँको नाम “नेवाल” र अंग्रेजीमा NIPAUL, NEPAUL, NIPAL र NEPAL शब्दका साथै भारतीयहरूद्वारा “नेपाल” शब्दको प्रयोग हुने गरेको छ ।

यस्ता विविध आधार र मान्यता भए तापनि वास्तवमा नेपाल नाम यसै कारणले हुन गएको भनी किटान गर्न भने सकिएको छैन । तथापि मौलिक सभ्यता, संस्कृति र कलाले गर्दा नेपालको स्वतन्त्र र अविछिन्न स्वरूप भने कायम रहेको कुरामा भने मतान्तर छैन ।

श्रोत : नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *