नेपालमा मनाइने प्रमुख चाडपर्वहरु

नेपालमा मनाइने प्रमुख चाडपर्वहरु

नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बसोवास गर्दछन् । विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ–आफ्ना रीतिथिति रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ । नेपालमा मनाइने प्रमुख चाडपर्वको बारेमा यहाँ चर्चा गरिएको छ ।

विजयादशमी (दशैँ)

हिन्दु धर्मावलम्वी हरूको महान चाड दशैँ  आश्विन महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पर्यन्त चल्ने भएको र दशमीलाई विशेष महत्व दिएकोले यसको नाम दशैँ रहन गएको अनुमान गर्न सकिन्छ । यस पर्वलाई नेपालको राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ । मान्यजनको आशीर्वाद, निधारभरि टीका र कानमा जमरा, लगाउनु दशैँ पर्वका विशेषता हुन् ।

दुर्गा भवानी

यस पर्वमा नौ दिनसम्म देवीका विभिन्न रूपको पूजा अर्चना, फूलपाती महोत्सव आदि कार्यक्रमहरू गरिन्छन् विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । भगवान रामले यसै दिन रावणको वध गरेका थिए यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । 

दशैँको टिका जमरा ग्रहण पश्चात सामुहीक तस्वीर खिचाउँदै

विजया दशमीमा टिका जमरा लगाउँदा पुरूषलाइ दिने आशिर्वाद 


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

दशैँको टिका र जमरा

विजया दशमीमा टिका जमरा लगाउँदा पुरूषलाइ दिने आशिर्वाद 

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोस्स्तुते।

तिहार

हिन्दु धर्मावलम्वी हरूको दोश्रो महान चाड तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि ५ दिनसम्म मनाइने यो पर्व दाजुभाइ, दिदी बहिनीहरूको स्नेह र शुभेच्छाको पर्व हो । यी ५ दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ आई बसेको र यमुनाले उनको सेवा र पूजा गरेको घटनालाई यससँग आबद्ध गरी यो ५ दिनलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यस पर्वमा काग, कुकुर, लक्ष्मी, गोवंशको पूजा गर्दै अन्तिम दिन भाइ पूजा गर्ने गरिन्छ । यस दिन दिदी बहिनीहरूले आफ्ना दाजुभाइहरूको सुख समृद्धि र दीर्घायुको कामना गर्दै टीका लगाई मिष्ठान्न खुवाउने गर्दछन् । यस अवसरमा भैलो तथा देउसी खेली मनोरञ्जन गरिन्छ ।

भाइटिका

 यमपञ्चकको पाँचौं दिन भाइटीका पर्दछ। दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन रहेको छ। यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।

त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिने गरिन्छ ।

उमेरले ८० काटेका दिदि र भाइको भाइटिका

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् ।

सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।

काग तिहार – कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर काग तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।  यमराजसमक्ष कागले राम्रो खबर लगिदियोस् भनेर कागतिहारको दिन मीठा–मीठा खानेकुरा खन दिई कागलाइ खुसी पार्ने प्रचलन रहेको छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल भनी भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

काग तिहार

कुकुर तिहार यमपञ्चक अर्थात तिहारको दोस्रो दिन  घरघरमा  कुकुरको पूजा गर्दै मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाउने गरिन्छ । यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका साथ यमपञ्चकको दोस्रो दिन  घरघरमा कुकुरको प्रचलन रहेको छ । शास्त्रहरुमा उल्लेख भए अनुशार कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामा समेत साथ दिएको उल्लेख छ ।  घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या समेत बढ्न थालेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

कुकुर तिहार तस्विर : BRT Nepal

गाइ तिहार अर्थात लक्ष्मी पूजा
कार्तिक कृष्ण औंशीको दिन अर्थात यम पञ्चकको तेस्रो दिन  गाईको पूजा गर्ने गरिन्छ । गाईको पूजाआजा गरि गाइलाइ चामलको रोटी, चामलको पिठो, नुन खुवाइ तोरनको माला लगाएर पुजीने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ ।क्ष्मी पुजाको दिन गाईको पनि पुजा गरे सुख–सम्वृद्धी मिल्नुका साथै धनलाभ पनि हुने मान्यता छ ।

गाइ तिहारमा गाइको पुजा गर्दै तस्वीर eKantipur

गाइ तिहार औंशीको दिन पर्ने भएकोले त्यस राती अन्धकार हुने र अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न  घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता रहँदै आएको छ ।

 

तीज

तीज नेपाली नारीहरूको विशेष पर्वको रूपमा मनाइने गरिन्छ । यो चाड भाद्र शुक्ल तृतीयाका दिन पर्दछ । हिन्दू नारीहरूका लागि यो विशेष चाड हो । यस दिन नारीहरू मात्र उपवास बसी व्रत लिन्छन् । नारीहरूले इच्छाअनुसारको पति
पाउनका लागि र आफू सौभाग्यवती रहनका लागि यो व्रत लिने प्रचलन छ ।

तिजमा नाँचेर गाएर रमाइलो गर्दै महिलाहरू

हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ। पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने न घर न थर भएका,  विष भाङ, धतूरो खाने दिगम्वर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन्।

पार्वतीले चुपचाप आँशु  बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जली दिइनन् । आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गइ पानी पनि नखाइ व्रत  बसिन्। ‘हरिता भनेको हरण गरिएकी र ‘ अलिका” भनेको साथीहरूबाट । हरितालिका भनेको साथीहरूबाट हरण गरिएकी भन्ने हुन्छ त्यसैले आज पनि यो पर्व साथीहरूसँग मिलेर मनाइन्छ।

 

महाशिवरात्री

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको दिन पर्ने यो दिन काठमाडौँको पशुपतिनाथको मन्दिरमा र अन्यन्त्र स्थापित शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो जमघट हुन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रीको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्दछन । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । महाशिवरात्रीका दिन नेपालमा सैनिक दिवस मनाइन्छ ।

भगवान शिव
चैते दशैँ

चैत शुक्ल अष्टमीका दिन मनाइने यो पर्वलाई सानो दशैँ पनि भनिन्छ । लमजुङ् जिल्लामा दुरा जातिले यो पर्व विशेष धुमधामका साथ मनाउँछन् । यस दिनमत्सेन्द्र नाथको रथयात्रा गरिन्छ । त्यस्तै हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन अहिले पनि रहेको छ ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

बुद्ध जयन्ती

इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म भएको, वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेको र इसापूर्व ४५३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन निर्वाण प्राप्त गरेकोले ‘वैशाख शुक्ल पूर्णिमा’ बुद्ध जयन्तीका रूपमा मुलुकभर
मनाइन्छ । यस दिन बौद्ध मठ, गुम्बा एवं विहारहरूमा ठूलो जमघट हुन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

ल्होसार

उत्तरी हिमाली खण्डको शेर्पा, भोटे, गुरुङ, थकाली र मगर जातिहरू तिब्बती क्यालेण्डरअनुसार नववर्षारम्भको अवसरमा माघ महिनातिर पर्ने ल्होसार पर्व विशेष उत्साहका साथ मनाउँछन् । वर्षको गणना मुसा, गाई, बाघ, बिरालो, गरूढ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुरको नाममा गरिन्छ र प्रत्येक १२ वर्षमा यो चक्र दोहोरिन्छ । विभिन्न प्रकारका ल्होसारमध्ये सोनाम, तमु र ग्याल्वो ल्होसारमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको पाइन्छ ।

ल्होसार मनाइदै
श्रीपञ्चमी

माघ शुक्ल पञ्चमीका दिन मनाइने पर्वलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी भनिन्छ । यो वसन्त आगमनको प्रतीकको पर्व हो । यस दिन सरस्वती देवीकोपूजा आराधना गरिन्छ । सरस्वतीको स्तुति गरिन्छ । विभिन्न मन्दिरहरू र घरघरमा भक्तिपूर्वक पूजा गरी मन्दिरका भित्ताहरूमा सरस्वतीको नाम लेख्नाले पढ्न आउँछ भन्ने विश्वास गरिन्छ । यसै दिन हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त ऋतुसम्बन्धी श्लोकहरू सुन्ने कार्यलाई वसन्त श्रवण भनिन्छ ।

 

जनैपूर्णिमा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनलाई जनैपूर्णिमा÷ऋषितर्पणी पूर्णिमा भनिन्छ । त्यसदिन नयाँ जनै लगाउनका साथै पुरोहितहरूद्वारा रक्षाबन्धन (पहेँलो वा रातो धागोको डोरो बाँधिन्छ र दक्षिणा दिइन्छ । कतिपय समुदायमा नौ किसिमका गेडागुडीलाई भिजाएर टुसा उमारी क्वाँटी खाने गरिन्छ । तराई क्षेत्रका विभिन्न समुदायले सो दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर एक अर्काको दीर्घायुको कामना गर्दछन् ।

जनै पुर्णीमा तथा रक्षाा बन्धन
उधौली पर्व

यो राई जातिहरूले मान्ने पर्व हो । यो पर्व एउटा उधौली र अर्को उभौलीको रूपमा वर्षमा दुईपटक मनाइन्छ । यो पर्वमा कसैले चन्डीनाचका रूपमा, कसैले साकेला वा साकेवाका रूपमा र कसैले वैशाखे तथा वाडाङमेटको रूपमा मनाउने चलन छ । राई जातिहरूको पनि फरक फरक संस्कृति भएकाले यो पर्व पनि फरक फरक समय र नामबाट विभिन्न ढङ्गले मनाइन्छ । उभौली वैशाख, जेठतिर मनाइन्छ भने उधौली कात्तिक, मङ्सिर महिनातिर मनाइन्छ । यस पर्वमा नाक्छोङ वा पुजारीले चन्डी थान, मार्गाथान, माङ्खिम आदि ठाउँमा मुन्धुम भनेर पूजाआजा गर्ने गर्दछन् । प्रत्येक घरघरमा पितृको पूजा गर्ने, ढोल, झ्याम्टा बजाएर नाचगान गर्ने र मीठामीठा खानेकुरा खाएर यो पर्व मनाउने चलन छ ।

जुडशीतल

नेपालीहरू वैशाख १ गतेलाई नववर्ष मान्दछन् भने मैथली संस्कृतिमा वैशाख २ गते जुडशीतल पर्ने र सोही दिनदेखि नव वर्ष सुरु भएको मानिन्छ । यस अवसरमा मिथिलामा सामूहिक भोजन र रङ्गारङ्ग कार्यक्रम आयोजन गरिन्छ । छरछिमेकीमा अविर, रङ्ग, हिलो छ्यापछ्याप गरी होलीको जस्तै उत्साहमय वातावरणमा यो पर्व मनाइन्छ । यस पर्वका दिन ठूलाबडा अभिभावकहरू बिहानै उठी स्नान गरी नित्यकर्म पूरा गरी लोटामा पवित्र शीतल जल लिएर सोही जललाई दाहिने हातको अञ्जुलीमा राखी आशीर्वचनका साथ अभिषेक गरिने हुँदा यस पर्वको नाम जुडशीतल रहन गएको हो भन्ने विश्वास छ ।

ईद

नेपालमा ईस्लाम धर्मावलम्बीहरूले ईद पर्व उत्साहका साथ मनाउँदछन् । हिजरील संवत्को रमजान महिनाभर ईद मनाइन्छ । यस धार्मिक अवसरमा सामथ्र्य भएका व्यक्तिहरूले आफ्नो अढाई प्रतिशत गरीब गुरुवालाई दान दिई यिनीहरूको जीविकाका लागि केही न केही प्रबन्ध गर्छन् । यस पर्वमा कुरान पाठ गर्ने, नमाज पढ्ने र पशुहरूको बलि (कुर्बान) दिनेजस्ता काम गरिन्छ ।

नेपाली मुसलमान ईद मनाउँदै तस्वीरः बिबिसि
कुमारषष्ठी वा सिथी नखः

सिठी वा सिथी नखः नेवार समुदायको प्रसिद्ध पर्व हो । जेठ शुक्ल षष्ठीका दिन मनाइने यस पर्वमा कुमार कार्तिकेयको विशेष विधिले पूजा गरी खटयात्रा गर्ने गरिन्छ । यसै दिन प्रायः नेवारहरूको देवाली पूजा हुने गर्दछ । यो चाड कृषक समुदायका प्रसन्नता र समृद्धिसँग पनि सम्बन्धित छ ।

चासोक ताङनाम

हिन्दूहरूको महान पर्व विजयादशमीजस्तै किराँत समुदायका लिम्बू जातिको विशिष्ट महान पर्व चासोक ताङ्नाम प्रत्येक वर्ष कार्तिक महिनामा पर्दछ । न्वागी पूजासमेत भनिने चासोक ताङ्नाम पर्वमा नयाँ पाकेका फलफूल (अन्न, फलफूल)देवी देवताहरूलाई चढाएरमात्र आफूले खाई रातभर यालङ्मा, च्याव्रुङनाच नाच्दै, हाक्पारे गीत गाउँदै रमाइलो गरिन्छ । यो पर्व लिम्बू जातिको ऐक्यवद्धता, साझा,समृद्ध, संस्कृतिको प्रतीकको रूपमा मनाइन्छ ।

गौरापर्व (गोहरा)

नेपालको मध्यपश्चिमाञ्चल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा र भारतको कुमाऊ र गढवाल क्षेत्रमा मनाइने यो पर्वमा विभिन्न जातिका महिलाहरूले सामूहिक रूपमा शिवपार्वती, गणेशको पूजाअर्चना गर्ने परम्परा छ । स्थानगत आधारमा गोहरासमेत भनिने यो पर्वमा मासको पीठोको मूर्ति बनाई पूजा गरिन्छ ।

मन्दिरमा फूल, चन्दन, अक्षता, धूपका अतिरिक्त जाैँ, गहुँ, मास, केराउ मिश्रित पञ्च विरुडी चढाइन्छ । भाद्र कृष्णाष्टमीदेखि ३ दिनसम्म मनाइने यो पर्वमा अष्टमीका दिन महिलाहरू उपवास बसी घाँसद्वारा निर्मित शिव पार्वती गणेशका मूर्ति (साउ) को पूजाअर्चना गर्ने, भजन कीर्तन गर्ने अठवाली कर्म गर्दछन् ।

पाता मेला

नेपालका आदिवासी सतार जातिले मनाउने यो पर्वमा झापा जिल्लाको ज्यामिर र भारतका सन्थालहरू हजारौँको सङ्ख्यामा सहभागी भई शिव पार्वतीको पूजा अर्चना गर्दै नाचगानका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

सिरुवा पर्व

नव वर्षको उपलक्ष्यमा झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जातिले आफ्ना कुलदेवताको पूजा गरी हिलो तथा रङ्ग छ्यापाछ्याप गर्दै सिरुवा पर्व मनाउँछन् । राजवंशी जातिको महत्वपूर्ण सिरुवा पर्वको बेलामा लसुन र प्याज घरबाहिर झुण्ड्याइन्छ ।

महाभारतकालमा परशुरामले क्षेत्रीय जातिविहीन पृथ्वी बनाउन क्षेत्रीयहरूलाई मार्दै हिँड्ने क्रममा राजवंशी जातिलाई मार्न लाग्दा लसुन, प्याज ढोकामा झुण्डयाएको देखेकाले उनीहरू बचेको आख्यान भएकोले अद्यापि लसुन प्याज झुण्ड्याउने परम्परा छ । यसैदिन ७ प्रकारका तरकारी मिसाएको सागजाती बनाएर खाने गरिन्छ ।

सिरुवा पर्वमा राजवंशी समुदायका कुलदेवता ठाकुर विसरीको पूजा गर्नुका साथै टिष्टाबुढीका नामले टिष्टा नदीको पनि पूजा गरिन्छ । यो पर्व राजवंशी जातिका अतिरिक्त थारू, ताजपुरीया, कहार, गनगाई जातिले पनि उत्साह र उमङ्गका साथ मनाउने गर्दछन् । यो अवसरमा हाटमेला भर्ने र गान बजान गरी रङ्गारङ्ग नृत्य गर्ने गरिन्छ ।

पेन्दिया

मध्य तथा सुदूरपश्चिम नेपालका थारूहरू आफ्नो खेतीपाती सकेर खलिहान (धान झार्न बनाइएको समतल ठाउँ बाट सबै अन्न भित्राएको दिनलाई पेन्दियाको रूपमा मनाउँछन् । यस दिन थारू समुदायका गुरु पुरोहितले खलिहानमा विशेष
किसिमको पूजा गर्दछन् ।

गढीमाई मेला

बारा जिल्लाको वरियारपुरमा ५÷५ वर्षको अन्तरालमा गढीमाईको मेला लाग्दछ, जहाँ नेपाल र भारतका लाखौँ भक्तजनहरू मेला भर्न आउँछन् । यस मेलामागढीमाईलाई राँगा, बोका र पङ्क्षी हरूको भोग चढाइन्छ ।

गुँला धर्म

बौद्धमतानुयायी नेवारी समुदायमा श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला उत्सव मनाइन्छ । यसअन्तर्गत भक्तजनहरू बुद्ध भगवानको दर्शनार्थ बौद्धमठ तथा विहारमा जान्छन् । यस अवसरमा पञ्चदान, विभिन्न देवीदेवताहरूको सार्वजनिक प्रदर्शन र मतया गरी तीन चरणमा यो उत्सव सम्पन्न गरिन्छ । आफन्त मृतकहरूको सम्झनामा तीर्थस्थलहरूमा बत्ती बाली दर्शनार्थ जाने आत्याजात्रा भाद्रकृष्ण द्वितीयाका दिन पर्दछ । यसै दिन भगवान बुद्धले मार विजय गरेको मानिन्छ ।

तोरनल्ह (पितृपूजा)

नेपालमा थकाली समुदायमा पितृपूजाका रूपमा प्रचलित यो पर्व फागुपूर्णिमाको एक दिनअगाडि सुरु भई फागुपूर्णिमाको भोलिपल्ट (३ दिन) सम्म मनाइन्छ । यो अवसरमा पितृहरूलाई खिमि (पीक) दान गरिन्छ । यो पर्वमा मध्यरातपछि र विहान  कुखुरा बास्नुभन्दाअगाडि घरकी प्रमुख महिलाले स्नान गरी शुद्ध भएर सालको पातमा राखेर मृतक पितृहरूको सम्झना गरी पिण्डदान गर्ने गरिन्छ । पिण्डदान कार्यमा पुरूषजातिको सहभागिता हुँदैन ।

यस अवसरमा मेवा–मिष्ठान खाने, राम्रा नयाँ कपडा लगाउने, आफन्त इष्टमित्रहरूसँग भेघटाट गर्ने आदिका अतिरिक्त पुरूषहरूबीच धनुवाण हान्ने प्रतियोगिता (तारो खेल) र महिलाहरूमा ढुङ्गाको गट्टा खेल्ने प्रतियोगिता आयोजना गरिन्छ ।

ट्रहुटे पर्व

गाउँबस्तीलाई विभिन्न विकृतिहरूबाट बचाउन, वन्य जीवजन्तुहरूबाट बालीनाली, पाल्तु जीवजन्तु र मानिसको समेत रक्षाका लागि, बाह्य आक्रमणबाट गाउँबस्तीको रक्षा गर्न तम्सेका तमु राजा मेसरो र उनका वीर योद्धाहरूको लोककथा र गाथाहरूलाई स्मरण गर्दै भकिम्लोबाट निर्मित हातहतियारबाट सुसज्जित भई चर्को स्वरमा कराउँदै र ठूलो आवाजका ढोल, ढ्याङ्ग्रो र याम्रो बजाउँदै आफ्नो शत्रुलाई गाउँबस्तीको सीमापारी कटाएको प्रतिकात्मक अभिनय गुरुङ (तमू जातिको मनाउने ट्रहुटे पर्वमा प्रस्तुत गरिन्छ । सुख, शान्ति, निर्भयको कामना गर्दै अनुहारमा कालो लगाई शिरमा पन्क्षीहरूका प्वाँख सिउरेर बाजागाजा बजाएर नाच्दै मनाइने पर्वले गुरुङ (तमू भेषभूषा, रहनसहन, संस्कृतिको प्रतिनिधित्व गर्दछ ।

माघे सङ्क्रान्ति

सूर्य राशिचक्रमा १० औँ स्थानमा मकर राशिमा प्रवेश गर्दा मकर सङ्क्रान्ति हुन जान्छ । उत्तरायणको सुरुवात हुने र माघ महिनाको पहिलो दिन पर्ने हुँदा यसलाई माघे सङ्क्रान्ति पनि भनिन्छ । यस दिन मकर स्नान गरी पूजाआजा गरी देवीदेवताको दर्शन गर्ने गरिन्छ । सूर्य राशीचक्रको चौथो कर्कट राशीमा प्रवेश गर्दा कर्कट सङ्क्रान्ति हुन्छ । उक्त दिन नुवाकोटको तारुकामा गोरु जुधाउने पर्व मनाइन्छ ।

माघे सक्रान्तीमा गुल्मीको रिडी मेलामा तिर्थालुहरू
रामनवमी

त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन भगवान विष्णुका १० अवतारमध्ये एक मर्यादा पुरूषोत्तम रामको जन्म भएकोले रामको पूजा अर्चना गर्दै रामनवमीका रूपमा मनाइन्छ । तराई क्षेत्रमा चैते दशैँ (सानो दशैँ को महइभ्व नभए पनि त्यसैको अर्को दिन रामनवमीलाई हर्ष एवं उल्लासका साथ मनाइन्छ । यो दिन नेपालको जनकपुर क्षेत्र, भगवान रामको जन्मभूमि (अयोध्या) र अन्यत्र रहेका राम मन्दिरहरूमा भगवान राम र देवी सीताको विशेष पूजा अर्चना गरिन्छ ।

मातृऔँसी अर्थात आमाको मुख हेर्ने दिन

नेपालमा प्रत्येक वर्ष मनाइने विभिन्न चाड पर्वोत्सवमध्ये आमा र आफन्नाे देशको गुण सम्झने प्रेरणा प्रदान गर्न सक्ने खालका माैलीक चाड पर्वोत्सवहरू पनि छन । जसमा बैशाख कृषण अैाँशिको दिन मनाइने मातृअैाँशी प्रख्यात पर्वोत्सव पनि एउटा हो । याे दिन आमाको महत्वपुर्ण गुण सम्झने प्रेरणा प्राप्त गरी आमा प्रती रहेको श्रध्दा भक्ती प्रकट गर्ने दिन भएकाले मातृअैाँसीको नामले प्रख्यात छ ।

यसदिन छोराछोरीले आमालाई हर्षपूर्वक मानमर्यादा गरी श्रद्धाका साथ मीठा– मीठा खानेकुरा ख्वाई प्रसन्न तुल्याउनुपर्दछ । यस कार्यद्वारा प्रसन्न भएकी आमाले प्रदान गरेको आशिर्वादको प्रभावले छोराछोरीलाई ठूलो फल प्राप्त हुन्छ भन्ने मान्यता रहकाे पाइन्छ । आमा नहनु हरू यस दिन काठमाडाैको मातातीर्थ नामक तीर्थमा  वा अन्य तिदार्थीमा गइ  सिदा तथा पिण्ड दान गर्ने गरिन्छ । त्यस कार्यवाट दिवङ्गत माता प्रसन्न भई दिएको आशिर्वादको प्रभावले छोरा–छोरीहरू जन–धनले सुसम्पन्न भई महासुख भोग गर्न पाउने हुन्छन् भन्ने जनविश्वास पाइन्छ ।

नागपञ्चमी

नेपालभरमा प्राचीन समयदेखि प्रत्येक वर्ष ऋषिपञ्चमी, श्रीपञ्चमी आदि प्रमुख पञ्चमीका तिथिका दिनहरूमा मनाइने पर्वोत्सवहरूमध्ये घर–घरका ढोकाहरूमा नागपटहरू अर्थात् नाग लेखिराखेका चित्रहरू टाँसी तिनीहरूमा र नागका प्रतिमाहरूमा विधिपूर्वक पूजा गरी श्रावणशुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी नामक पर्वोत्सव पनि एउटा हो ।

छठ पर्व

विशेषतः पूर्वी एवं मध्यतराईक्षेत्र (धनुषा, महोत्तरी, सर्लाही) क्षेत्रमा मानिने सबैभन्दा ठूलो र महइभ्वपूर्ण चाड छठ हो । यो कार्तिक शुक्ल पक्ष षष्ठीमा खासगरी जनकपुरमा धुमधामले मनाइन्छ । जनकपुरका गङ्गासागर, धनुषासागर, रत्नसागर, अग्निकुण्ड, विहारकुण्ड र पापमोचनीजस्ता तीनसयजति सागर कुण्डहरू तथा पोखरी र २७ वटा नदीहरूमा वर्तालुहरू सुर्याेदय अघीनै नदि किनारामा गइ  पानीमा छातीसम्म डबु रे स्नान ध्यान गररे सुर्यपासना, अराधाना र आरतीका पूर्व प्रकाशको प्रतिक्षा गर्दछन ।

सप्तमीको विहान सुर्याेदय अघी जलकिनारमा पुगी  सुर्याेदयमा नैवेधासमेत अर्घ दान गरिन्छ । आफनो भाकल वा मनाेकामना पुरा होस भन्नाका लागि कतिपय व्रतालुहरू चाँही छातीले घस्रेर नदी किनारा वा पोखरी छेउँ पुगी आफ्नो कठोर साधनाबाट व्रत पूरा गर्छन् । षष्ठीको साँझ सूर्यास्त हुने बेलामा प्रसाद र नैवेद्यादि लिएर अस्ताउँदोको सूर्यलाई प्रणाम गर्दछन । सूर्याेपासनबाट मनोकामना पुरा गर्न भाकल गर्नेले बिशेष रूपमा पुजा गर्ने याे पर्व हाल काठमान्डाै उपत्यका लगायत देशैभरी मनाउन थालीएकाे छ ।

होली

हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई होली पूर्णिमा भनिन्छ । यो हिन्दूहरूको एउटा महइभ्वपूर्ण चाड हो । होली रङ्गहरूको चाड हो । फागुन महिनामा मनाइने हुनाले यस चाडलाई फागु पूर्णिमा पनि भनिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चीर (विशेष रूपले सजाएको लिङ्गो गाढेपछि होली सुरु भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीरलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । यस पर्वको वर्णन नारद पुराण, भविष्य पुराणजस्ता प्राचीन ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ । यो पर्व प्राचीन समयका नास्तिक हिरण्यकश्यपु, तिनका छोरा प्रल्हाद र बहिनी होलिकाको कथासँग जोडिएको छ । यस पर्वमा पहाडमा पूर्णिमाको दिन र तराईमा भोलिपल्ट सार्वजनिक बिदा हुन्छ ।

कुशे औँसी अर्थात वावुको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीको दिन कुशेऔँसी पर्दछ । यस दिन बा्रह्मणहरूले जुनसुकै शास्त्रीय नित्य नैमित्तिक
कर्महरूमा नभई नहुने पवित्र कुशहरू शास्त्रोक्त वचनानुसार विधिपूर्वक पूजा गरी छेदन गरेर यस दिन कुशका मुठा घरमा राख्नाले कल्याण हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।

त्यसैले त्यस कुशको नामवाट यस पर्वाेत्सवको नाम कुशे अैाँसी रहन गएको पाइन्छ । यसदिन छाेराछोरीले आफना बाबुलाइ ठुलो श्रध्दा भक्तीका साथ रूची अनुसारका खाध्य वस्तु खुवाइ आशिर्वादको कामना गर्ने चलन रहेको छ । बाबु नहुनेहरूले आफना बाबुको नामबाट सिधादान, श्राध्द, आदी गरेर गुरू पुराेहीतहरूलाइ आफना बाबुको प्रतिक मानेर खाध्य वस्तु खुवाउने गरिन्छ ।

क्रिसमस

विश्वका अन्य मुलुकका क्रिश्चियन धर्मावलम्बीजस्तै नेपालमा पनि इसाई धर्मावलम्बीहरूले २५ डिसेम्बरमा धुमधामसँग क्रिस्मस मनाउँछन् । मानिसबाट भएको पापको प्रायश्चितका खातिर यशु ख्रीष्टको क्रसमा झुण्डिएर भएको बलिदानीको स्मरणस्वरूप मनाइने यस पर्वमा इसाई धर्मावलम्बीहरूले विश्व शान्ति, प्रेम र आशाका निम्ति चर्चहरूमा गई प्रार्थना गर्ने र शुभकामना एवं उपहारको आदानप्रदान गर्ने गर्दछन् ।

नेपाल सरकारले प्रकाशन गरेको नेपाल परिचय नामक किताब र अन्य विभीन्न श्राेतहरू को सहयाेगमा याे लेख चिनारी नेपालले प्रकाशन गरेको हाे । आवश्यक सुझाव तथा सल्लाहको लागी  chinari2020@gmail.com मा  सम्पर्क गर्न सक्नुहुने छ । कुने पनी स्थान बिशेस को लेख रचना प्रकासन गर्न मन लागेमा माथीको सम्पर्क ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published.