परिचय
नेपालको मध्यपहाडी क्षेत्रमा चारैतिर पहाडले घेरेको समुद्र सतहदेखि १३३७ मिटर उचाइमा रहेको समथर भू–भागमा काठमाडौँ उपत्यका अवस्थित छ । यहाँ समशितोष्ण हावापानी पाइन्छ । काठमाडौँ नेपालको राजधानी भएकोले यहाँ जनसंख्याको चाप अत्यधिक छ । काठमाडौँलाई मुलुकको राजधानी रहेको स्थानको रूपमा भन्दा प्राचीनकालको इतिहास बोकेको मन्दिरै–मन्दिर र चाडपर्वहरूको बाहुल्य भएको स्थानको रूपमा लिनुपर्दछ ।

ऐतिहासिक स्थलहरू
तिब्बतबाट आएका महामञ्जूश्रीले ठूलो तलाउ रहेको स्थानमा वरदा र मोक्षदा भन्ने शक्ति स्थापना गरी चोभारडाँडा काटेर पानी बाहिर पठाई सुन्दर सहरको सिर्जना गरेर काठमाडौँ नगरको निर्माण भएको हो भन्ने किंवदन्ती रहेको छ । यस उपत्यकामा रहेका काठमाडौँ दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूस्तुप, बौद्धस्तुप र चाँगुनारायण मन्दिरसमेतका ख्यातिप्राप्त ऐतिहासिक स्थलहरू विश्व सम्पदा सूचीमा समेत परेका छन् ।

काठमाडौँ उपत्यकालाई खुल्ला सङ्ग्रहालयको रूपमा नै लिन सकिन्छ । काठमाडौँमा २० की.मी.को दूरीमा विश्वसम्पदा सूचीमा परेका ७ वटा सम्पदाहरू रहेका छन् । यी सम्पदाहरूको उपस्थितिले काठमाडौँ उपत्यकालाई विश्वप्रसिद्ध सहरको रूपमा स्थापित गरेको छ । यी सम्पदाहरूको उचित संरक्षणले यस उपत्यकालाई अनन्त कालसम्म विश्वको एउटा महत्वपुर्ण पर्यटन केन्द्रको रूपमा प्रतिष्ठित बनाइरहने सम्भावना बोकेको देखिन्छ ।
भौगोलिक विभाजन
भौगोलिक विभाजनअनुसार काठमाडौँ नेपालको करिब करिब मध्यपहाडी खण्डमा पर्दछ । यहाँका प्रमुख नदीहरू बागमती र विष्णुमती हुन् । पशुपतिनाथ, गुहेश्वरी, स्वयम्भू, बौद्ध, बुढानिलकण्ठ, दक्षिणकाली, हनुमानढोका, गोकर्ण, टेकु, शालिनदी आदि यहाँ अवस्थित प्रमुख तीर्थधाम हुन् । काठमाडौँ राजधानी सहर हुनुको साथै देशको प्राचीन कला, कौशल, संस्कृति, सभ्यता एवं ऐतिहासिक श्रोतको भण्डार पनि हो ।

आकर्षण
यसको अतिरिक्त देशको प्रमुख शैक्षिक संस्थाहरू, आधुनिक जनशक्ति एवं उपकरणयुक्त अस्पतालहरू तथा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलसमेत यसै सहरमा अवस्थित भएको कारणले गर्दा पनि स्वदेशी तथा विदेशीहरूको लागि यो आकर्षणको केन्द्र बन्न पुगेको छ । वरिपरिबाट नगरकोट, नागार्जुन, शिवपुरी, चन्द्रागिरी र फुल्चोकीजस्ता मनोरम पहाडहरूले घेरिएको यस उपत्यकाको सुन्दरतालाई यी पहाडहरूको उपस्थितिले अझै बढाएको छ ।

काठमाडौँ जिल्लाको रूपमा
नेपालको ७७ जिल्लाहरूमध्ये काठमाडौँ पनि एउटा हो । सामान्यतया काठमाडौँ, ललितपुर र भक्तपुरसमेतका ३ वटा जिल्ला समेटिएको समतल र वरिपरिबाट पहाडले घेरिएको होचो भागलाई काठमाडौँ उपत्यकाको नामले चिन्ने गरिन्छ । यो उपत्यकाभन्दा बाहिरका मानिसहरूले मूलतः यस उपत्यकालाई नै काठमाडौँको नामले चिन्ने गर्दछन् । काठमाडौँ जिल्लामा पर्ने काठमाडौँ सहर नेपालको राजधानी सहर रहनेछ भनी संविधानको धारा २८८ मा व्यवस्था गरिएको छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग की.मी. छ ।

प्रशासकीय केन्द्र र नामाकरणको आधार
ऐतिहासिक दरबार हनुमान ढोकाको नजिकमा रहेको काठैकाठले बनेको काष्ठमण्डपको आधारमा काठमाडौँको नाम रहन गएको हो भन्ने विद्वानहरूको भनाइ रहेको छ । ऐतिहासिक भवन सिंहदरबार प्रमुख प्रशासकीय केन्द्र हो । सार्क सचिवालय, काठमाडौँस्थित विभिन्न विदेशी राजदूतावासहरू, नेपाल राष्ट्र बैङ्क तथा अन्य केन्द्रीय कार्यालयहरू पनि काठमाडौँभित्र नै रहेका छन् ।

त्यसैले काठमाडौँ नेपालको राजनीतिक राजधानीको रूपमा मात्र नभई वित्तीय, शैक्षिक, न्यायिक, धार्मिक, तथा कूटनीतिक राजधानीको रूपमा समेत रहको छ । वीर अस्पताल तथा टिचिङ्ग हस्पिटलजस्ता देशका ठूला र साधन सम्पन्न अस्पतालहरू पनि रहेका छन् । काठमाडौँलाई त्रिभुवन राजपथ, कोदारी (अरनिको राजपथ र पृथ्वीराजपथ, बर्दिवास धुलिखेलजस्ता राजमार्गहरूले बाहिरी क्षेत्रहरूसित जोडेका छन् ।

काठमाडौँबाट भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र शुद्धोधनको राजधानी तिलौराकोट कपिलवस्तुको नजिकमा रहेको भैरहवा एवं देशको महइभ्वपूण पर्यटन केन्द्र पोखरा र सगरमाथाको काखमा अवस्थित रहेको नाम्चेजस्ता देशका विभिन्न क्षेत्रहरूसित हवाई सम्पर्क रहेको छ । मेचीदेखि महाकालीसम्मका प्रमुख सहरहरूमा पुग्ने दैनिक रात्रीबस सेवाहरू पनि नियमितरूपले सञ्चालन भइरहेका छन् ।

सञ्चार
रेडियो तथा टेलिभिजनका केन्द्रीय कार्यालयहरू र स्टेसनहरूको साथसाथै नेपाल दूरसञ्चार संस्थानको केन्द्रीय कार्यालय पनि काठमाडौँमै रहेको र नेपालबाट प्रकाशित आधाभन्दा बढी दैनिक तथा साप्ताहिक समाचार पत्रपत्रिकाहरू पनि काठमाडौँबाटै प्रकाशित हुने भएकाले काठमाडौँलाई नेपालको सञ्चारको राजधानी पनि भन्न सकिन्छ ।

पाँचतारे होटलहरू
सोल्टी, अन्नपूर्ण, याक एण्ड यति, एभरेष्ट जस्ता पाँचतारे होटलहरूसमेत यस महानगरमा रहेका छन् । हङकङबाट प्रकाशित हुने एशियाको प्रसिद्ध आर्थिक पत्रिका ASIA WEEK को सन् १९९८ डिसेम्बर ११ को अङ्कमा एशियाका बस्नको निम्ति सबैभन्दा उपयुक्त ४० वटा प्रमुख सहरहरूमा काठमाडौँको नाम २७ औं स्थानमा रहेको कुरा उल्लेख छ ।




स्राेतः नेपाल सरकार सुचना विभाग