परिचय
सुदुर पश्चिमाञ्चल प्रदेशका ९ वटा जिल्लाहरू मध्ये बाजुरा जिल्ला विकासका दृष्टिकोणले पिछडिएको जिल्ला हो । बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएतापनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो । केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, यहाँ पनि सहायक दरबार थियो । दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार वाज पठाउनु पर्दथ्यो ।

वाजभन्ने चरालाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाझ भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। शाहीबाज पार्न नसकेको झुर्रा बाझ पारेको खबर सहित पोथीलाई राजाको दरबारमा पठाएछन् । राजाले शाहीबाजको चाहना गरेको तर झुर्रा बाझ प्राप्त गरेकोले त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति छ ।

बाजुरा जिल्लाको परिचय भौगोलिक अवस्थिति
क्षेत्रफलः २१८८ वर्ग कि.मि.
खेती योग्य जमिनः २३३४५ हेक्टर (११।५ प्रतिशत)
खेती खेती नगरिएको जमिनः ८८१३ हेक्टर
चरण क्षेत्रः ३८०९५ हेक्टर
वन क्षेत्रः ९८६४६ हेक्टर
अन्यः ४२०९० हेक्टर
बाजुरा जिल्लामा रहेका प्रमुख नदिनालाहरू
१) कर्णाली नदि
२) बुढिगंगा नदि
३) कबाडि खोला
४) भाैनेरा खोला

बाजुरा जिल्लामा रहेका प्रमुख पर्यटकिय गन्तब्यहरू
१) खप्तड क्षेत्र ६) कालाजग्रा क्षेत्र
२) बडिमालिका क्षेत्र ७) सिन्तुवा क्षेत्र
३) बुढीनन्दा क्षेत्र ८) छेडेदह क्षेत्र
४) नाटेश्वरी क्षेत्र ९) गाैमुल क्षेत्र
५) सुनन्दा क्षेत्र
बाजुरा जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
बाजुरा जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार बाजुरा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | बडीमालिका नगरपालिका | बडीमालिका नगरपालिका (२-१२) | ९ |
२ | त्रिवेणी नगरपालिका | छतारा, तोली र कैलाशमाण्डौं गा.वि.स. | ९ |
३ | बुढीगंगा नगरपालिका | कुल्देबमाण्डौं, बाह्रबिस र ब्रम्हतोला गा.वि.स. | १० |
४ | बुढीनन्दा नगरपालिका | कोल्टी, कोटिला, पाण्डुसैन, बाँधु (८,९), जगन्नाथ (९) | १० |
५ | गौमुल गाउँपालिका | दहकोट, मानाकोट गा.वि.स. र बडिमालिका नगरपालिका (१) | ६ |
६ | जगन्नाथ गाउँपालिका | जगन्नाथ (१-८) र गोत्री गा.वि.स. | ६ |
७ | स्वामीकार्तिक खापर गाउँपालिका | साप्पाटा, जुकोट र वाई गा.वि.स. | ५ |
८ | खप्तड छेडेदह गाउँपालिका | काँडा, जयबागेश्वरी, गुदुखाती, डोगडी र आटिचौर गा.वि.स. | ७ |
९ | हिमाली गाउँपालिका | बिच्छ्या, रुगिन र बाँधु (१-७) गा.वि.स. | ७ |
जम्मा | ६९ |
१. नामः बडिमालिका नगरपालिका
श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो ।धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण गरिएको छ ।
९ वटा वडा भएको यस वडिमालिका नगरपालिकाको पूर्वमा बुढीनन्दा नगरपालिका र पाण्डव गुफा गाँउपालिका पश्चिममा गौमुल गाँउपालिका, खप्तड छेडेदह गाँउपालिका र बुढीगंगा नगरपालिका उत्तरमा बुढीनन्दा नगरपालिका र गौमुल गाँउपालिका पर्दछन् भने दक्षीणमा त्रिवेणी नगरपालिका रहेको छ । नगरपालिकाको प्रोफाइल अनुसार जम्मा संख्या ३१२९ घरधुरी रहेक छन् भने कुल जनसंख्या १७२२७ रहेको छ । यस नगरपालिकामा झन्डै ३० प्रतिशत घरधुरीहरु गरिवीको रेखामुनी रहेका छन् । जिल्लाको सदरमुकाममा अवस्थीत नगरपालिका भए पनि भौगोलिक विकटताका कारण क्षेत्रफलको हिसावले यस नगरपालिकाको केन्द्र मार्तडी सबै वडा बाट समान दुरीमा छैनन् ।
केन्द्रः साविक बडिमालिका नगरपा
जनसङ्ख्याः १८४१४ (२०७८ अनुसार)
क्षेत्रफलः २७६.०१ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बडिमालिका(२) | १५.६ | |
२ | २ | बडिमालिका(३) | १८.५८ | |
३ | ३ | बडिमालिका(४) | २७.२२ | |
४ | ४ | बडिमालिका(५) | ६.७४ | |
५ | ५ | बडिमालिका(६) | १७.४५ | |
६ | ६ | बडिमालिका(७,८) | ७५.६३ | |
७ | ७ | बडिमालिका(९) | ६७.४३ | |
८ | ८ | बडिमालिका(१०,११) | ४०.०५ | |
९ | ९ | बडिमालिका(१२) | ७.३१ | |
जम्मा | २७६.०१ |
बडीमालिका नगरपालिकाको नक्सा
२. नामः त्रिवेणी नगरपालिका
बाजुरा जिल्लको सदरमुकाम मार्तडी देखी दक्षिण भेगमा रहेको यो नगरपालिकाको नामाकरण यसै क्षेत्रको पर्यटकिय तथा धार्मिक स्थल त्रिवेणीको संगम स्थलको नाम बाट त्रिवेणी रहन गएको हो । राज्य पुर्नसंरचनाको क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर त्रिवेणी नगरपालिका बनेको हो । जनसंख्या र क्षेत्रफलको हिसाबले यो नगरपालिका जिल्लाकै तेस्रो ठुलो नगरपालिका हो ।
नगरपालिकाको श्री बडिमालिका मन्दिर, पैमागाउँमा रहेको बडिमालिका मन्दिरको भण्डा गृह, नाटेश्वरी मन्दिर, मौरे क्षेत्र, छतारा माईको मन्दिर, शैमाण्डौ, मष्टा देबताका मन्दिरहरु र कैलाश देवताका स्थानहरु यस क्षेत्रका प्रमुख धार्मिक तथा ऐतिहासक गन्तब्य स्थलहरु हुन । यस नगरपालिकामा प्राकृतिक रुपमा सुन्दर रमणिय रहेका विभिन्न सम्पदाहरु पाइन्छ । मुख्य रुपमा सुन्दर किम्नी झरना, धवलपुरी दह, त्रिवेणी पाटन जस्ता रमणिय स्थानहरु पर्यटक स्थलका रुपमा आकर्षण बनेका छन ।
त्रिवेणी पाटन र बडिमालिका मन्दिर वरपरका ठाउमा विभिन्न जातका जडिबुटी पाइन्छन । यो नगरपालिका बनजङ्गल भरीपुर्ण नगरपालिका हो । चराचुङगिमा डाफे, कालिज, बदेल, घोर झलर र रतुवा जस्ता दुर्लभ बन्य जन्तु यसै नगरपालकामा पाइन्छन । मालागाड, मानागाढ र कासेगाड खोला यस नगरपालिकाका उर्जाका प्रचुर सम्भाबना भएका खोला हुन ।
त्रिवेणी नगरपालिकाको जम्मा क्षेत्रफल १७०.३२ वर्ग किलो मिटर अर्थात १८१५८ हेक्टर रहेको छ । यस नगरपालिकाको केन्द्र त्रिवेणी नगरपालिकाको वडा नं. ४ तोली, बिमेलिमा रहेको छ । यस नगरपालिकाको पुर्वमा कालिकोट जिल्ला, उत्तरमा बडिमालिका नगरपालिका, पश्चिममा बुढीगंगा नदि नगरपालिका र दक्षिणमा अछाम जिल्ला रहेको छ । बाजुरा जिल्लामा रहेको बुढीगंगा नदी यसै नगरपालिकाको दक्षिण सिमाना हुदै बगदछ ।
केन्द्रः साविक तोली गा.वि.स.को
जनसङ्ख्याः १७७९८ (२०७८ अनुसार)
क्षेत्रफलः १७०.२२(वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | छतारा(१-४,६) | ६.४९ | |
२ | २ | छतारा(५,७-९) | ७.६७ | |
३ | ३ | तोली(१-३) | ४.६७ | |
४ | ४ | तोली(४-७) | ८.०१ | |
५ | ५ | तोली(८,९) | ६२.२१ | |
६ | ६ | कैलाशमाण्डौं(१,२) | ५१.९८ | |
७ | ७ | कैलाशमाण्डौं(३,४) | ८.०१ | |
८ | ८ | कैलाशमाण्डौं(५,६) | ४.३७ | |
९ | ९ | कैलाशमाण्डौं(७-९) | १६.८१ | |
जम्मा | १७०.२२ |
त्रिवेणी नगरपालिकाको नक्सा
३. नामः बुढीगगा नगरपालिका
बाजुरा जिल्लाका नौ वटा स्थानिय तह मध्ये बुढीगङ्गा नगरपालिका पनि एक हो। राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगङ्गा नगरपालिका बनेको छ । यस नगरपालिकाको नामाकरण बुढीगङ्गा नदीको नामबाट राखिएको हो। यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिका संग सिमा जोडीएको छ ।
बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौं (टाँटे) नौविसमा यस नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाउँदा बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवि भगवतिको मन्दिर जस्ता विभिन्न देवि देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका छन् ।
केन्द्रः साविक कुल्देबमाण्डौ गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २०१८५ (२०७८ अनुसार)
क्षेत्रफलः ५९.१९ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ब्रह्मतोला(२,३) | ६.८४ | |
२ | २ | ब्रह्मतोला(१,४,५) | ५.८२ | |
३ | ३ | ब्रह्मतोला(६-९) | ४.२७ | |
४ | ४ | कुल्देबमाण्डौ(१,२,५) | ८.३२ | |
५ | ५ | कुल्देबमाण्डौ(३,४,९) | २.६२ | |
६ | ६ | कुल्देबमाण्डौ(७,८) | १.९६ | |
७ | ७ | कुल्देबमाण्डौ (६) र बाह्रबिस(८,९) | ६.३६ | |
८ | ८ | बाह्रबिस(३,७) | ५.९४ | |
९ | ९ | बाह्रबिस(५,६) | ८.४५ | |
१० | १० | बाह्रबिस(१,२,४) | ८.६१ | |
जम्मा | ५९.१९ |
बुढीगंगा नगरपालिकाको नक्सा
४. नामः बुढिनन्दा नगरपालि
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । विगतको प्रशासनिक विभाजन अनुसार सेती र महाकाली अञ्चल अन्तर्गतका ९ जिल्ला रहेको यस प्रदेशको बाजुरा जिल्ला सेती अञ्चलमा पर्ने पहाडी जिल्ला हो । राज्यको पुर्नसंरचना अनुसार यस जिल्लामा ९ वटा स्थानीय तह रहेका छन जसमा ४ नगरपालिका र ५ गाँउपालिका छन ।यस जिल्लामा रहेका ४ नगरपालिका मध्ये बुढीनन्दा नगरपालिका पनि एक नगरपालिका हो ।
बुढीनन्दा नगरपालिका बाजुरा जिल्लाको पुर्वी दक्षिणी क्षेत्रमा अवस्थित रहेको छ।बाजुरा जिल्लाको पुर्वी दक्षिण भागमा अवस्थित यो नगरपालिका प्राकृतिक सम्पदामा धनी तर भौगोलिक विकटताको कारण विकासमा ओझेलमा परेको छ। यस नगरपालिकाको पश्चिममा बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका र उत्तरमा हिमाली तथा गौमुल गाउँपालिका रहेका छन । साविकका ५ वटा गा.वि.स मिलाएर यस नगरपालिकाको निर्माण भएको हो ।
बाजुरा जिल्लाको दक्षिण पुर्वी भेगमा अवस्थति यो नगरपालिका साविकको कोल्टी गा.वि.स. का सम्पुर्ण वडाहरु, साविकको कोटिला गा.वि.स. का सम्पुर्ण वडाहरु, साविक को जगन्नाथ गा.वि.स. को ९ नं.वडा र बाँधु गा.वि.स. को ८ र ९ नं. वडाहरु समायोजन भर्इ गठन भएको एक नगरपालिका हो । यस नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन । यो नगरपालिकाको अक्षांश २२ डिग्री २२ मिनेट ४० सेकेन्ड उत्तरदेखि २९ डिग्री ३९ मिनेट ४० सेकेन्ड उत्तरसम्म र देशान्तर ८१ डिग्री ३२ मिनेट २० सेकेन्ड देखि पूर्वेदेखि ८१ डिग्री ४३ मिनेट २० सेकेन्ड पुर्व सम्ममा फैलिएको छ।
बाजुरा जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थति यो नगरपालिका जिल्ला सदरमुकाम मार्तडी देखि ३८ कि.मि दुरीमा रहेको छ । उष्ण जलावायुको प्रभाव देखिने यस भेगमा हिउँदमा कम बर्षा हुने गर्दछ भने बर्षातको समयमा भारी बर्षा हुने गर्दछ । सयम सयममा बड्डीगाड, खुल्मीगाड र धुपे खोलामा बर्षायाममा आउने बाढीबाट यो नगरपालिका बढी प्रभावित रहेको छ । उष्ण हावापानी हुने भएकोले यस क्षेत्रमा अन्न बालीमा धान, गहुँ, मकै, तेलहन त्यसैगरी दाल बालीमा मुसुरो अरहर, सिमी फलफुलमा केरा, मेवा, स्याउ र ओखर उत्पादन हुने गरेको पार्इन्छ ।
कृषि यस नगरपालिकाको मुख्य पेशा रहेको छ ।यस नगरपालिकामा कृषि तथा पशुपालनको क्षेत्रमा करिब ९० प्रतिशत मानिसहरु संलग्न रहेका छन । १.१ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः बाजुरा जिल्लाको पूर्वी दक्षिण भेगमा अवस्थित २३२.४8 बर्ग कि.मि क्षेत्रफलमा फैलिएको बुढीनन्दा नगरपालिकाको भु-आकृति स्वरुप करिव सबैजसो पहाडी भुभाग रहेको छ । यस नगरपालिकाको पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका, पश्चिममा बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली र गौमुल गाउँपालिका रहेको छ ।
केन्द्रः साविक कोल्टी गा.वि.स.
जनसङ्ख्याः २००७२ (२०७८ अनुसार)
क्षेत्रफलः२३२.४९ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाँधु (८,९),कोल्टी (१) र जगन्नाथ(९) | २३.०४ | |
२ | २ | कोल्टी(२,३) | ५.०९ | |
३ | ३ | कोल्टी(४,८,९) | ३८.९२ | |
४ | ४ | कोल्टी(५-७) | १०१.८४ | |
५ | ५ | कोटिला(१-४) | ७ | |
६ | ६ | कोटिला(५-९) | १३.७२ | |
७ | ७ | पाण्डुसैन(१-४,९) | २४.६५ | |
८ | ८ | पाण्डुसैन(८) | ८.२२ | |
९ | ९ | पाण्डुसैन(६,७) | ७.१६ | |
१० | १० | पाण्डुसैन(५) | २.८५ | |
जम्मा | २३२.४९ |
बुढीनन्दा नगरपालिकाको नक्सा
५. नामः गौमुल गाउँपालिका
गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ । साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर वग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ । उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोेले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण गरिएको पाईन्छ ।
बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये गौमुल गाउँपालिका दुर्गम र भौगोलिक रुपमा विकट गाउँपालिका हो । यस गाउँपालिकाको सिमाना पूर्वमा बुढिनन्दा नगरपालिका, पश्चिममा बझागं जिल्ला, हिमाली गाउपालिका र बझागं जिल्ला र दक्षिणमा बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १३६० मिटर देखि ५४४० मि. सम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भूभाग उच्च पहाडी र हिमाली क्षेत्र भित्र पर्दछ ।
यस गाउँपालिकाको अधिकाँश भुभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश क्षेत्र भिरालो तथा चट्टानी भुभागमा रहेको छ । यस गाउँपालिकामा वनजंगलले ३७ प्रतिशत भुभाग ओगटेको छ । घासे भुभाग २३.९२ प्रतिशत, वुट्यान १९ प्रतिशत, र बाँझो उजाड भुभागले पनि १२.६२ प्रतिशत ओगटेको छ ।
केन्द्रः वडा नं. ६ घटमुना
क्षेत्रफलः ३१४.६६ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | दहकोट(८,९) | १५७.४३ | |
२ | २ | दहकोट(५-७) | ६१.२ | |
३ | ३ | दहकोट(१-४) | ३१.५२ | |
४ | ४ | मानाकोट(१-५) | ९.२५ | |
५ | ५ | मानाकोट(६-९) | ४४.५४ | |
६ | ६ | बडीमालिका(१) | १०.७२ | |
जम्मा | ३१४.६६ |
गौमुल गाउँपालिकाको नक्सा
६. नामः जगन्नाथ गाउँपालिका (पाण्डव गुफा)
केन्द्रः जुड्डी, बाजुरा
जनसङ्ख्याः १०१५८ (२०७८ अनुसार)
क्षेत्रफलः१७१.७३ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जगन्नाथ(५-८) | २५.१५ | |
२ | २ | जगन्नाथ(१-४) | १३.४१ | |
३ | ३ | गोत्री(८,९) | ६७.६१ | |
४ | ४ | गोत्री(५-७) | ४३.६४ | |
५ | ५ | गोत्री(३,४) | ७.१ | |
६ | ६ | गोत्री(१,२) | १४.८२ | |
जम्मा | १७१.७३ |
जगन्नाथ गाउँपालिकाको नक्सा
७. नामः स्वामीकार्तिक खापर गाउँपालिका
नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ। ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ ।
४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । । जस्तैः दशैं, तिहार,होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि,चाैदसी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
केन्द्रः सुइजिउला, वाई
जनसङ्ख्याः १२५७६ (२०७८ अनुसार)
क्षेत्रफलः ११०.५५ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | साप्पाटा(१-३,९) | ३५०७ | २४.८३ |
२ | २ | साप्पाटा(४-८) | २६६४ | २९.४५ |
३ | ३ | जुकोट(१-९) | ३२३० | २०.८१ |
४ | ४ | वाई(५-९) | १९७१ | १२.४५ |
५ | ५ | वाई(१-४) | १४१२ | २३.०१ |
जम्मा | १२७८४ | ११०.५५ |
स्वामीकार्तिक खापर गाउँपालिकाको नक्सा
८. नामः खप्तड छेडेदह गाउँपालिका
केन्द्रः साविक डोगडी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १९३०७ (२०७८ अनुसार)
क्षेत्रफलः१२७.५३ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | काँडा(१-९) | १७.५७ | |
२ | २ | जयबागेश्वरी(१-९) | २१.६२ | |
३ | ३ | गुदुखाती(१,४,५) | १२.७८ | |
४ | ४ | गुदुखाती(२,३,६-९) | ९.७३ | |
५ | ५ | डोगडी(१-९) | २७.०३ | |
६ | ६ | आटिचौर(६-९) | १८.९१ | |
७ | ७ | आटिचौर(१-५) | १९.८९ | |
जम्मा | १२७.५३ |
खप्तड छेडेदह गाउँपालिकाको नक्सा
९. नामः हिमाली गाउँपालिका
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ । गाउँपालिका भाैगाेलीक अवस्थितिका हिसावले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएकाे छ । यस गाउँपालिकाकाे सिमाना पुर्वमा मुगु जिल्ला , पश्चिममा वझांङ जिल्ला , उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेकाे छ ।
केन्द्रः धुलाचौर
जनसङ्ख्याः १०३०९ (२०७८ अनुसार)
क्षेत्रफलः८३०.३४ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बिच्छ्या(४-६) | १३०.४८ | |
२ | २ | बिच्छ्या(७-९) | ८०.०८ | |
३ | ३ | बिच्छ्या(१-३) | ४८६.८५ | |
४ | ४ | रुगिन(१-४) | २४.६३ | |
५ | ५ | रुगिन(५-९) | ४९.७३ | |
६ | ६ | बाँधु(१-५) | ३२.७५ | |
७ | ७ | बाँधु(६,७) | २५.८२ | |
जम्मा | ८३०.३४ |
हिमाली गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुरा। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । बाजुरा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।