संघ
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । संघीय संरचनाको सबैभन्दा माथिल्लो इकाइको रुपमा
रहने संघीय तहलाई संघका रुपमा परिभाषित गरिएको छ ।
संघीय सरकारलाई नेपाल सरकारका नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा संघको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र संघीय कानून बमोजिम हुनेछ ।
त्यसैगरी अनुसूची ७ मा भएको साझा अधिकारको सूची र अनुसूची ९ बमोजिमको संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि संघ मार्फत हुने गर्दछ । साथै अविशिष्ट अधिकारको प्रयोग संघीय सरकारले गर्ने व्यवस्था गरेको छ ।
प्रदेश
संविधान बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुपलाई प्रदेशका रुपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूचि ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरुको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदेशलाई निम्न बमोजिम संक्षिप्त चर्चा गरिएको छ ।
स्थानीय तह
नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जस अनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका
४६० रहेका छन् ।
कोशी प्रदेश /प्रदेश नं.१
यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेश प्रदेश र बाग्मतीप्रदेश पर्दछन् । काेशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् ।
बाग्मती प्रदेश को कुल क्षेत्रफल २५,९०५ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६०५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ व.कि.मि.) रहेका छन् । हाल यस प्रदेशको राजधानी विराटनगरमा रहेको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशको कुल जनसंख्या ४९,६१,४१२ रहेकोमा (पुरुष २४,१७३२८ (४८.७ %) र महिला २५,४४,०८४ (५१.३० %) रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु भाषा मुख्य रुपमा बोलिन्छन् ।
मधेश प्रदेश/ प्रदेश नं.२
यस प्रदेशको पूर्वतर्फ प्रदेश १, दक्षिणतर्फ भारत, उत्तरतर्फ प्रदेश १ र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । मधेश प्रदेश मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्लाहरु रहेका छन् ।
यस प्रदेशको कुल क्षेत्रफल ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ व.कि.मि.) हुन् । यस प्रदेशको राजधानी जनकपुरमा रहेको छ ।
यस प्रदेशमा कुल जनसंख्या ६१,१४,६०० रहेकोमा पुरुषको संख्या ३०,६५,७५१ र महिलाको संख्या ३०,४८,८४९ (स्रोतः केन्द्रीय तथ्याङ्क विभाग) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा यादव, गुप्ता, दास, थारु, राजवंशी, मुसलमान लगायतका जातिहरुको बसोबास रहेको छ, भने मैथली, बज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा बोलिन्छन् ।
बागमती प्रदेश /प्रदेश नं.३
यस प्रदेशको पूर्वतर्फ कोशी प्रदेश, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश २ र भारत रहेका छन् । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं गरी १३ जिल्लाहरु रहेका छन् ।
यस प्रदेशको कुल क्षेत्रफल २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९५) । यस प्रदेशको ठूलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी हेटौंडामा रहेको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशको कुल जनसंख्या ६११६८६६ रहेकोमा (पुरुष ३०,४८,६८४ जना र महिला ३०६८१८२ जना) रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा तामाङ, ब्राम्हण, क्षेत्री, नेवार लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रुपमा बोलिन्छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुुम्विनी प्रदेश , उत्तरमा चीन र दक्षिणतर्फ लुुम्विनी प्रदेश र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ ।
गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व गरी ११ जिल्लाहरु रहेका छन् ।
यस प्रदेशको कुल क्षेत्रफÞल २१,७३३ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १४.६१५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला गोर्खा (३,६१० व.कि.मि.) र सानो जिल्ला
पर्वत (४९४ व.कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी पोखरामा रहेको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशको कुल जनसंख्या २४६६४२७ रहेकोमा (पुरुष ११,७०,८३३ र महिला १२,९५,५९४ जना) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्री, गुरुङ, मगर लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।
लुुम्विनी प्रदेश /प्रदेश नं ५
यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ । लुुम्विनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्लाहरु रहेका छन् ।
यस प्रदेशको कुल क्षेत्रफल २२,२८८ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १५.१४५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला दाङ (२,९५५ व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ व.कि.मि.) रहेका छन् ।
रुपन्देहीको बुटवल यस प्रदेशको अस्थायी राजधानी हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशको कुल जनसंख्या ५१,२२,०७८ रहेकोमा (पुरुष २४,५४,४०८ र महिला २६,६७,६७० जना) रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्री, मगर, थारु, तामाङ, नेपाल, मुसलमान लगायतका जातिहरुको बसोबास छ भने नेपाली, थारु, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।
कर्णाली प्रदेश/प्रदेश नं.
कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुुम्विनी प्रदेश पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फलुुम्विनी प्रदेश सुदूरपश्चिम प्रदेश रहेको छ ।
कर्णाली प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाहरु रहेका छन् ।
यस प्रदेशको कुल क्षेत्रफल २७,९८४ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १९.०१५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला डोल्पा (७,८८९ व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) रहेका छन् ।
यस प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशको कुल जनसंख्या १६,८८,४१२ रहेकोमा (पुरुष ८,२३,७६१ र महिला ८,६४,६५१ जना) रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगर लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र लुुम्विनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ । सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, र कैलाली गरी ९ जिल्लाहरु रहेका छन् ।
यस प्रदेशको कुल क्षेत्रफल १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.) रहेका छन् ।
यस प्रदेशको राजधानी कैलालीको गोदावरीमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशको कुल जनसंख्या २६,९४,७८३ रहेकोमा (पुरुष १२,७२,७८६र महिला १४,२१,९९७ जना) रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, ठकुरी, थारु जातिहरुको बसोबास रहेको छ भने डोटेली, खस, थारु भाषा मुख्य रुपमा बोलिन्छन् ।
पछिल्लो अध्यावधीक २०८२ माघ २८ गते

Right information