अछाम जिल्लामा रहेको रामारोशन क्षेत्रको संक्षिप्त परिचय

रामारोशन तालको संक्षिप्त परिचय

सुदूर पश्चिमाञ्चल प्रदेश अन्तर्गत अछाम जिल्लाको पूर्वीत्तरमा पर्ने रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुन्द्री सतहबाट २५४६ मिटरको उचाईमा प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहानको रुपमा रहेको छ ।रामारोशन क्षेत्रको पूर्वमा कालिकोट जिल्लाको साविकको रुप्सा गाविस, पश्चिममा अछाम जिल्लाको साविकको भाटाकाटिया गाविस, उत्तरमा अछाम जिल्लाको सबैभन्दा अग्लो चुचुरो चाकाडाँडा र दक्षिणमा रामारोशन गाउँपालिकाको अल्लेडी भन्ने क्षेत्र रहेका छन् ।यहाँ साना ठूला गरी १२ वटा तालहरु (बाह्र वण्ड) र १८ वटा रमणीय मैदानहरु (अठार खण्ड) रहेका छन् । स्थानीय भाषामा यसलाई बाह्र वण्ड अठार खण्ड पनि भन्ने चलन छ । धार्मिक रुपमा हेर्ने हो भने यसको आफ्नै विशेष महत्व रहेको छ ।

यहाँका रहर लाग्दा जमिनका फाँटहरु, मनमोहक तालहरु, अनेक थरीका फूलहरु, तालमा पौडिरहेका जलहाँसहरु, राष्ट्रिय पंछी डाँफे, मुनाल, चराचुरुंगी र अन्य दुर्लभ वन्यजन्तुहरु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरुको उपस्थिति नै यस जिल्लाको पर्यटन विकासको स्तम्भ हो ।जनश्रृती अनुसार कसैले यसलाई प्रकृतिकी रानी भन्दछन् भने कसैले यसलाई प्रकृतिको स्वर्ग पनि भन्दछन् । दूर्गम पहाडी खोंच भित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशन क्षेत्र भित्र विभिन्न ताल, मैदान, पाटन, हरियाली जंगल, पहाडी चुचुराहरु, जंगली जनावर, चराचुरुङ्गी, फूलहरु, विभिन्न खालका जडिबुटीहरु, झरनाहरु, ठूलठूला ढुंगाहरु र गुफाहरु रहेकाछन ।

रामारोशनको नामको सम्बन्धमा हालसम्म वैज्ञानिक अध्ययन र अनुसन्धान हुन सकेको छैन । तथापि, यस सम्बन्धी विभिन्न अभिमतहरु सुन्न पाइन्छन । एकथरीको भनाइ अनुसार रामारोशन क्षेत्रभित्र आधा घण्टाको फरकमा रामे र रोशन नामका दुईवटा मैदान रहेका छन् ।परापूर्वकालमा रामे नामको एकजना गोठालाले सबैभन्दा पहिले रामे मैदानमा गोठ बनाएकोले त्यस ठाउँको नाम रामे र अर्को रमाइलो, रसिलो भएकोले त्यसको नाम रोशन रहन गएको हो । पछि, दुबैवटा स्थानहरुलाई जोडेर रामारोशन हुन गएको हो भन्ने भनाई छ ।

अर्को थरिको भनाइ अनुसार परापूर्व कालमा शिव र पार्वतीले यस क्षेत्रमा रोशन र रामाको रुपमा वास गरेकोले त्यसको नाम रामारोशन रहेको हो ।तेस्रो भनाइ अनुसार रामारोशनलाई दुई भागमा विभाजित गरेर हेर्दा रामा भनेको भगवती दुर्गा, पार्वती, लक्ष्मी आदि भगवतीहरु र रोशन भनेको अत्यन्त सुन्दर उज्यालो मनमोहक रमणीय ठाउ“ (देवी भगवतीको क्रिडास्थल) हो । त्यस क्षेत्र भित्र रहेका तालहरुमा ती दुर्गा भवानीहरुले स्नान गर्ने गरेको र त्यस भित्रका जमिनका भाग र त्यहा नजिकका पहाडका चुचुरा थुम्काहरु जस्तो मालिका, नन्दमाता, चाका, आदि ठाउँहरुमा उनीहरुको वासस्थान रहेको भन्ने विश्वास छ । उनीहरुले स्नान गर्ने ताल कुण्डलाई वण्ड भनिएको हो, जो पछि रामारोशनको नामले प्रख्यात भएको भन्ने भनाई छ ।

यसरी रामारोशनको नाम सम्बन्धी विभिन्न भनाईहरुलाई केलाएर हेर्दा र रामारोशन शब्दलाई दुई भागमा विभाजित गरी रामा र रोशन शब्दहरुको अर्थ नेपाली शब्दसागरमा हेर्दा रामा भनेको सुन्दर स्त्री, रमणी, लक्ष्मी, राधा, सीता, घिउकुमारी, शितलवुटी आदि जडिबुटी र रोशन भनेको उज्यालो, चम्किलो, बल्दो आदि लेखिएको छ । यसरी यहाका मानिसहरुले भन्ने गरेको परम्परागत भनाई र नेपाली शब्द सागरमा दिएको रामा र रोशन शब्दको अर्थलाई समायोजन गरेर हेर्दा केही कुरा मिल्दोजुल्दो देखिन्छ ।

रामारोसन ताल अन्तर्गतका बाह्र वण्डहरु

१) जिगाले रोशन                              ७) माथिल्लो धउने

२) बाटुल्ला रोशन                             ८) गाग्रे ताल

३) लामीदह रोशन                            ९) डाैठेखाल ताल (बाउलेगडा)

४) लिस्से डाली रोशन                       १०) दल्याना

५) ताउले ताल रोशन                        ११) रामे ताल

६) तल्लो धउने                                  १२) गेराह ताल

रामारोसन ताल अन्तर्गतका अठार खण्डहरू

१) किनिमिनी खण्ड                         ११) बागफल गोरेकोट खण्ड

२) रोसन टाउका खण्ड                    १२) ददाडी पिनालेखी खण्ड

३) राेसन जिगाले खण्ड                     १३) सालिमकोट कागे बर्जु खण्ड

४) राेसन बागफाल खण्ड                  १४) चिर्किट खालापोखडर खण्ड

५) रामे रोशन खण्ड                          १५) नेटाकोट साकोट खण्ड

६) दल्यान रामे खण्ड                        १६) रामे रगाडे खण्ड

७) पातल दल्यान खण्ड                     १७) किनिमिनी सुन्दरे खण्ड

८) गेराह जैदेखोला खण्ड                   १८) पिनालेखी टोडके खण्ड

९) जिउने पातल खण्ड

१०) चिल्फु गाग्रा खण्ड

रामारोशन क्षेत्रमा रहेका प्रमुख मैदानहरू

१) रोशन मैदान                                  ६) दनाडी मैदान

२) किनिमिनी मैदान                           ७) भिउमोरा मैदान

३) रामै मैदान                                      ८) चिल्फु मैदान

४) रंगाडे मैदान                                   ९) गादो पाड्ने मैदान

५) सुइडेनी गडा मैदान

रामारोशनमा पाइने अमूल्य ढुंगाहरु

१. काइनेटिक (हरियो र निलो)          ४. सेतो चिल्की                  ७. चुनढुंगा

२. कालो चिल्की                              ५. कालो ग्रिफ पत्थर

३. गेरु                                              ६. तोरे (नुनिलो)

रामारोशन क्षेत्रमा पाइने जडिबुटीहरु

रामारोशन क्षेत्रमा क्यान्सर रोगको औषधी बन्ने लौठ सल्ला प्रशस्त पाइनुका साथै सयौं थरीका महत्वपुर्ण तथा मुल्यवान जडिबुटीहरु पाइन्छन् । तल्लो समथर भागदेखि चाकाडाँडा सम्म विभिन्न जडिबुटीहरु त्यहाँ पाइन्छन् । जस मध्ये केही जडिबुटीहरु निम्नानुसार छन् ।

१) लौठ सल्ला (ठुलो रुख)  २) कुरिल्लो  ३) सतुवा  ४) सुगन्धवाल  ५) दालचिनी

६) कटुकी  ७) हत्तजडी  ८) पदमचाल्नु  ९) अत्तिसी  १०) बायोजडी

११) पुर्नयो  १२) सेलपहाडी १३)  मजिठो  १४) मयाजडी  १५) तितो 

१६) हातपसारो  १७) पाँचऔले १८)  निर्बिसी  १९) सिलाजित २०) बाँजखोटो

२१) छतारे २२) गनेजडो २३) बीसमारो २४) बजो २५) बड्डेमुलो

२६) बुजो २७) बिख २८) गदाल्नु

श्रोतःजिल्ला पाश्र्वचित्र अछाम, तस्विरः सामाजिक सञ्जाल

सुझाव तथा सल्लाहको लागि chinari2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुने छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *