प्राचीन नेपाल एक चिनारी

नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरु भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन ।

किराँतकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन् । यस कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको बारेमा लिच्छविकालीन अभिलेखहरूबाट केही झलक पाइन्छ । ईश्वी संवत्को थालनीका साथै लिच्छविकाल सुरु भए पनि प्रमाणहरूका आधारमा ईश्वीको पाचौँ शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास बढीविश्वासिलो बनेको पाइन्छ ।

१ गोपालवंशी शासकहरू : नेपालका प्रथम राजाहरू गोपालवंशी थिए । गोपाल भन्नाले गाईपालक समुदाय भन्ने बुझिन्छ । काठमाडौँको पानी बाहिर फ्याँकेपछि उपत्यका बसोबास योग्य भयो ।

त्यसपछि दक्षिणतर्फका नीप जातिका गोपालहरू यहाँ आकर्षीत भए । दक्षिणबाटआएका गोपालहरू र यहाँका प्राचीन नाग जातिबीच भीडन्त हुँदा नाग जातिहरू पराजित भई दक्षिण भेगतर्फ लागे भने नेपाल उपत्यकामा गोपालहरूको वर्चस्व कायम भयो ।

वंशावलीहरूमा उल्लेखित कथाअनुसार यिनीहरूको एउटा बहुह्री नाम गरेको गाईले सधैँ बाग्मतीको तिरको एक ठाउँमा गएर दूध चढाउने गर्दथिन् । सो स्थल खनी हेर्दा पशुपतिको ज्योर्तिलिङ्ग उत्पन्न भयो ।

टेकु दोभानमा तपस्या गरी बस्ने ‘ने’ मुनीले गोपालवंशका भुक्तमान (भूमिगुप्त) लाई राजा बनाए । यिनी गोपालवंशका संस्थापकमात्र नभई नेपालका प्रथम राजा पनि भए ।

गोपालवंशीआठजना शासकहरू (भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जीनगुप्त) ले करीब ५०५ वर्ष नेपालको शासन गरे ।

२ महिषपालवंशी राजाहरू  : गोपालवंशका जीन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेको कुरा गोपाल राजवंशावलीमा उल्लेख छ ।

केही इतिहासकारहरूका अनुसार गाई पाल्नेलाई गोपाल भने झैं भैसी पाल्नेलाई महिषपाल वा आभिर भनिन्थ्यो । तर गोपाल र आभिर एउटै वंशका भएका र पेशागत आधारमा मात्र दुई समुदायमा विभाजित भएको मानिन्छ ।

कर्कपाट्रिकको वंशावलीमा आभिरहरू राजपूत उत्पत्तिका ग्वालाहरू भएका र सिम्रौनगढ र जनकपुरबीचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो संख्यामा भैंसी पाल्ने गरेकोमा पछि उपत्यका प्रवेश गरी गोपालवंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ ।

यस वंशका प्रथम राजा वरसिंह हुन् । गोपाल वंशावलीअनुसार यस वंशका तीन शासकहरू वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना र ४१ वर्ष गरी जम्मा १६१ वर्ष २ महिना शासन गरेका थिए ।

३ किराँतवंशी राजाहरू – नेपाल उपत्यकामा राज्य गर्ने लिच्छवी राजवंशभन्दाअगाडि र महिषपाल वा आभिरवंश भन्दा पछाडि बीचको समयमा किराँतवंशीय राजखलकको शासनउपत्यकामा रहेको थियो भन्ने विवरण साहित्यिक श्रोतहरूमा फेला पर्दछ ।

गोपाल वंशावलीमा किराँत राजाहरूको सूचीका साथै उनीहरूको मूलस्थान तामाकोशी र सुनकोशीबीचको भू–भाग भनी बताइएको छ ।आभिरवंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किरातवंशी राजा यलुङ वा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए ।

यो द्वापरयुगको अन्त्य  वा कलियुगको प्रारम्भतिर छैठौं शताब्दीमा घटेको घटना मानिन्छ । नेपालमा ऐतिहासिक घटनाक्रमको सुरुवात किराँती राजाहरूबाटै भएको मानिन्छ । गोपाल राजवंशावलीमा ३२, भाषा वंशावलीमा २८ र राइट वंशावलीमा २९ राजाहरूको विवरण पाइन्छ ।

तथापि, किराँतवंशका २९ पुस्ताका ३२ राजाहरूले झण्डै १५०० वर्ष जति शासन चलाएको मानिन्छ । किराँतवंशी मुख्य राजाहरूको नामावली निम्नबमोजिम छन ।

यलम्बर : किराँत राज्यका संस्थापक यलम्बर ज्यादै वीर थिए । यिनले महिषपाल आभीर वंशका शासक भुवनसिंहलाई हराएर किराँत राज्यव्यवस्था स्थापना गरेका थिए । यिनलाई कतैकतै यलुङ पनि भनिएको छ । यिनकै नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको मानिन्छ

हुमति :यिनी छैठौँ किराँती राजा थिए । यिनलाई गोपाल राजवंशावलीमा हँति भनेर उल्लेख गरिएको छ । डेनियल राइटले छपाएको वंशावलीले यिनलाई महाभारतको युद्धकालका भनी उल्लेख गरेको छ । जितेदास्ती किराँत राजा जितेदास्ती अर्का उल्लेखनीय शासक हुन् ।

यिनलाई भाषा वंशावलीहरूले सातौं क्रममा राखेका छन् भने गोपाल राजवंशावलीले केही पछिल्लो क्रममा उल्लेख गरेको छ । यिनको समयमा गौतम बुद्ध काठमाडौँ आएको चर्चा वंशावलीमा गरिएको गरिएको छ ।

स्थुंको : केही वंशावलीहरूले किराँत राजा स्थुंकोका समयमा मौर्य सम्राट अशोक छोरी चारुमतीका साथ काठमाडौं आएका थिए । यिनले चारस्तुपा बनाए । छोरी चारुमतीको विवाह क्षत्रीय कुमार देवपालसँग गरिदिएका थिए । तर वंशावलीको भनाइ सत्य देखिदैन । अशोक लुम्बिनी, कपिलवस्तुमा मात्र आएका थिए । काठमाडौँउपत्यकामा आएको कुरा भने प्रमाणित छैन ।

४ लिच्छवि काल : लिच्छवि शासनको स्थापना किराँतहरूपछि लिच्छवि वंशका राजाहरूले नेपालमा शासन सञ्चालन गरेको पाइन्छ । वंशावली एवं पुराणहरूमा सूर्यवंशी क्षेत्रीयहरूले किराँतहरूलाई जितेर नयाँ शासन व्यवस्था कायम गरेको उल्लेख पाइन्छ ।

गोपाल राजवंशावलीमा ‘अनि सूर्यवंशको प्रभावले नेपालमा किराँत राजालाई जितेर लिच्छवि राजवंश चल्यो’ भनी लेखिएको छ भने पशुपति पुराणमा पनि ‘किराँतहरूलाई बोलिवचनले विश्वासमा पारेर तथा युद्धमा परास्त गरेर वैशालीका स्वामी वा पतिहरूले आफ्नो शासनसत्ता कायम गरेको’ भन्ने उल्लेख गरेको पाइन्छ ।

यसैप्रकारको सन्दर्भ हिमवत्खण्डमा पनि पाइन्छ । जसमा वैशालीका स्वामीहरूले किराँतहरूलाई जितेर नेपालमा शासन सुरु गरेको उल्लेख छ । यसप्रकार नेपालमा लिच्छवि शासन व्यवस्थाको थालनी किराँतीहरूको शासनपछि लगत्तै सुरु भएको देखापर्दछ ।

गोपाल वंशावलीअनुसार अन्तिम किराँती राजा ‘खिगु’, भाषा वंशावलीअनुसार ‘गालिज’, राइट वंशावलीअनुसार किरात राजा ‘गस्ति’ लाई परास्त गरेर वा धपाएर लिच्छवि राजवंशले नेपालमा शासन सुरु गरेको देखिन्छ । लिच्छवि राजवंशको थालनी कुन समयदेखि भयो, यसबारे यकिन गर्न सकिएको छैन ।

इतिहासविद् बाबुराम आचार्यका अनुसार ‘यहाँको किराँत राज्यलाई भङ्ग गरी आफ्नो स्वतन्त्र लिच्छवि राज्य स्थापना गर्न ईस्वी संवत् २५० को आसपासतिर लिच्छविहरू समर्थ भएको देखिन्छ । लिच्छविहरू नेपालमा आउनुभन्दा अगाडि भारतको मुजफ्फरपुर नगरको बसाढ भन्ने वैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासनप्रणालीअनुसार शासन चलाउने गर्दथे ।

त्यो भागमा राजतन्त्रात्मक शासन प्रणाली सुदृढ हुँदै गएको र राजा अजातशत्रुबाट पराजित भई इसाको प्रथम शताब्दीतिर
शरणार्थीका रूपमा लिच्छविहरू नेपाल प्रवेश गरेका थिए । वैशालीमा शासन चलाएका लिच्छविहरूले यहाँका भुरे, टाकुरे, सामन्त राजाहरूलाई हराई शासनमा कब्जा गर्ने महइभ्वकाङ्क्षा प्रदर्शन गरे । तर लिच्छविहरूको सत्तामा कब्जा त्यति सरल र सहज नभई ठूलो सङ्र्घष र रक्तपातपूर्ण घटनाबाट मात्र सम्भव भएको थियो ।

तत्कालीन शासक वर्गप्रति जनताको तीव्र असन्तोष व्याप्त भएको बेलामा जनभावनाको अनुकूल लिच्छविहरूले जनसङ्घर्षको नेतृत्व गरेका थिए । किराँतहरू युद्धमा हारेर पूर्वी भेगमा विस्थापित हुन बाध्य भए भने केन्द्रमा लिच्छविहरूको राज्यसत्ता कायम हुन पुग्यो ।

जनहितलाई बढी स्थान दिने शासनव्यवस्था, सङ्गठित जनजीवन, उन्नत आर्थिक अवस्था, शिक्षाको स्तर, आर्कषक कला आदि कुराले गर्दा लिच्छवि काललाई नेपालको इतिहासमा स्वर्णयुग पनि मानिएको छ । हुन पनि तुलनात्मक दृष्टिले हेर्ने हो भने यो युग सर्वाङ्गिण विकासको युगको रूपमा रहेको छ ।

लिच्छवि शासनकालअन्तर्गत फेला परेको पहिलो प्रमाणित अभिलेख राजा मानदेवको सन् ४६४ को चाँगुको अभिलेख हो जसमा मानदेवभन्दा अगाडिका तीन पुस्ताको विवरण दिइएको छ । यसबाहेक लिच्छवि वंशका आठौँ शताब्दीतिरका राजा जयदेवको पशुपति अभिलेखमा लिच्छवि राजाहरूको सुरुदेखिकै वंशावली लेखिएको छ ।

तर यस वंशावलीमा लिच्छवि राजाहरूको नामको सट्टा क्रमाङ्कमात्र लेखिएको पाइन्छ । यस वंशावलीको आधारमा स्न ४६४ मा चाँगु अभिलेख स्थापना गर्ने राजा मानदेव लिच्छवि वंशका ३९ औँ राजाको रूपमा देखिन्छन् । मानदेवअघिका राजाको सालाखाला शासन २० वर्ष मानेको खण्डमा मानदेवभन्दा ७६० वर्षअघि अर्थात २९६ ईसापूर्वमा लिच्छवि शासन नेपालमा सुरु भएको देखिन्छ ।

प्रसिद्ध लिच्छविकालीन शासकहरू : लिच्छविहरू मूलतः सूर्यवंशी मानिन्छन् । अयोध्याका सूर्यवंशी राजा दशरथका आठौंपुस्तामा लिच्छवि भन्ने व्यक्ति भएको मानिन्छ । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक र आदिपुरुष पनि मानिन्छ ।

सुपुष्प :जयदेव द्वितीयको पशुपति अभिलेखमा उत्कीर्ण वंशावलीमा लिच्छवि नाम गरेका राजापछि तेह्रौँ पुस्तामा कामदेवजस्ता राम्रो रूपरङ्ग भएका राजा सुपुष्प भए भनिएको छ । कतिपयले राजा सुपुष्पलाई नै नेपालका प्रथम लिच्छवि राजाको रूपमा मान्नेगरेको पाइन्छ ।वंशावलीहरूमा भने सुपुष्पलाई चौथो लिच्छवि राजाको रूपमा देखाइएको छ साथै गोपाल राजवंशावलीमा यिनलाई सुपुष्पदेव, भाषा वंशावलीमा पशुपुष्पवर्मा र राइट वंशावलीमा पशुप्रेखदेव भनेर नामाकरण गरिएको छ ।

गोपाल राजवंशावलीअनुसार यिनले नेपालमा वर्ण व्यवस्था कायम गर्नुका साथै पशुपतिको देवल बनाउने, त्यसमा छाना हाल्ने, सहरलाई सुन्दर बनाउने, राज्यमा मर्यादा कायमगर्ने तथा न्यायपूर्वक सारा प्रजाहरूको पालना गर्ने काम गरेका थिए ।यसबाहेकराइटको वंशावलीमा यी राजाले पशुपति मन्दिरमा सुनको छाना हाल्नुका साथै चाँगु नारायण, भक्तपुर गजुरसमेत थपेर अग्लो र भव्य तुल्याएको उल्लेख छ । यसैगरी राजा सुपुष्पले भूमि वा जग्गासम्बन्धी मर्यादा बाँधेको कुराको उल्लेख गोपाल राजवंशावलीमै पाइन्छ ।

मानदेव : शासन सञ्चालनमा कुशल मानदेव प्रथमको शासन कालमा आएर नेपाल राज्य अझ व्यवस्थित, विकसित र बलियो बन्यो । शास्त्र जान्ने, जनतालाई आफ्नै परिवार ठान्नेजस्ता राजगुणहरूले युक्त यी राजाले राज्यमा आर्थिक उन्नति र शान्ति व्यवस्थाद्वारा ४१ वर्ष (वि.सं. ५२१–५६२ (ई.सं. ४६४–५०५)) सम्म आफ्नो शासनमा स्थिरता कायम गरे ।

आफ्नो राज्यमा मुद्राको व्यवस्थाको अतिरिक्त कला र विद्या क्षेत्रको समेत विकास गरे । प्रथम राजदरबार मानगृहजस्तो भव्य भवन ‘श्री मानांक’ र ‘श्री भोगिनी’ अङ्कित नेपालको प्रथम मुद्रा यिनकै कालमा तयार भएको थियो । यिनकै समयदेखि प्राचीन नेपालको इतिहास पनि बढी स्पष्ट र भरपर्दो भएकाले प्रथम प्रमाणित महाराजा यिनैलाई मानिन्छ ।

यिनको राज्य पूर्वमा कोशी, पश्चिममा गण्डकी (कालीगण्डकीपारी मल्लपुरी) र उत्तरमा हिमालयसम्म फैलिएको थियो । अभिलेख र स्वतन्त्र टक आदि प्रामाणिक कुराहरू मानदेवको पालादेखि पाइएका छन् । चाँगुनारायणको मानदेव नृपको अभिलेख वि.सं. ५२१ (ई.सं.४६४) भन्दा मालीगाउँमा प्राप्त जयबर्माको ई.सं. १६३ (संवत् १०७) लाई प्राप्त सर्वप्राचीन प्रामाणिक अभिलेख मानिन्छ ।

यसरी बिक्रमको छैटौँ शताब्दीदेखि नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ ।जयबर्माको मूर्तिमा भएको शिलालेख जयबर्मा मानदेवपछि महिदेव, वसन्तदेव आदि राजा भए । वसन्तदेव बालक भएकाले मन्त्रीहरू र विगुप्त र क्रमलील शक्तिशाली भए ।

संयुक्त शासन र फेरबदल छिटो भएकाले ई.सं. ५३६ देखि ५४५ सम्म राजनीतिक अस्थिरता व्याप्त भएको पाइन्छ । यसपछि भौमगुप्त, गणदेव, गंगादेव र शिवदेवजस्ता भारदारहरूबीच शक्ति सङ्घर्षजस्तै भयो । शिवदेवले आफ्नो भानिज अंशुवर्माको मद्दतबाट गुप्त प्रभाव बचाए पनि अंशुवर्माको प्रभुत्व बढेर शिवदेव निस्तेज बन्न पुगे । फलस्वरूप अंशुवर्मा राजाभए । मन्त्रीले राज्याधिकार लिएको यो पहिलो घटना थियो ।

अंशुवर्मा : अंशुवर्माको शासनकाल (ई.सं. ६०५–६२१) मा नेपालमा खेती, पशुपालन र व्यापारमात्र हैन परराष्ट्र सम्बन्ध र रक्षा व्यवस्थाजस्ता चौतर्फी विकासका कार्यहरू भए । उनले नै कैलाशकुट भवन नामक दरबार अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले तयार गराएका थिए ।

परराष्ट्र नीति (तिब्बत र चीनसँग) उनकै समयमा सफलतापूर्वक सञ्चालित भए । उनको समयमा भारतमा हर्षवद्र्धन र तिब्बतमा स्रोङचङगम्पोले शक्तिशाली साम्राज्य खडा गरेका हुनाले तिब्बतसँग उनले साँठगाँठ गरे । तिब्बती राजा स्रोङचङगम्पोसँग उनले राजकुमारी भृकुटी (चिजु को विवाह गराएको कुरा चर्चित छ ।

उनको समयमा प्रजाले धार्मिक उदारता तथा स्वायत्त शासनसमेत प्राप्त गरेका थिए । कला तथा विद्याको समेत विकास भई जनजीवन सुसङ्गठित र उन्नत हुँदै गएको थियो । यी सब उन्नति प्रगतिको कारणबाट नेपालको इतिहासमा उनी नै सर्वप्रथम ‘महाराजाधिराज’ उपाधिप्राप्त शासक बन्न पुगे ।

विधिवत् युवराज घोषणा गर्ने चलन पनि सर्वप्रथम यिनकै समयदेखि चल्यो । हिन्दू राजाको रूपमा उनले ‘ पशुपतिपादानुगृहीत’ उपाधिसमेत धारण गरेका थिए । ‘प्रजाहित समाधानतत्पर’ तथा ‘कथं मे प्रजा सुखिना भवेत’ जस्ता विशेषतायुक्त ठकुरी वंशका यिनले ‘शब्द विद्या’ (व्याकरण) पनि तयार गरेको बुझिन्छ । वि.सं. ६७८ तिर उनको मृत्यु भयो ।

नरेन्द्रदेव : शासन सञ्चालनमा कुशल नरेन्द्रदेवको कार्यकालमा ईस्वीको सातौँ शताब्दीको मध्यम (ई.सं. ६४५–६७९) ताका भोट (तिब्बत र चीन) सँग व्यापारिक सम्बन्ध स्थापना हुनुका अतिरिक्त नेपालका पूर्व र पश्चिम भेगका व्यापारिक बस्ती (द्रङ्ग)
हरूको प्रारम्भ हुन गई नेपाल केही समयसम्म अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्यो । नरेन्द्रदेवले महाराजाधिराजको पदवी लिए र ‘परम भट्टारक’ को प्रसिद्धि पनि पाएका थिए । उनले भद्राधिवास राजदरबार पनि बनाए ।

उनको आसनमा सिंहको आकृति भएकोले सिंहासन प्रचलित भएको बुझिन्छ ।जयदेव द्वितीय जयदेव द्वितीय (ई.सं. ७१३–७२३) कवि हुनुका  अतिरिक्त मुलुक विस्तार गर्ने महात्वाकाङ्क्षीसमेत भएकाले लिच्छवि शासकहरूमा उनको क्रियाकलाप पनि उल्लेखनीय रहेको छ । उनी कविराजाका अतिरिक्त ‘परचक्रकाम’ (अर्काको देश जित्ने अभिलाषा) जस्तो उपनामले विभूषित थिए । उनको कविता पशुपति शिलालेखमा अङ्कित छ ।

लिच्छविकालका प्रमुख राजाहरू यस प्रकार थिए 
सुपुष्प, जयदेव प्रथम, हरिदत्त वर्मा, वृषदेव, शंकरदेव,धर्मदेव, मानदेव प्रथम, महिदेव, सन्तदेव, बसन्तदेव, उदयदेव, मानदेव द्वितीय, शिवदेव प्रथम, अंशुवर्मा, नरेन्द्रदेव, जयदेव द्वितीय, शिवदेव द्वितीय, जयदेव तृतीय

५ पूर्वमध्य काल : जयदेव द्वितीयको शासनकालपछि उनका उत्तराधिकारीको रूपमा रहेका (अभिलेखमा उत्तराधिकारी भनी किटिएका) विजयदेवको शासन पनि नेपालमा निश्चित रूपले चलेको भने पाइन्छ । विजयदेवपछिका शासकहरूबारेमा सर्वसाधरणद्वारा राखिएका अभिलेख, हस्तलिखित ग्रन्थ, वंशावलीअनुसार गुणकामदेव, मानदेव तृतीय, बलीराज, बलदेव, मानदेव चतुर्थ (८७७ ई.) का साथै राघवदेव (ई.स.८७९) राजा भएको पाइन्छ ।
गुणकामदेव :ई.सं. ९८७ र ९९० सम्मका २ वटा अभिलेखहरूमा गुणकामदेवले काठमाडाै उपत्यकामा शासन गरेको उल्लेख छ । इतिहासकार कर्कपाट्रिकका अनुसार यिनको शासनकाल १८ वर्ष रहेको थियो । यिनले उमामहेश्वरको मूर्ति स्थापना गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रहेको इशानेश्वर मन्दिरमा तामाको छाना, सत्तल तथा सुन्धारा बनाएका थिए । यिनले काष्ठमण्डप, मरुसत्तल र मरुहिटीसमेतको निर्माण गरेका थिए ।

६ सिम्रौनगढको कर्णाटक राज्य : सिम्रौनगढ नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ । यसको प्राचीन नाम सिमरा–वनगढ थियो । त्यसबेला ठूला बस्ती भएका सबै क्षेत्रहरू सुरक्षाको हिसाबले गढ (किल्ला) को रूपमा परिणत गरिएका हुन्थे । यस्ता किल्लाहरू जङ्गलको बीचमासमेत बनेका हुन्थे । वनभित्र बनेको गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो । जुन ठाँउको वनमा सो गढ बनेको हुन्थ्यो त्यही नाम विशेष प्रचलित हुन्थ्यो ।

सिमराको वनमा रहेको गढरूपको बस्ती भएकाले नै ‘सिमरा–वनगढ’ भनिएको हो । यही शब्द पछि अपभ्रंश भई सिम्रौनगढ भएको हो । सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यसबेला तिरहुतको नामले प्रसिद्ध थियो । काठमाडौँ उपत्यकाका तत्कालिक प्रमाणहरूमा भने यो क्षेत्रलाई ‘डोयराज्य’ भनिएको पाइन्छ । पश्चिमको खस राज्यको स्थापनाभएताका नै दक्षिण र पूर्वी तराई भेक समेटेर कर्णाटकवंशको डोप (तिरहुते राज्य खडा भएको पाइन्छ ।

यसको राजधानी सिम्रौनगढ (सिमरा वनगढ) अर्थात सिमरामा थियो । तिरहुतमा स्थापित कर्णाटक राज्य नान्यदेवले वि.स. ११५४ (ई.स.१०९७) मा स्थापना गरेका थिए । यो स्वतन्त्र राज्यको अस्तित्व करीब २२९ वर्ष जति रह्यो र ई.स. १३२६ मा विघटन हुन गयो । यस राज्यमा शासन गर्ने प्रमुख शासकहरू नान्यदेव र हरिसिंहदेव थिए । नान्यदेव दक्षिणी भारतको कर्णाटक क्षेत्रका निवासी थिए ।

यिनी दक्षिणी भारतका चालुक्य शासकका सेनापति थिए । चालुक्यले उत्तरी भारततर्फ विजय अभियान चलाउँदा न्यायदेव यसतर्फ आएका थिए । पछि यिनी आफैले सिम्रौनगढलाई केन्द्र बनाई यस क्षेत्रमा राज्य स्थापना गरेको पाइन्छ । नान्यदेवपछि क्रमशः गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भुपालसिंहदेव र हरिसिंहदेव आदि शासकहरूले सिम्रौनगढमा शासन गरे ।

हरिसिंहदेव कर्णाटकवंशका अन्तिम शासक हुन् ।  यिनको शासनकालमा दिल्लीका मुसलमान बादशाह गयासुद्दीन तुग्लकले आक्रमण गरेर सो राज्य ध्वस्त पारेका थिए । उपत्यकाका मल्ल राजाहरूको कुलदेवीका रूपमा पूजा गरिने तुलजा भवानी वास्तवमा कर्णाट राजाहरूकै कुलदेवी हुन् । हरिसिंहदेवकी रानी देवलदेवी शरणार्थीको रूपमा उपत्यका पस्दा आफूसित तुलजा भवानीको कलश पनि लिएर आएकी थिइन् ।

देवलदेवी र उनका छोरा जगतसिंहको उपत्यका प्रवेशपछि कर्णाटकको प्रभाव उपत्यकामा परेको थियो जुन स्वभाविक नै थियो । हरिसिंहदेवको मृत्यु भएताका उपत्यकामा रूद्र मल्ल र अरि मल्लको संयुक्त शासन चलिरहेको थियो । अरि मल्ल चाहिँ नाम मात्रका शासक थिए । रूद्र मल्लले हरि सिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवी र छोरा जगतसिंहलाई आफ्नो दरबारमा शरण दिएका थिए ।

देवलदेवीले आफ्नो साथमा ल्याएका तलेजुको कलश दरबारमा स्थापित गरिन् । पछि नेपालका शासकहरू पनि तलेजुका उपासक बने । देवलदेवीका छोरा कुमार जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग सम्पन्न भयो र यस जोडीबाट राजल्लदेवीको जन्म भयो । यिनै राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भएको हो ।

७ कर्णाली प्रदेशको खस मल्ल राज्य  : पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत, दक्षिणमा तराई भू–खण्डसम्म खस मल्ल राज्य विस्तारित थियो । खस मल्ल राज्यको द्वार कैलाली कञ्चनपुरको मल्लवार थियो । तिब्बतका केही भागसमेत यस राज्यको प्रभावमा परेका थिए । पश्चिममा गढवाल, कुमाऊदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालको ठूलो भूखण्ड थियो ।

खस राज्यको राजधानी सिन्जा थियो । तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको मानिन्छ । यो समय १२ औं शताब्दीतिर (ई.स.११५०) भएको अनुमान छ । तिव्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपालराजवंशावली आदि स्रोतहरूबाट नै त्यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

यस राज्यका शासकहरूमा नागराज, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि रहेको पाइन्छ । यो राज्यको अस्तित्व करीब २२६ वर्ष जति रह्यो । खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ,
डोटी, जाजरकोटजस्ता बाइसे राज्य जन्मेका हुन् ।

वर्तमान समयमा सबैभन्दाअविकसित तथा पिछडिएको मानिएको यो क्षेत्र मध्यकालमा निक्कै शक्तिशाली राज्यको रूपमा रहेको थियो । पश्चिमी खस राज्यको सबैभन्दा प्रमुख र महइभ्वपूर्ण योगदान भाषासम्बन्धी योगदान हो । वर्तमान नेपाली भाषाको उत्पत्ति खस मल्ल राज्यमै भएको थियो । त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिंजाली भाषा’ समेत भन्ने गरिन्छ ।

खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएर राष्ट्र भाषाको स्थान दिएको हुनाले नै यो भाषा निरन्तर परिमार्जित र विकसित हुँदै गयो । खस मल्ल राज्यको विघटनपछि खडा हुन पुगेका बाइसे र चौबीसे राज्यहरूमा समेत यसै भाषालाई व्यापक प्रयोगमा ल्याइयो । बाइसे र चौबीसे राज्यहरूमा राज्य भाषाका रूपमा यसै भाषाले स्थान पायो र विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्र भाषा बन्न पुग्यो ।

८ कपिलवस्तुको शाक्य शासित राज्य :  लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लामा तिलौराकोट नामक स्थान रहेको छ । प्राप्त तथ्यहरूको आधारमा यो तिलौराकोट नै शाक्यहरूको प्राचीन कपिलवस्तुको राजधानी थियो । प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने क्रकुछन्द, कनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म तिलौराकोट पूर्वीद्वार, कपिलवस्तु यही स्थानमा भएको थियो ।

उनै सिद्धार्थ गौतम नै बुद्धधर्मका प्रवर्तक महात्मा गौतम बुद्धको रूपमा परिचित छन् । प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा बसाइएको नगर थियो । त्यस बखत व्यापारिक राजमार्गका रूपमा उत्तरदेखि दक्षिणपूर्व हँदै श्रावस्तीदेखि राजगिरसम्म पुग्ने राजमार्ग धेरैजसो कपिलवस्तु राज्यभित्रै पर्दथ्यो । शाक्यहरूको राज्य गणराज्यको रूपमा भएको हुनाले कपिलवस्तु गणराज्यको शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूको शासन व्यवस्थाअनुरूप नै थियो ।

शासन सञ्चालनार्थ साधारण सभा र भारदारी सभा गरी दुई एकाइहरू थिए । साधारण सभाले राज्यको कार्यकारी सभाको रूपमा कार्य गर्दथ्यो र यस्तो कार्यकारी सभाका मुख्य व्यक्तिलाई नै राजा भनिन्थ्यो । बुद्धको जन्मताका कार्यकारी सभाका मुख्य व्यक्ति सुद्धोधन थिए । राजा सुद्धोधनपछि कार्यकारी सभाको मुख्य व्यक्ति वा राजाको रूपमा महानामालाई निर्वाचित गरिएको थियो । कपिलवस्तु राज्यको छिमेकमा पर्ने कोशल राज्यका राजाविरूद्धकको आक्रमणमा परेर कपिलवस्तु राज्यको पतन हुन पुग्यो ।

श्रोत : नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय द्धारा प्रकाशित नेपाल परिचय नामक किताव वाट साभार गरिएको ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *