खप्तड क्षेत्र

पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण प्राकृतिक स्थानहरू

खप्तड

डोटी, अछाम, बझाङ र बाजुरासमेत चार जिल्लामा फैलिएको खप्तड करिब ११,००० फिटको उचाइमा रहेको छ । चारवटै जिल्लाहरूको सङ्गमस्थलमा रहेको यो उच्च पहाडी भू–भागमा थुम्काथुम्की, चौरहरू (पाटन) र स–साना खोलाहरू छन् । यो उच्च पहाडी मैदानी भू–भागको सरदर चौडाइ ५ किलोमिटर र लम्बाइ सरदर १० किलोमिटर छ ।

हिउँले ढाकिएका सेता डाँडा र वन–जङ्गल आफैमा मनमोहक देखिन्छन् । हिउँले छोडेपछि रङ्गी विरङ्गी फूलैफूलको समथर भू–भाग स्वर्ग झैँ लाग्दछ । खप्तड प्राकृतिक सुन्दरताको पर्यायको रूपमा रहेको छ । खप्तडको पर्यटकीय दृष्टिले विकास गर्न सकेमा पश्चिम नेपालको विकासमा यसबाट महत्वपुर्ण योगदान पुग्नेछ ।

खप्तड क्षेत्र
रामारोसन

अछाम जिल्लाको उत्तरमा कैलाश खोलाको मुहानमा समुद्री सतहबाट करिब ९००० फिटको उचाइमा रामारोसन नामको धार्मिक दृष्टिले महत्वपुर्ण र पर्यटकीय दृष्टिले सुरम्य स्थान छ । वनजङ्गल, खोलानाला, ताल तलैयाहरूद्वारा सुशोभित यो ठाउँमा ‘बाह्र वण्ड अठार खण्ड’ भनिने १२ वटा ताल र १८ वटा थुम्काथुम्कीहरू छन् ।

१२ वटा तालहरूमध्ये ४०० मिटर लम्बाइ र ३०० मिटर चौडाइ भएको ‘जिलिगें ताल’ सबैभन्दा ठूलो मानिन्छ । रामारोसनका वनजङ्गलमा डाँफे, मुनाल, कालिज आदि पन्छीहरूले बास गरेका छन् । रामारोसनभन्दा माथि बडीमालिका देवीको प्राचीन मन्दिर छ । यहाँ श्रावण महिनाको पूर्णमाका दिन ठूलो मेला लाग्दछ ।

रामारोसन
हिल्सा

हिल्सा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट जोड्ने नेपाल र चीनबीचको उत्तरपश्¬िचममा पर्ने नाका हो । यारी भञ्ज्याङ हुँदै हिल्सा पुगिन्छ । हिल्सा हुँदै चीनका मानसरोवार आवतजावत गर्ने नाका हो । यहाँ भोटे जातिको पातालो बस्ती रहेको छ । उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्रलगायतको संरक्षण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

सिन्जा उपत्यका

जुम्ला जिल्लामा पर्ने सिन्जा उपत्यका मध्यकालमा नागराजले स्थापना गरेको खस मल्ल राज्यको राजधानीको रूपमा रहेको थियो । त्यसैले नेपालको राष्ट्रभाषा नेपालीको उत्पति स्थलको रूपमा समेत परिचित रहेको सिन्जा उपत्यकालाई प्राचीन संस्कृति र सम्पदाको केन्द्रको रूपमा समेत लिनुपर्ने देखिन्छ ।

सुन्दर सिन्जा उपत्यका जुम्ला

कर्णाली प्रदेशको खस मल्ल राज्यले आफ्नो सीमा काठमाडौँको सीमावर्ती क्षेत्रसम्म नै विस्तार गरेको कुरा ऐतिहासिक घटनाक्रमहरूले पुष्टि गर्ने हुँदा सिन्जा उपत्यकामा केन्द्र रहेको खस मल्ल राज्य अत्यन्त शक्तिशाली थियो भन्ने कुरा स्पष्ट हुन्छ । यस उपत्यकाको नजिकै मुगु जिल्लामा नेपालको सबभन्दा ठूलो ताल रारा रहेको यो उपत्यकाले नेपालको एउटा महत्वपुर्ण पर्यटन केन्द्रको रूपमा विकसित हुने प्रशस्त सम्भावनाहरू बोकेको देखिन्छ ।

वीरेन्द्रनगर बुलबुले ताल

वीरेन्द्रनगर नगरपालिका सुर्खेत जिल्लामा पर्दछ । बुलबुले ताल वीरेन्द्रनगरको महत्वपुर्ण दर्शनीय स्थल हो । वीरेन्द्रनगरसित जोडिएको लाटीकोइली गा.वि.स.मा पर्ने काँक्रे विहारलाई पनि यहाँको प्रसिद्ध पौराणिक र ऐतिहासिक महत्वको दर्शनीय स्थलको रूपमा लिन सकिन्छ । देउती बज्यैको मन्दिर यहाँको प्रसिद्ध धार्मिक स्थल हो ।

वुलवुल ताल सुर्खेत वीरेन्द्रनगर
श्रीनगर

पाल्पा जिल्लाको शोभा, सौन्दर्य वा मुकुटका रूपमा श्रीनगरलाई लिइन्छ । बतासेडाँडा नामको वृक्षहीन शुष्क कुरूप उच्च थुम्कामा सल्ला आदि विभिन्न किसिमका रूख बिरुवाहरू रोपेर रमणीय उद्यानमा परिणत भएपछि बतासेडाँडा नै श्रीनगर भनी पुनः नामकरण गरिएको हो । यहाँ मन्दिर, बुद्धको मूर्ति र बागबगैँचाहरूसमेत छन् । झण्डै १५०० रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त, सुरम्य जङ्गल, अनुकूल स्वस्थ्यकर हावापानी भएकाले यो बाघ, चितुवा, खरायो, दुम्सी आदि जनावरहरू कालिज, तित्रा, कोइली प्रजातिका पन्छीहरूको सुरम्य बसोबासको क्षेत्र बनेको छ ।

श्रीनगर पाल्पा

वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ«े्र, हिमालचुली, अन्नपूर्ण,काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरूको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यसका अतिरिक्त सूर्योदय, माडी उपत्यका र सफा मौसममा भारतको उत्तरी भाग गोरखपुरसम्मको रेलहरूको रोमाञ्चक अवलोकन गर्न सकिन्छ । यहाँ आधुनिक गल्फ खेल मैदान बनाइएकोले स्वदेशी विदेशी गल्फ खेलाडीहरूका लागि यो थप आकर्षक ठाँउ बनेको छ ।

रेसुङ्गा

गुल्मी जिल्लाको रेसुङ्गा नामको पर्वतको शिखरमा समुद्री सतहबाट ७६८२ फिटको उचाइमा अवस्थित हिन्दूहरूको पवित्र तीर्थस्थल रेसुङ्गा रहेको छ । यहाँ कश्यप ऋषिका नाति विभाण्डक ऋषिका छोरा सिद्ध तपश्वी श्रृङ्गी ऋषिले तपस्या गरेकाले उनको स्मृतिमा यो ठाउँमा श्रृङ्गी वा श्रृङ्गा राखिएकोमा यो शब्द अपभ्रंश भई रेसुङ्गा नाम रहेको हो । यहाँ भृगु, पुलस्य, पुलह ऋषिहरूका साथै तपस्वी लक्ष्मीनारायण, स्वामी शशिधर, रेसुङ्गा महाप्रभु (यदुकानन्द), पारसानन्दले तपस्या गरी सिद्धि प्राप्त गरेकाले यहाँ उनीहरूका मूर्ति र मन्दिरहरू छन् ।

रेसुङ्गा डाँडा तस्विर : सन्ताेष

रेसुङ्गा महाप्रभुले नै जुद्ध शमशेरलाई राजपाट त्यागेर वानप्रस्थी हुन प्रेरित गर्नुभएको थियो । रेसुङ्गा महाप्रभुको निधन वि.स. २०२८ सालमा भएको थियो । रेसुङ्गाको शिखर र त्यसको वरिपरि क्षेत्रलाई विष्णुपादुका भनिन्छ । यहाँ पटक–पटक ठूला ठूला यज्ञ याज्ञादि हुँदेै आएका छन् । हाल यो ठाँउलाई रमणीय निकुञ्ज र तपोवनका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यहाँ भजनमण्डप, स्नानपोखरी, सन्तहरूको सभा, धर्मशाला आदि बनेका छन् ।

चितवन वन्यजन्तु संरक्षण क्षेत्र

न्यजन्तु संरक्षण क्षेत्रको रूपमा चितवनलाई लिइएको छ । यहाँ दुर्लभ वन्यजन्तु एवं चराचुरुङ्गी रहेका छन् । एक सिङ्गे गैँडा, बंगाली बाघ र हात्तीलाई स्थलमा पाइने दुर्लभ जनावरहरूका रूपमा लिइएको छ । यो स्थान वन्यजन्तु अध्ययन गर्ने अनुसन्धान कर्ताहरू र वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकहरूको मुख्य थलो हुन गएको छ ।

चितवन राष्ट्रिय निकुन्ज क्षेत्र
महेन्द्र गुफा

कास्की जिल्लाको पोखरा उपत्यकामा रहेको यो गुफा बाघले गाईबस्तु खान थालेपछि त्यसलाई मार्न पछ्याउँदै जाने क्रममा वि.स. २०१२ सालमा पत्ता लागेको हो भन्ने मान्यता रहेको पाइन्छ । वि.स. २०१६ सालमा राजा महेन्द्रबाट गुफाको संरक्षण गर्न आदेश भएपछि बाघ, स्याल आदि जङ्गली जनावरका बासस्थानका रूपमा रहेको यो गुफालाई महेन्द्र गुफा भनी नामाकरण गरियो ।

महेन्द्र गुफा
सराङ्कोट

पर्यटकीय दृष्टिले काठमाडौँका लागि नगरकोट महत्वपुर्ण भएजस्तै पोखराका लागि सराङ्कोटको ठूलो महत्व छ । कास्की जिल्लामा पर्ने सराङ्कोट पोखराको पश्चिमोत्तर भागमा पर्दछ । यो ठाउँबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी, पोखरा उपत्यका र पोखराको फेवाताललगायतका विभिन्न तालहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

सराङ्कोट पोखरा
ल्हो मन्थाङ (मुस्ताङ)

मुस्ताङ् जिल्लाको सदरमुकाम जोमसोमदेखि १०५ की.मी. उत्तरमा समुद्री सतहदेखि करिब १२००० फिटको उचाइमा अवस्थित ४०० घर र ९०० जनसंख्या रहेको ल्हो गाउँ ग्रामीण पर्यटनका लागि महत्वपुर्ण मानिन्छ । किल्ला वा पर्खालभित्रको सहर भनी चिनिएको ल्हो मन्थाङ् चारैतिर स–साना सुख्खा डाँडाहरूले घेरिएको उब्जाउ योग्य समथर भूमि हो ।

पन्ध्रौँ शताब्दीतिर स्थापित यो बस्ती प्राचीन ल्हो राज्यको राजधानी पनि हो । ल्हो मन्थाङ्को आकर्षण पुरानो दरबार र पुराना तीन वटा गुम्बाहरू नै हुन् । सन् १३८७ मा राजा अमेपालले स्थापना गरेको अतिप्राचीन झम्पा गुम्बाका भित्ताहरूमा चित्र र अक्षरहरू स्वर्णाक्षरद्वारा अङ्कित गरिएकोले अति आकर्षक र महत्वपुर्ण मानिन्छ ।

ल्हो मन्थाङ मुस्ताङ
शहीद स्मारक वा नेपाल स्मारक

नेपालमा प्रजातन्त्र स्थापनाका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरू श्री ५ त्रिभुवन, शहीद शुक्रराजशास्त्री, धर्मभक्त, गंगालाल, दशरथ चन्दको स्मृतिमा र अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मान र सम्झनामा सिंहदरबार र धरहराको बीचमा कलात्मकद्वारको आकारमा निर्माण गरिएको यो स्मारकको वास्तविक नाम नेपाल स्मारक हो ।

जमिनको सतहदेखि ४० फिट अग्लो नेपाल स्मारक (शहीद स्मारकद्वार) को डिजाइन ई.शंकरनाथ रिमालबाट गरिएको हो भने निर्माण सुपरीवेक्षण ई.गौरीनाथ रिमालबाट भएको हो । यो स्मारकमा रहेका मूर्ति तथा चित्रहरूको निर्माण मूर्तिकार द्वय बाबुकाजी तुलाधर र बालकृष्ण तुलाधरद्वारा भएको हो ।

नगरकोट

काठमाडौँ सहरदेखि ३२ की.मी. को दूरीमा भक्तपुर जिल्लामा पर्ने ७२०० फिट (२१७५ मी.) को उचाइमा अवस्थित यो ठाउँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृष्य देखिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यावलोकन, पर्वतीय दृश्यावलोकन हुनुको साथै सगरमाथा, कञ्चनजङ्घा, अन्नपूर्ण आदि हिमशिखर हरूको मनोरम छटा देखिने हुँदा यहाँ पर्यटकहरूको जमघट हुन्छ । भनिन्छ, नगरकोटमा एकै दिनमा चारवटा सिजनको अनुभव गर्न सकिन्छ । साथै, यहाँबाट पश्चिम उत्तरमा काठमाडौँ र दक्षिणतर्फ भक्तपुर सहरको दृश्य देखिन्छ । यहाँ विभिन्न स्तरका होटल र रिसोर्ट छन् ।

नगरकोट
फूलचोकी

ललितपुर जिल्लाको सदरमुकामदेखि १० की.मी. दक्षिणपूर्वमा र काठमाडौँको केन्द्रबाट १५ की.मी. दूरीमा रहेको फूलचोकी डाँडाको उचाइ २७६५ मिटर रहेको छ । यहाँ सेता, राता रङ्गका गुराँसका फूलहरू ढकमक्क भई फुल्ने हुँदा संस्कृतमा फूलोच्च गिरी भनिएकोमा पछि अपभ्रंश भई फूल्चोकी हुन गएको हो भन्ने पाइन्छ । त्रेतायुगमा अनुपम नामको स्थानबाट नागदहलाई घेर्नेमध्ये एक यो पहाडको टुप्पोमा बसी त्यहाँ पाइने एक लाख फूलहरूले भगवान स्वयम्भूको पूजा अर्चना गरी फूलैफूलको ठूलो रास बनाएकोले यो ठाउँको नाम फुलोच्च गिरी हुँदै फूल्चोकी बन्यो ।

फुल्चोकी
माइपोखरी

इलाम बजारदेखि १३ की.मी. उत्तरमा पर्ने पवित्र तीर्थस्थल माइपोखरीमा शिव पार्वतीले वनविहार र जलक्रिडा गर्ने गरेको भनी स्कन्द पुराणमा वर्णित थलो यही हो भन्ने भनाइ छ । यहाँ स्नान गरेमा पुण्यलाभ हुन्छ भन्ने जनविश्वास छ । यहाँ वि.सं. १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि छ । यहाँ हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन ठूलो मेला लाग्दछ । जैविक विविधतायुक्त यस पोखरीलाई रामसार महासन्धिअनुसार रामसार (सिमसार) क्षेत्रका रूपमा सन् २००८ मा घोषणा गरिएको थियो ।

माइपोखरी
सलहेश

सिरहा जिल्लाको लहान बजारदेखि ३ की.मी. दक्षिण पश्चिममा पर्ने एक फूलबारीमा नयाँ वर्षको पहिलो दिनमात्रै हारमको रूखमा माला आकारमा फूल फुल्छ । फूलबारीको बीचमा मालिनीको मन्दिर छ । जुन पर्यटकका लागि आकर्षक मानिएको छ । यो फूललाई राजा सहलेश र दौना मालिनीको चीर प्रेमको प्रतीक मानिन्छ ।

राजा सलहेश र मालीनीकाे प्रेम प्रतीक
सगरमाथा

पृथ्वीको संरचनामा सबैभन्दा अग्लो स्वरूप लिएर रहेको सगरमाथा सम्पूर्ण मानव जातिको आकर्षण र अत्यन्तै साहसी यात्राको केन्द्र भएको छ । महालङ्गुर हिमालय श्रृङ्खलामा अवस्थित यस हिमशिखरको उचाइ समुन्द्रसतहदेखि ८,८४८ मिटर रहेको छ । सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो हिमशिखर आरोहणको लागि सन् १९४९ मा खुला गरिएपश्चात् सर्वप्रथम मे २९, १९५३ मा नेपालका तेन्जिङ्ग नोर्गे तथा न्यूजिल्याण्डका एडमण्ड हिलारीले सफल आरोहण गरेपछि सगरमाथा विश्व चर्चाको विषय बन्यो ।

सगरमाथा

सन् १९५६ मा नेपालका इतिहास शिरोमणी बाबुराम आचार्यले यस शिखरलाई नेपाली नाम सगरमाथा दिएका हुन् । बेलायतका सर्भेयर जर्ज एभरेष्टले नेपालका हिमशिखरहरूको सर्वेक्षण गरेकोले सन् १९६५ मा उनकै नाममा सगरमाथालाई अंग्रेजी नाम माउण्ट एभरेष्ट प्रदान गरिएको र अन्तर्राष्ट्रिय जगतमा यस शिखरलाई सामान्यत यही नामबाट चिन्ने गरिएको पाइन्छ । चिनियाँ भाषामा झोमोलोङ्ग्मा र तिब्बती भाषामा मिटिगुटी चापुलोङ्ग्मा भनिने यस शिखरको आरोहण गर्ने प्रथम महिला जापानकी श्रीमती जुन्को तावेई हुन् ।

नेपालमा प्रथम पटक पासाङ्ग ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरी नेपाल र नेपाली महिलाको गौरव बढाएकी थिइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा वास्तवमा प्रकृतिको अनुपम उपहार हो सम्पूर्ण मानव समुदायको लागि गौरव र आकर्षणको प्रतीकको रूपमा रहेको यस शिखरले नेपाललाई बाहिरी संसारमा सगरमाथाको देशको रूपमा समेत चिनाउन योगदान दिएको छ । सगरमाथाको द्वार उपनामले सुपरिचित हिमाली क्षेत्रको प्रसिद्ध बजार नाम्चे भएर पुग्नुपर्ने सगरमाथाकै हाराहारीमा ल्होत्से, ल्होत्सेसार, नुप्सेजस्ता हिमशिखरहरूसमेत रहेका छन् । विश्वकै सर्वोच्च स्थानमा रहेको बौद्ध गुम्बा त्याङ्गबोचे र विश्वकै सर्वोच्च स्थानमा रहेको विमानस्थल स्याङबोचेसमेत सगरमाथाको काखमा अवस्थित छन् ।

खुम्बुक्षेत्र

प्रदेश नं. १ को सोलुखुम्बु जिल्लामा पर्ने खुम्बु क्षेत्र पर्वतारोहण र पदयात्राका लागि प्रसिद्ध छ । यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथासहित छिटो तथा सरल पर्वतारोहणका लागि प्रसिद्ध ६६६४ मिटर अग्लो मेरा पिक पनि छ । यसबाहेक यहाँ गोक्यो पिक, पिके डाँडा, टासीलाप्चा, कालापत्थर, आमालाप्चा क्रस, दूध कुण्ड आदि दर्शनीय स्थलहरू छन् ।

खुम्वु क्षेत्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *