nepali murtikala

नेपाली मूर्तिकला र तिनका विशेषता

नेपालको ऐतिहासिक कालविभाजन अनुसार नै यहाँको कलालाई पनि प्राचीन, मध्यकालीन र शाहकालीन गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । नेपालको प्राचीनकला पनि शैलीको आधारमा तीन भागमा वर्गीकरण गरिएको पाइन्छ –प्रारम्भिक काल, लिच्छवि काल र मध्यकालीन काल । नेपालको प्राचीन मूर्ति कलाको अध्ययनसमेत यसै वर्गीकरणअनुरूप गर्न सकिन्छ ।

प्रारम्भिक कालको मूर्तिकला

नेपालको प्रारम्भिक मूर्तिकलामा काठमाडौँ उपत्यकाका केही प्राचीन प्रस्तर मूर्तिहरूको शैली, परम्परा र लक्षणमा मथुरा कुषाण कलाशैलीको प्रभाव परेको पाइन्छ । भारतको कुषाणकाल ईशापूर्व प्रथम शताब्दीदेखि ईश्वीको तेस्रो शताब्दीबीचको मानिने हुनाले त्यही शैलीको आधारमा नेपालमा पनि मूर्तिकला सुरु भएको देखिन्छ ।

पहिलो किराँत राजा यलम ‘किराँतेश्वर’ ले नै किराँतेश्वर महादेव (गौरीघाट श्लेषमान्तक वनमा) स्थापना गरेको अनुमान गरिन्छ । आर्यघाटको मृगेश्वर स्थानभित्रको सेतो खैरो कडा प्रस्तर मूर्ति विरूपाक्ष (ई.पूं सातौँ–आठौँ शताब्दी), किराँत राजमाता आदि किराँतकालका प्रसिद्ध मूर्तिहरू हुन् ।

हाँडीगाउँ सत्यनारायण मन्दिर निकटस्थ पुरूष मूर्तिलाई अन्तिम किराँत शैलीको नमुना मानिन्छ । मनुष्यकार प्राचीन प्रस्तरमूर्तिमा विरूपष सुन्दर र उत्कृष्ट छ र यसको कथा युनानी इडिपसको कथासँग मिल्दोजुल्दो छ । तिरौलाकोट (तराई वनजरहीमा प्राप्त नारी शिर मृण्मय (टेराकोटा) ईसापूर्व तृतीय शताब्दीको मानिन्छ ।

यहाँको माता र शिशु ई. पू. द्वितीय शताब्दीको हो । यस युगमा प्रचलित केही मूर्तिहरू– च्यासलहिटिकी गजलक्ष्मी, हौगलवहाल पाटनकी मातृकय, सिकुवही पाटनको उमामहेश्वर र राष्ट्रिय सङ्ग्रहालयको कुमारसम्भव शिलाफलक आदि रहेका थिए ।

प्रारम्भिक कालको मूर्तिकलाको मुख्य विशेषताहरू

१) अनौठो वरदमुद्रा प्रस्तुत गर्नु ।

२) छड्के पटुकाको प्रयोग ।

३) लुगाका मुजालाई बुट्टाकारमा देखाउनु ।

४) साधारण र गोलो आकारको प्रभामण्डल देखाउनु ।

५) यज्ञोपवितको अभाव ।

६) अलङ्कृत रूपमा केश विन्यास गर्नु ।

७) काँधसम्म आउने ठूल्ठूला कर्ण कुण्डलको प्रयोग गर्नु ।

८) गोडामा ठूलठूला कल्लीको प्रयोग हुनु ।

९) सुक्ष्म कलाकारिताको अभाव हुनु ।

लिच्छवि कालको मूर्तिकला

लिच्छविकालीन मूर्तिकला सुसंस्कृत, चिल्ला, मिहीन, भावभङ्गीपूर्ण एवं मौलिकता भएको पाइन्छ । गुप्तकालीन कलाको छाप परे तापनि धार्मिक विषयवस्तुमा सुन्दर र गतिशील मूर्तिहरू बनेका पाइन्छन् । साना भएतापनि छिनुको कुँदाइद्वारा मूर्तिहरू बनेको पाइन्छ ।

यस युगमा प्रचलित केही मूर्तिहरू विष्णुविक्रान्त मूर्तिहरू, राष्ट्रिय सङ्ग्रहालयकी पद्महस्ता लक्ष्मी मूर्ति, आर्यघाटको विरूपाक्ष मूर्ति, हनुमानढोकाको कालियदमन मूर्ति (हनुमान ढोका, काठमाडौँ, विश्वरूप (चाँगु, बोधिसत्व (गणबहाल) जस्ता मूर्ति उत्कृट भएकाले यो युग कलामा सुवर्ण युग नै भएको मानिन्छ ।

यस कालका बौद्ध र बोधिसत्वका पर्याप्त मूर्तिहरू भेटिन्छन् । ढ्वकावहा चैत्यको पद्यपाणि लोकेश्वर मूर्ति, बाङ्गेमुढाको स्थानक बुद्धमूर्ति, बुढानीलकण्ठको जलाशय नारायण मूर्ति, चण्डोलको धुमवराह मूर्ति, राष्ट्रिय सङ्ग्रहालयको उमामहेश्वर मूर्ति आदि प्रसिद्ध छन् ।

शक्ति र ललितमय मूर्तिको निर्माण प्राचीनकालमा प्रारम्भ भइसकेको थियो । स्त्रीरूपी शक्तिपूजा प्राचीनकालदेखि नै विद्यमान भएको प्रमाण लिच्छवि राजा मानदेवको समय (ईसाको पाँचौँ शताब्दी) मा स्थापना गरिएका विजेश्वरी, अष्टदशभूज धारणी पलाञ्चोक भगवती (काभ्रे लाई लिन सकिन्छ ।

यो मूर्ति कलापूर्ण र बेजोड छ । ईसाको सातौँ शताब्दीपछि स्त्रीलाई मूर्तिकलाको व्यापक विषय बनाई नःघलटोलको पार्वती, दक्षिणकाली (फर्पिङ्ग), कङ्केश्वरी (विष्णुमती निकट) र वनकाली (द्यौपाटन) जस्ता देवीका मूर्तिहरू तान्त्रिक ढाँचामा निर्माण भए । यस समयमा मूर्तिहरूले अत्यन्त परिस्कृत उत्कृष्ट अवस्था प्राप्त गरिसकेको पाइन्छ । आठौँ शताब्दीपछि भारतको उत्तर बिहार शैलीको प्रभाव परेको पाइन्छ ।

लिच्छवीकालको मूर्तिकलाको विशेषताहरूः

१) आकर्षक मुखाकृतिका मूर्तिहरू निमार्ण हुनु ।

२) विशेष प्रकारको ढुङ्गाको चयन गर्नु ।

३) आङ्गिक अनुपातको मेल हुनु ।

४) नारी मूर्तिमा लचकताको गुण विद्यमान रहनु ।

५) केश विन्यास अलङ्कृत ढङ्गमा हुनु ।

६) ज्यादै आर्कषक नारी मूर्तिहरू हुनु ।

७) पारदर्शी कपडाको प्रयोग गर्नु ।

८) साधा र गोलो प्रभामण्डल निमार्ण गर्नु ।

मध्यकालको मूर्तिकला

मध्यकालीन नेपालका काष्ठ, धातु र प्रस्तर मूर्तिकला समृद्ध थिए । ताम्र र लोहलेपद्वारा मूर्तिहरू प्रज्वलित र टिकाउ पारिन्थे । कुशल कालीगढले कुँदेका मूर्तिहरू विशेषतः काठमाडौं–उपत्यकामा भेटिन्छ । नेपाली मूर्तिकला सामान्यतया प्रस्तर, काष्ठ र धातु गरी तीन प्रकारका मूर्तिकला अत्यधिक विकसित भएका छन् । मृण्मय (टेराकोटा) मूर्तिहरू पनि थोरै विकसित भए पनि अत्यन्त सुन्दर छन् ।

यस युगका कोटालटोल हाँडीगाँउको उमामहेश्वर मूर्ति, क्ववहाको उमामहेश्वर मूर्ति, थापाहिटीको सूर्य मूर्ति, बनेपाको सूर्य मूर्ति, चाँगुनारायणको श्रीधर विष्णु मूर्ति, चाँगुको नरसिंह मूर्ति, देउपाटनको चतुरमुख लिंग, पाटन कुम्भेश्वरको विष्णु व्यूह, राष्ट्रिय सङ्ग्रहालयको विष्णुमूर्ति आदि प्रसिद्ध छन् । तेह्रौँ–चौधौँ शताब्दीको नृत्यश्वर मूर्ति (राष्ट्रिय सङ्ग्रहालय), स्थिति मल्लको समय वि.स. १४३९ (ई.सं १३८२) मा पशुपतिको मनुष्याकार चतुर्मुखी मूर्ति पनि प्रसिद्ध छन् ।

मध्यकालका मूर्तिकलाका विशेषताहरू

१) फ्रोस्रो कमसल ढुङ्गाको छनोट ।

२) लाम्चो र सानो मुखाकृति निर्माण गर्नु ।

३) अत्यधिक गरगहनाको प्रयोग गर्नु ।

४) अलङ्कृत प्रभामण्डल निर्माण गर्नु ।

५) मूर्तिलाई हावादारी बनाउनु ।

६) विशेष प्रकारको मुकुटको प्रयोग गर्नु ।

७) आङ्गिक अनुपातको मेल नहुनु ।

८) पादपीठमा दोहोरो पद्यपीठ देखाउनु ।

प्रस्तरका मूर्ति

पत्थर कलामा नेपाल निकै माथि थियो । पत्थरको छनोट, विषयवस्तुको छनोट र कालीगढी कुशलताले नेपाली पत्थर कलामा सजीवता र सुन्दरता दिएको पाइन्छ । स्थूल र सुक्ष्म प्रकारका ढुङ्गे मूर्तिहरू मध्यकालमा प्रशस्त तयार भएको पाइन्छ । दशौं शताब्दीतिरको हाँडीगाउँ कोटाल टोलको उमामहेश्वरको मूर्ति, ने.सं. १०७ को पाटनको क्वावहाको उमामहेश्वरको मूर्ति, सन् १०६५ को पाटन थापाहिटीको सूर्य मूर्ति (हाल पाटन सङ्ग्रहालयमा छ), ने.सं. ५१४ मा वनेपाको सूर्य मूर्ति, दशौँ शताब्दीतिरको चाँगुनारायण प्राङ्गणको श्रीधर विष्णुको मूर्ति, चौधौँ शताब्दीतिरको पनौतीको सूर्य मूर्ति, तेश्रो शताब्दीतिरको चाँगुको नरसिंहको मूर्ति, चौधौँ शताब्दीतिरको राष्ट्रिय सङ्ग्रहालयको विष्णुको मूर्ति आदि पूर्वमध्यकालका उत्कृष्ट मूर्तिका उदाहरण हुन् ।

भूपतिन्द्र मल्लको समयको भक्तपुर दरबार क्षेत्रको नरसिंहको मूर्ति र हनुमानको मूर्ति, १५औँ शताब्दीको पाटन कुम्भेश्वरको विष्णुव्यूह मूर्ति, भक्तपुर कला सङ्ग्रहालयमा रहेको १५औँ शताब्दीतिरको हरिहरको मूर्ति, १७औँ शताब्दीतिरको स्वयम्भुको महाकालको मूर्ति, भक्तपुर कला सङ्ग्रहालय, राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शित विभिन्न देवी देवताका मूर्ति, उपत्यकामा यत्र तत्र पाइने मूर्तिहरू नै मध्यकालीन प्रस्तर मूर्तिका उदाहरण हुन् ।

प्रस्तर मूर्तिका विशेषताहरूः

१) राम्रो प्रस्तरको छनौट नगर्नु ।

२) तान्त्रिक प्रभाव ।

३) अत्यधिक गरगहनाको प्रयोग ।

४) बुद्धमूर्तिमा तीन चोसे मुकुटको प्रयोग ।

५) चुच्चो नाक ।

६) पातलो ओठ ।

७) लामा आँखा, लामो चिउडो ।

८) बुद्ध जीवनका घटनालाई एउटै फलकमा उतार्नु ।

९) शारीरिक अनुपात नमिलेका मूर्तिहरूको निर्माण ।

१०) कलात्मक प्रभा मण्डल ।

११) ज्वालावलीको प्रयोग ।

१२ धर्म निरपेक्ष कलाकृतिको निर्माण ।

काठका मूर्ति

छिटो नाशवान हुने भएकाले काठका अत्यन्त पुराना मूर्तिहरू प्राप्त छैनन् । पन्ध्रौँ शताब्दीतिरको राष्ट्रिय सङ्ग्रहालयको पूजादेवीको मूर्ति, १५औँ शताब्दीतिरको भक्तपुर काष्ठ सङ्ग्रहालयको नृत्यदेवीको मूर्ति, १५औँ शताब्दीतिरको राष्ट्रिय सङ्ग्रहालयको नृत्यदेवीको मूर्ति (एउटै काठमा बनेको, भक्तपुर काष्ठकला सङ्ग्रहालयका वसुन्धरा, १७औँ शताब्दीको गणेश र नृत्य रूप शिव, महिष मर्दिर्नीदुर्गा, मार विजयको मूर्ति काष्ठ मूर्तिका उत्कृष्ठ नमुना हुन् ।

काष्ठ कला टँुडालमा प्रशस्त प्रदर्शन भएको पाइन्छ । मन्दिरको गहना स्वरूप तीन खण्डसम्म कुँदिएका टुँडाल चाँगु, तलेजु, न्यातपोल, कुम्भेश्वर आदिमा पाइन्छ । टँुडालको माथिल्लो हिस्सामा वृक्ष, मध्यभागमा देवता र तल्लो खण्डमा यक्ष, नर–जनावर तथा यौनाभियनका विभिन्न आसन आदि चारकोणमा सौन्र्दययुक्त शार्दूल (भेडाको सिङ, सिंहको शरीर) प्रर्दशन गरिन्छ ।मन्दिरको द्वारमाथि अर्धवृत्ताकार तोरण बनाई त्यसको मध्यखण्डभित्रको मुख्य देवता, दायाँ–बायाँ गङ्गा, यमुना, मकरको प्रतीक राख्ने गरेको पाइन्छ ।

काठका कुँदिएका थाम राख्ने प्रचलन न्यातपोल, काष्ठमण्डप (गोरखनाथ) मा प्रयुक्त छ । काष्ठकला सोह्रौँ–सत्रौँ शताब्दीमा चरम विकासको अवस्थामा थियो । काष्ठमूर्तिका उत्कृष्ट नमुनाहरू मन्दिरमा प्रयुक्त टुँडाल, झ्याल आदिले प्रस्तुत गर्ने गरेको पाइन्छ । मन्दिरका स्थापत्य कलामा बाहिरी भागमा टुँडालमा श्रृङ्गारमय मूर्ति पाइन्छ ।

माटोका मूर्ति

नेपाली कलाको सूत्रधार माटोका मूर्ति हो । मृत्तिका मूर्तिका माध्यमिक नमुना पनि प्राप्त छन् । अष्टमातृका (राष्ट्रिय सङ्ग्रहालय) सत्रौँ शताब्दीको हो । पशुपति आर्यघाटको अनन्तनारायण विष्णु मूर्ति अठारौँ शताब्दीको माटाको मूर्तिको नमुना मानिन्छ । शिवसिंह मल्लको समयमा निर्मित महाबौद्ध मन्दिर ( वि.स. १६४२) मा अनगिन्ति मृतिका मूर्तिहरू छन् । इँटजस्तै पोलेर बनाएका यी माटाका मूर्तिहरू ढुङ्गाजस्तै बलिया, ढलोटजस्तै चिल्ला र स्निग्ध पाइन्छ । धातुका मूर्ति प्राचीन समयका धातुका मूर्तिहरू प्रायः उपलब्ध छैनन् । तर सान्दर्भिक प्रमाणहरू भने पाइन्छ ।

तराई क्षेत्रमा प्राप्त प्राचीन मुद्रा, चाँगुको विष्णुको मूर्ति, लिच्छवि कालका मुद्राहरू, नरेन्द्र देवको पेटीको बुद्धमूर्ति आदि लिच्छवि कालको अन्तिम  समयदेखिका धातुका मूर्तिहरू हुन् । आठौँ, नवौँ शताब्दीको बुद्धको मूर्ति, ८ औँ, ९ औँ शताब्दीको न्यूयोर्कको एक व्यक्तिको निजी सङ्ग्रहमा रहेको वज्रपाणीको मूर्ति, १४ औँ शताब्दीको पाटन हिरण्यवर्ग महाविहारको अवलोकितेश्वरको मूर्ति, १४ औँ शताब्दीतिरको राष्ट्रिय सङ्ग्रहालयको नाम संगतिको मूर्ति, पाटन सङ्ग्रहालयमा रहेका ११ औँ, १२ औँ शताब्दीको इन्द्रको मूर्ति, सन् १०६५ को अर्ध नारेश्वर, १२ औँ शताब्दीको बुद्धको मूर्ति, १६, १७ औँ शताब्दीतिरको राष्ट्रिय सङ्ग्रहालयको महिषसम्बरको मूर्ति आदि नै धातु मूर्तिकलाका उत्कृट नमुना हुन् । मध्यकालमा अत्यधिक धातुका मूर्ति निर्माण भएको पाइन्छ । धातुकलामा दशौँ तथा एघारौँ शताब्दीमा नयाँ युग आएको मान्ने गरिन्छ ।

मध्यकालका धातु मूर्तिका विशेषताहरू 

क. समानुपातिक तालमान मिलेको शरीर र अवयव

. ढल्किएको वा अङ्ग–अङ्ग मिलेको शरीर

. अगाडि र पछाडि दुवैतिर कलायुक्त

. अत्याधिक वस्त्राभूषण

. शिर र हात बढी प्रर्दशन

. अर्ध गोलाकार आँखीभौं र चुच्चे नाक

. गोलो अनुहार आदि ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *