nepali chitrakala

नेपाली चित्रकला र तिनका विशेषता

मानवले भाषा र लिपिको आविष्कार गर्नुभन्दा अगाडिदेखि नै चित्रकलाको सुरुवात गरेको देखिन्छ । जुन समयमा मानवले भाषाको विकास गरेको थिएन, त्यो समयमा नै उसले चित्रको माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरेको पाइन्छ । पाषाण कालमा यूरोपका विभिन्न गुफाहरूमा निर्माण गरिएका चित्रहरूले यसै प्रसङ्गलाई सङ्केत गरेको पाइन्छ ।

संस्कृत साहित्यको युग र ऐतिहासिक कालमा समेत चित्रकला मानवको विचार अभिव्यक्तिको माध्यम भएको प्रमाण पाइएको छ । नेपालमा चित्रकलाको सुरुवात कहिले भयो भन्ने कुराको स्पष्ट जानकारी पाउन सकिएको छैन । यहाँको प्राग्इतिहासको सही ढङ्गले खोज हुन अझसम्म बाँकी नै भएको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ ।

नेपालका चित्रहरूको विवरण प्रस्तुत गर्ने प्रथम अभिलेख्य प्रमाण धनबज्रबज्राचार्यद्वारा नेपालको पहिलो अभिलेख मानिएको, राजाको नाम र प्रसारण गरिएको तिथिमिति अङ्कित नगरिएको चावहिलको अभिलेख हो (वज्राचार्य, २०३०ः१) । उक्त अभिलेखमा “किन्नरी जातकका कुरा कुँदिएको, अनेक थरी चित्रले सुहाएको यो चैत्य धेरै कालसम्म कष्ट गरी बनाइएको हो” भन्ने कुरा स्पष्टसँग लेखिएको छ ।

विश्वको चित्रकलाको इतिहास प्राचीन गुफायुगजस्तै पुरानो छ । युरोप (रोम, एथेन्स) तथा अफ्रिका (मिश्र) आदिका गुफाहरूमा चित्रकलाका प्रमाणहरू प्राप्त छन् । हिन्दू परम्परामा रामायण र महाभारतकालमा पनि चित्रकला विकसित थियो भन्ने कुरा राम वनवासपछि शोकाकुल दशरथलाई रानी कौशल्याले रामको चित्र देखाएको प्रसङ्गले पुष्टि गर्दछ ।

पौराणिक ग्रन्थहरूमा पनि चित्रकलाको चर्चा गरिएको छ । नेपालमा चित्रकलाको सुरुवात भारतको चित्रकलाको प्रभावबाट भएको भन्ने विद्वानहरूको राय रहेको छ र लिच्छविकालीन दरबारहरू चित्रकलाले सुसज्जित हुन्थे भन्ने कुरा चिनिया यात्रुहरूले वर्णन गरेका छन् ।

चित्रहरू काठ, कपडा, ताडपत्र, कागज आदिमा अङ्कित हुने र यस्ता सामग्रीहरू छिटै नाश हुनेहुँदा प्राचीन चित्रकलाका नमुनाहरू दुर्लभ छन् । तथापि प्राचीन तथा मध्यकालीन चित्रकलालाई निम्न ३ प्रकारले अध्ययन गर्न सकिन्छ ।ग्रन्थ चित्र नौसय वर्षसम्म पुराना प्राचीन बौद्ध ग्रन्थहरूमा चित्रित बौद्ध चित्रहरू नै नेपालका चित्रकलाका प्राचीन नमुना हुन् ।

बौद्ध ग्रन्थचित्रहरूको तुलनामा हिन्दू देवी देवताका चित्रहरू न्यून मात्रामा पाइएका छन् । यस्ता ग्रन्थ चित्रहरू भारतको गुप्तकालीन अजन्ता र एलोरा शैलीसँग मिल्दाजुल्दा छन् । ग्रन्थ चित्रलाई दुई वर्गमा वर्गीकरण गरिएको छ ।

क) गाता चित्र

ख) पात्र चित्र

ग्रन्थलाई सुरक्षित रूपमा ढाक्नका लागि तल र माथि राखिएका काठका चिल्ला फल्याकहरूमा भित्रि, बाहिरी भागमा वा दुवैतर्फ कोरिएको चित्र गाताचित्र हुन् भने मूलपाठको दायाँ बाँया बनेका वा मूल पाठलाई दायाँबायाँ पारी कथावस्तुसँग मिल्ने गरी बनाइएका चित्रहरू पात्रचित्र हुन् ।

ग्रन्थचित्रहरूमा पञ्चरक्षा, प्रज्ञापारमिता, हरिवंश पुराण आदि बौद्ध र शैव ग्रन्थहरूमा विविध रङ्ग र आकार प्रकारका चित्रहरू अङ्कित छन् । छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तकहरू हातैले लेखेर तयार पार्ने गरिन्थ्यो । यस्तै ग्रन्थलाई हस्तलिखित ग्रन्थ भनिन्छ ।

यी  ग्रन्थहरूमा लेखिएका विषयसँग सम्बन्धित चित्रहरू पनि ती ग्रन्थहरूमा बनाउने चलन त्यस बेला थियो । यिनै चित्रहरूलाई ग्रन्थचित्र भनिन्छ र यी चित्रहरू ज्यादै सूक्ष्म रूपमा बन्ने हुँदा Miniature Painting भनेर पनि उल्लेख गर्ने गरिएको छ । हालसम्म प्राप्त नेपाली चित्रकलाका प्राचीन नमुनाहरूमा ग्रन्थचित्र नै पर्दछन् ।

मध्यकालभन्दा पहिलेका ग्रन्थचित्र भने पाइएका छैनन् । मध्यकालमा बनेका केही उत्कृष्ट ग्रन्थचित्रहरूमा पञ्चरक्षा, विष्णुधर्मशास्त्र, हरिवंश, हितोपदेश आदि उल्लेखनीय छन् । पूर्वमध्यकालतिरको पञ्चरक्षा नामक ग्रन्थको गातामा देवीहरूको भव्य चित्र बनाएको छ जसमा देवीहरू महिषासुर राक्षसलाई मार्न तल्लीन भएको देखाइएको छ ।

त्यस्तै, हरिवंश नामक ग्रन्थको गातामा कृष्णको जन्मदेखि उनको कंशले वध गरेसम्मको कथालाई चित्रण गरिएको छ । चित्र कथालाई बुझाउन पानाहरूमा अनेक प्रकारका चित्रहरू बनाइएका छन् । ग्रन्थचित्रमा प्रयोग भएको विषयवस्तु, रङ्ग तथा पहिरनका सम्बन्धमा कलाकारहरू विशेष संवेदनशील देखिन्छन् ।

कलाका अन्य विधामा जस्तो चित्रकलामा स्पष्ट रूपमा व्यक्तिको पहिचान गर्न कठिनाइ हुन सक्छ त्यसैले तत्कालीन कलाकारहरूले रङ्गकै माध्यमबाट देव र राक्षस स्वरूपमा भेद गर्नुपर्ने हुन्छ । यही स्थितिस्वरूप मध्यकालीन कलाकारहरूद्वारा कृष्णलाई स्वाभाविक नीलो हरियो रङ्गमा र कंस तथा उनका अनुचरहरूलाई पहेँलो रङ्गमा देखाइएको छ । पहिरनमा पनि तत्कालीन भेषभूषा झल्काउने चेष्टा गरिएको पाइन्छ । जस्तो कि पुरूषहरूले छोटो धोती र स्त्रीहरूले घाँघर चोलो लगाउने तथा पुरूषहरूले मुसलमानी ढङ्गले दाह्री पाल्ने आदि ।

भित्ते चित्र

नेपाली चित्रकलाका विविध पक्षमध्ये एक प्रमुख पक्षको रूपमा भित्तेचित्रको सुरुवातको निश्चित तिथि मिति नभए पनि यसको ऐतिहासिकता लिच्छविकालसम्म पुग्दछ । नेपालमा प्राप्त मध्यकालीन चित्रकलाका नमुनाहरूमा भित्ते चित्रकला पनि एक हो । नेपालमा पनि प्राचीन कालमा यो कला विकसित भएको हुनसक्छ तर हाल हामीसँग मल्लकालपूर्वका भित्ते चित्रकलाका नमुना प्राप्त भएका छैनन् । मध्यकालमा दरबार, मन्दिर र विहारहरूका भित्तेचित्र उत्कृष्ट कोटीका छन् ।

भक्तपुरको ५५ झ्याले दरबारमा रामायण, महाभारतका कथाहरू, नलदमयन्ती कथा, कृष्ण जन्म र राशलीलाका आर्कषक चित्रहरूका साथै युद्धका लागि तत्पर शस्त्रास्त्रले सुसज्जित सैनिकहरूकको चित्र अङ्कित छ । जयप्रकाश मल्लद्वारा निर्मित जीवित देवी कुमारी) को घर मानिने कुमारी घरमा रातो र सेतो मत्सेन्द्रनाथको चित्र, पचली भैरव, भीमसेन, हिरण्यकश्यपु वध, महाङ्काल, वज्रयोगिनी, गणेश आदि देवी देवताको र मुगल भेषमा जयप्रकाश मल्लको ६ फिट अग्लो चित्र अङ्कित छ ।

कीर्तिपुरको बाघभैरवमा र हनुमानढोकामा समेत मल्लकालीन चित्रकलाका नमुना देख्न सकिन्छ । भक्तपुरको तलेजु मन्दिरमा पन्ध्रौँ शताब्दीमा निर्मित कृष्णले मुरली बजाउदैँ गरेको र राधाले झ्याली बजाउँदै गरेको चित्र अति रमणीय देखिन्छ । समष्टि रूपमा प्राचीन तथा मध्यकालीन चित्रकलामा धार्मिक सहिष्णुता, तान्त्रिक शैलीको बढ्दो प्रभाव, मुगल शैलीको प्रयोग तथा अनुशरण, विविध रङ्ग तथा रोगनको प्रयोग आदि प्रमुख विशेषताहरू पाइन्छ ।

पौभा चित्र

विशेष प्रविधिका साथ कपडामा बनाइएको पौभा चित्र पट र मण्डल गरी दुई छन् । ‘पट’ विधिमा देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवीदेवताहरूलाई वरिपरि राखिन्छ भने ‘मण्डल’ विधिमा क्यानभासको बीच खण्डमा तान्त्रिक वा साङ्केतिक चिन्हहरू राखिन्छन् । पौभा चित्रहरू नेपाली चित्रकलाको विशिष्ट शैलीको रूपमा रहेका छन् ।

यो चित्रकलालाई केही विद्वानहरूले नेपालमा नै उत्पत्ति भएको हो भनेका छन् भने लैनसिंह वाङ्देलका अनुसार “कपडामा धार्मिक कुराहरू लेख्ने तिब्बती परम्परा नै नेपालमा आयत गरिएको हो ।” पछि नेपालमा निर्मित बौद्ध परम्पराका पौभाचित्रहरूको चीनमा अत्याधिक माग भएकोले त्यसबखत र अद्यापि पौभा चित्रहरू व्यावसायिक रूपमा निर्माण हुँदै आएका छन् ।

बाङ्देलका अनुसार अमेरिकाको काउण्टी म्युजियममा रहेका तेह्रौँ शताब्दीको ‘अमिताभ’ पौभाचित्र नेपालको प्राचीन पौभाचित्र हो । तेह्रौँ शताब्दी कै ‘रत्नसंभव’ र नेपाल सम्वत् ७२० को ‘विष्णुमण्डल’ नेपाल सम्वत् ५५६ तिरको ‘अमोघपास अवलोकितेश्व’ पौभाचित्रहरू उल्लेखनीय छन् ।

धार्मिक सहिष्णुतामा आधारित हुनु, धार्मिक परम्पराका पौभा चित्र हिन्दू र बौद्ध दुवैमा प्राप्त हुनु, पृष्ठ भागमा प्राकृतिक दृश्यहरूको चित्रण हुनु नेपाली पौभाचित्रका विशेषता मानिन्छन् । सोह्रौँ शताब्दीदेखि नेपाली पौभाचित्रमा तान्त्रिक शैलीको प्रवेश भई सोहीअनुरूप देवी देवताहरूको चित्रहरू अङ्कित गर्ने परिपाटी चल्यो । १८ औं शताब्दीपछिका पौभाचित्रका ठूला आँखा, उच्च नाक, लाम्चिला मुखाकृति चित्रित भएकाले यस्तो शैलीलाई भारतीय प्रभाव भन्ने गरिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *