नेपालको सङ्क्षिप्त ऐतिहासिक चिनारी
विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत श्रृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ ।
पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्व परिशिष्टमा गरिएको पाइन्छ ।
अथर्व परिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरु, विदेह, उदुम्बर, अवन्ती र कैकय देशहरू सँगै राखी चर्चा गरिएको छ ।
मूल सर्वास्तिवाद, विनयसङ्ग्रह नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ ।
महाभारतको वनपर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थको आवश्यक सूत्र तथा कौटिल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् ।
त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तलेआफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेक राज्य’ को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् ।
नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै ‘नेपाल’ नामबाट परिचित रहेको स्पष्ट हुन्छ ।
नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
श्रोत : नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय ।