Nepali Jaat Jaati

नेपालका विभिन्न जात जातिहरूको सङ्क्षिप्त चिनारी

नेपाल एक बहुजाति, बहुभाषी, बहुधार्मिक एवम् बहुसांस्कृतिक मुलुक हो । नेपाल भाषा, संस्कृति, धर्म र जातिको दृष्टिले धनी राष्ट्र हो । अनेकता र विविधता नै यहाँको अनौठो र उल्लेखनीय पक्ष हो । नेपालमा अहिले यी सबै पक्षहरूको आगामी पिँढीहरूका लागि संरक्षणको आवश्यकता महसुस गरी नेपाल पर्यटन बोर्ड र नेपाल राष्ट्रिय जातीय सङ्ग्रहालयजस्ता संघ–संस्थाहरूले महत्वपुर्ण भूमिका खेलेका छन् । नेपालमा रहेका विभिन्न जात जातिमध्ये केही जात जातिको बारेमा निम्नानुसार चर्चा गरिएको छ ।

बाहुन/क्षत्री

प्रजातीय हिसाबले बाहुन/क्षेत्री ककेसियन मूलका मानिन्छन् । जनै धारण गर्ने हुँदा यिनीहरूलाई तागाधारी पनि भनिन्छ । पूर्विया र कुमाईँ भनेर बाहुनहरूलाई दुई समूहमा विभाजन गरिएको पाइन्छ । यिनीहरू देशका विभिन्न जिल्लामा छरिएर रहेका छन् । पुरेत्याइँ वा कर्मकाण्ड, ज्योतिष हेर्ने काम, खेतीपाती र सरकारी नोकरीमा यिनीहरू बढी संलग्न भएको पाइन्छ । यिनीहरू वैदिक सनातनी हिन्दू धर्म मान्दछन् । बाहुन र क्षत्रीहरूले बोल्ने भाषा भारोपेली समूहको नेपाली भाषा हो जुन देवनागरी लिपिमा लेख्ने गरिन्छ । यिनीहरू आफूलाई खस आर्य भन्न रुचाउँछन् ।

नेवार

काठमाडौँ र उपत्यकाबाहिरका प्रमुख व्यापारिक केन्द्रमा बसोबास गर्ने नेवारलाई आदिवासी जनजातिभित्र गणना गरिन्छ । पेशाका आधारमा ब्राह्मणदेखि शुद्रसम्ममा वर्गीकरण गरिएका यिनीहरूको परम्परङ्गत रूपमा काँचो वा पाकेको इँटा, झिंगटीको छानाद्वारा निर्मित दुई वा तीनतले घरहरू हुन्छन् । यिनीहरूको प्रमुख पेशा व्यापार, कृषि हो । साथै, यिनीहरूले जातीय पेशा अँगालेका छन् । हिन्दू तथा बौद्धधर्म अवलम्बन गर्ने यिनीहरूमा धार्मिक सहिष्णुता रहेको पाइन्छ ।

मगर

मगर जाति नेपालको आदिवासी जनजाति हो । यिनीहरूको बसोबास क्षेत्रलाई १२ र १८ मगरात भनिन्छ । जुन मस्र्याङदीदेखि दैलेखडोल्पाको केही भागसम्म फैलिएको छ । राना, थापा, पुन, आले, रोका, घर्ती, बुढाजस्ता सात थरबाट मगरका अन्य थरहरू बन्न गएका हुन् । कृषि, पशुपालन, खानी खन्ने, हस्तकलाका साथै सेनालगायत वैदेशिक रोजगारी यस जातिका मुख्य पेशा हुन् ।

थारू

थारू जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो । थारूको मातृभाषा भारोपेली परिवारमा पर्दछ । यिनीहरूको आदिमभूमि नेपालको शिवालिक श्रृङ्खला तथा तराई क्षेत्र हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तराईका २० जिल्लामा थारूको बाहुल्यता छ । यिनीहरूको मुख्य पेशा कृषि हो । थारूहरू आफूलाई प्रकृतिपूजक र बौद्धधर्मावलम्बी मान्दछन् ।

तामाङ

आदिवासी जनजातिमा गणना हुने तामाङको बसोबास क्षेत्रलाई ताम्सालिङ भनिन्छ । यिनीहरू धेरै थरहरूमा विभाजित छन् । यिनीहरूले काठमाडौँ उपत्यका र सो वरिपरिका १० जिल्लाहरूमा घना रूपमा बसोबास गरेका छन् । पशुपालन, कृषि, थाङ्का र विभिन्न हस्तकलाका सामग्रीहरू निर्माण गर्नु यिनीहरूको मुख्य पेशा हो ।

राई

राईहरू आदिवासी किराँत वंशका हुन्, जसलाई खम्बू पनि भनिन्छ । नेपालको सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, इलामउदयपुर राईहरूको मुख्य बसोबास क्षेत्र हो । यिनीहरू ढुङ्गा, माटो र काठले बनाएको तथा खरले छाएको घरमा बस्दछन् । यिनीहरू मुख्यतया धान, कोदो, अलैंची खेती, पशुपालन तथा कागज बनाउने व्यवसाय गर्दछन् ।

गुरुङ

नेपालको आदिवासी जनजातिभित्र पर्ने गुरुङ (तमू जाति देशभित्र र बाहिर छरिएर रहेको पाइए पनि यिनीहरू गण्डकी क्षेत्रका कास्की, लमजुङ, गोरखामनाङका रैथाने हुन् र कास्कीको क्होल उनीहरूको पुख्र्यौली थलो हो । यिनीहरूको पुख्र्यौली पेसा पशुपालन र कृषि भएता पनि स्वदेशी तथा विदेशी सेनालगायत व्यापार र सरकारी सेवामा पनि निकै संलग्न रहेको पाइन्छ । भोट–बर्मेली परिवारअन्र्तगतको तमू भाषा बोल्दछन् ।

लिम्बू

नेपालको आदिवासी लिम्बू जाति अरुण नदीपूर्व सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङसुनसरीमा बसोबास गर्दछन् । लिम्बू जातिमा पनि धेरै थरहरू छन् । यिनीहरू कृषि तथा पशुपालन व्यवसाय गर्दछन् । लिम्बूहरू प्रकृति पूजा गर्ने किराँत धर्म मान्दछन्

शेर्पा

शेर्पा जातिको आदिथलो सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रलाई मानिन्छ । शेर्पाहरू देशका विभिन्न हिमाली जिल्लाहरूमा छरिएर रहेका छन् । यिनीहरू पशुपालन र खेतीपाती गर्दछन् । यिनीहरू बौद्धधर्मको महायान सम्प्रदायी हुन् भने यिनीहरूको भाषा भोट–बर्मेली परिवारभित्र पर्दछ । लोसार, डुम्जी, फाङडी ल्होप्सो, याज्र्याङ, कङसुर, ढुकपा छेच्यू, ङयुङने, छेच्यू यिनीहरूका प्रमुख चाड हुन् ।

सुनुवार

सुनुवार जाति आदिवासी किराँत वंशको एक शाखा हो । सुनुवारहरू लिखुपूर्व रामेछापदेखि ओखलढुङ्गासम्म बसोबास गर्दछन् । सुनुवारका बाह्र थरहरू छन् । सुनुवारको धर्मगुरुलाई नोक्सो भनिन्छ । यिनीहरू भोट–बर्मेली भाषा परिवारको सुनुवार कोइँच भाषा बोल्दछन् ।

चेपाङ

नेपालको आदिवासी जनजाति चेपाङलाई प्रजा पनि भन्ने गरिन्छ । यिनीहरू चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूको भिरालो पाखामा र बाँके, बर्दिया, नवलपरासी, बारा आदि जिल्लाहरूमा समेत बसोबास गर्दछन् । यिनीहरूका धेरैजसो परम्परङ्गत स–साना एकतले खरले छाएका घर हुन्छन् । यिनीहरूको परम्परङ्गत पेशा खोरिया प्रणालीको कृषि व्यवसाय, कन्दमुलको सङ्ग्रह र शिकार हो ।

उराव (झाँगड)

नेपालको आदिवासी जनजातिभित्र पर्ने उरावलाई झाँगड पनि भनिन्छ । यिनीहरूको बस्ती पर्सा देखि झापासम्म फैलिएको छ । यिनीहरू स–साना झुपडी बनाएर खोला किनारमा बसोबास गर्दछन् । यिनीहरूको मुख्य व्यवसाय कृषि, मजदुरी, पशुपालन हो भने हस्तकलाका सामग्री ढाकी, पिर्का, गुन्द्री आदि पनि बुन्ने गर्दछन् । यिनीहरूको भाषा द्रविड भाषा समूहमा पर्छ ।

थामी

आदिवासी किराँत वंशको एक शाखा थामी जाति हो । थामीहरू दोलखा जिल्लाको सुस्पा, राङथली, चिराङथली, सुइतापङ, कालिञ्चोक, लापीलाङ, खोपाचागु, आलम्पु, सिस्कर, बुङथली आदि गाउँमा बसोबास गर्दछन् । यिनीहरू परम्परङ्गत खेती तथा पशुपालन व्यवसाय गर्दछन् । यिनीहरू प्रकृतिपूजक किराँत धर्म मान्दछन् ।

धिमाल

मङ्गोल मुखाकृतिका आदिवासी जनजातिमा गणना हुने धिमालहरू प्रायजसो झापामोरङ जिल्लामा बसोबास गर्दछन् जसलाई तराईका किराँती पनि भनिन्छ । यिनीहरूको सखुवाको थाममा बाँस र काठले बनाएको खरले छाएको एकतले घर हुन्छ । यिनीहरू प्रकृतिपूजक हुन् । यिनीहरूको भाषा भोट–बर्मेली परिवारबाट प्रभावित छ । यिनीहरू दशैँ, तिहार, जनैपूर्णिमा, चैते दशैँ, माघे संक्रान्तिलगायत हिन्दू धर्ममा आधारित अन्य चाडवाड मनाउने गर्दछन् ।

थकाली

नेपालका आदिवासी जनजातिमा गणना हुने थकाली पनि एक हो । थकालीको मूल थलो थासाङ् मुस्ताङ जिल्लाको दक्षिणी सीमाक्षेत्रमा पर्दछ । यिनीहरू हाल विभिन्न जिल्लामा बसोबास गर्दछन् । यिनीहरू आफ्नै भाषा बोल्छन् । यिनीहरूको आफ्नै भेषभूषा तथा गरगहना हुन्छ ।

छन्त्याल

आदिवासी जनजातिमा गणना हुने छन्त्याल जातिको मूलथलो म्याग्दी जिल्लाको कुइनेमंगले गाँउको झिङ्खानी हो । यिनीहरू बाग्लुङ, पाल्पा, रुकुम, प्यूठान, दाङ आदि जिल्लामा पनि बसोबास गर्दछन् । यिनीहरू खाम भाषा बोल्दछन् । पुख्र्यौली रूपमा खानी खन्ने र प्रशोधन गर्ने भए तापनि यिनीहरूको मुख्य पेशा कृषि र पशुपालन हो ।

राउटे

राउटे वनसम्पदामा आधारित नेपालको एकमात्र घुमन्ते जाति हो । यिनीहरू मुख्य रूपमा डोटी, दार्चुला, अछाम, दैलेख, जाजरकोट, कालिकोट तथा सुर्खेतमा बस्छन् । वनदेवी, दारेमस्त तथा भुयार देवता मान्दछन् । यिनीहरू भोटबर्मेली परिवारको खाम्ची भाषा बोल्दछन् । यिनीहरू एक महिनाभन्दा बढी एकै ठाँउमा कहिल्यै बस्दैनन् र त्यस ठाउँमा फर्केर आउँदैनन् । यिनीहरू अस्थायी रूपमा बस्ने ठाउँलाई राउटी भनिन्छ भने अस्थायी छाप्रालाई थौला भनिन्छ ।

बाह्रगाउँले

मंगोल मुखाकृति भएका आदिवासी जनजातिमा गणना हुने एक जाति बाह्रगाउँले पनि हो । यिनीहरू मुस्ताङ जिल्लाको बीच भागका मुक्तिनाथ, कागबेनी, छुसाङ र झोङ गाउँ विकास समितिअन्तर्गतका क्षेत्रमा बसोबास गर्दछन् । यिनीहरूको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो । यिनीहरू बौद्ध धर्मालम्बी हुन् ।

सियार (चुम्बा)

गोरखाको उत्तरी सीमावर्ती चुमछोच्युक्सम उपत्यकाका छेकम्पार र चुम्चुत गाँउमा चुम्बा जातिको बसोबास छ । उनीहरू ढुङ्गाको गारोमाथि काठ र ढुङ्गाले छाएको घर बनाउँछन् । यिनीहरू परम्परङ्गत रूपमा गहुँ, फापर, केराउ, आलु, तोरीको खेती गर्छन् । यिनीहरू बौद्ध धर्म मान्दछन् ।

लेप्चा

लेप्चाहरू इलाम जिल्लाको फिक्कल, रोङ, पशुपतिनगर, गोर्खे, नाम्सालिङ, सामलबुङ र झापा जिल्लाका केही स्थानमा बसोबास गर्दछन् । यिनीहरू प्रकृतिपूजक हुन् भने बौद्ध धर्म मान्दछन् ।

श्रोतः नेपाल सरकार संचार तथा सुचना प्रविधी मन्त्रालय

Leave a Comment

Your email address will not be published. Required fields are marked *